प्याब्सन कप भ्याली पब्लिकलाई

Basket_ballकाठमाडौं : पाँचौँ प्याब्सन अन्तरविद्यालय छात्रा बास्केटलबल प्रतियोगिताको उपाधि भ्याली पब्लिकले जितेको छ । बूढानिलकण्ठस्थित आयोजक बालविकास बोर्डिङको कोर्टमा भ्याली पब्लिकले एचएचसिएलाई २७–८ को फराकिलो स्कोरमा हरायो । विजेता टिमका लागि सोनी वाइबा र लक्ष्मी चौधरीले समान १२–१२ अंक जोडे । प्रत्यके क्वाटरमा हाबी देखिएको भ्याली पब्लिकले पहिलो क्वाटर ७–२ र दोस्रो क्वाटर ८–४ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो र चौथो क्वाटरमा समान ६–१ र ६–१ ले जितेपछि समग्रमा भ्याली पब्लिकले खेल २७–८ ले जित्यो ।
प्रतियोगितामा पृथ्वीले काठमाडौं इङलिस स्कुल (केइएस)लाई ३४–२५ ले हराउँदै तेस्रो स्थान हात पार्‍यो । पृथ्वीकी छिरिङ गोलेले सर्वाधिक १७ स्कोर गरिन् । प्रतियोगितामा भ्याली पब्लिककी सोनिया लिम्बूले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जित्दा भ्याली पब्लिककै सोनी वाइबा सर्वाधिक स्कोरकर्ता बन्न सफल भइन् । उत्कृष्ट थ्री प्वाइन्टरको अवार्ड भने एचएचसिएकी सञ्जु राईको नाममा रह्यो ।
विजेता खेलाडीलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा, आयोजक काठमाडौं प्याब्सनका अध्यक्ष गोपाल आचार्य, उपाध्यक्ष थकिनकुमार गुरुङलगायतले पुरस्कार प्रदान गरे । ६ दिने प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए । काठमाडौंको उत्तरी भेगमा बास्केटबलको विकास गर्ने उद्देश्यले बूढानीलकण्ठमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले बताए ।

प्रतिक्रिया