काठमाडौं, ३ असोज । प्रमुख दलहरुको आग्रह र सरकारको सुझावका आधारमा निर्वाचन आयोगले एकसाताका लागि आफ्ना सबै कार्यक्रममा हेरफेर गरेको छ ।
कान्तिपथस्थित कार्यालयमा आज (बिहीबार) बसेको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको बैठकले मंसिर चार गतेको मितिलाई असर नपर्ने गरेर कार्यतालिकामा हेरफेर गरेको हो । सबै कार्यक्रम एकसाता पछि सारेका छन् ।
आयोगका सहसचिव मधु न्यौपानेका अनुसार कार्यतालिकामा रहेका २४ वटा कार्यक्रमहरु एकसाता टाढा सारिएका छन् । कार्यतालिकामा १५ वटा प्रत्यक्ष र ९ वटा समानुपातिक उम्मेदवारका लागि कार्यक्रम छन् ।
असोज दश गते प्रत्यक्ष तर्फका उम्मेदवारले मनोनयन गर्नुपर्ने कार्यक्रम थियो । अब प्रत्यक्ष तर्फका उम्मेदवारले असोज १७ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ ।
समानुपातिकका उम्मेदवारको बन्द सूची असोज १४ गते बुझाउनु पर्ने छ । यस अघि सात गते बन्द सूची बुझाउने कार्यक्रम थियो ।
उच्चस्तरीय राजनीतिक समितिको आग्रहमा सरकारको सिफारिसमा आयोगले चुनावको कार्यतालिकामा हेरफेर गरेको हो ।
प्रतिक्रिया