काठमाडौं, ३ असोज । त्रिभुवन विश्वविद्यालयले सम्पत्ति हस्तान्तरण नगर्दा तीनवटा विश्वविद्यालय सञ्चालनमा कठिनाइ भएको छ । त्रिविले कृषि तथा वनविज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयलाई सम्पत्ति हस्तान्तरण नगर्दा ती विश्वविद्यालय सञ्चालन गर्न कठिनाइ भएको हो ।
त्रिविले सम्पत्ति हस्तान्तरण नगर्दा विश्वविद्यालय सञ्चालन गर्न समस्या परेको तीनवटै विश्वविद्यालयका उपकुलपतिले बुधबार बताए । उनीहरूले विश्वविद्यालयको लागि चाहिने आवश्यक भौतिक पूर्वाधार त्रिविले हस्तान्तरण नगर्ने हो भने बिश्वविद्यलाय नै बन्द हुनसक्ने चेतावनी पनि दिएका छन् ।
त्रिविले एक वर्षअघि नयाँ खुलेका ती विश्वविद्यालयलाई क्याम्पससहित सम्पत्ति हस्तान्तरण गर्ने भनिए पनि अहिलेसम्म दिइएको छैन । कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा कैलाशनाथ प्याकुर्यालले त्रिविले सहमतिअनुसार सम्पत्ति हस्तान्तरण नगरेका कारण विश्वविद्यालयको कक्षादेखि प्रशासनिक कार्य गर्न समस्या परेको बताए । उनले सम्पत्ति हस्तान्तरण नभएकै कारण गर्दा एकै विषय एउटै भवनमा दुवै विश्वविद्यालयले पठनपाठन गर्नुपरेको बताए । अहिले रामपुरमा त्रिवि र कृषि तथा वनविज्ञान विश्वविद्यालयका विद्यार्थी पढिरहेका छन् । त्रिविले सम्पत्ति हस्तान्तरण गर्नुको सट्टा झनै बिथोल्ने काम गरिरहेको उनले बताए ।
उपकुलपति प्याकुरेलका अनुसार केही दिनअघि त्रिविका कर्मचारीले ट्रक ल्याएर रामपुर क्याम्पसमा अनुसन्धानका लागि पालिएका गाई, भैँसी, भेडा, बाख्रा र बंगुर लिएर जान लाग्दा विद्यार्थीले देवघाटमा पुगेर फिर्ता गराएका थिए ।
विश्वविद्यालयको ऐनमा त्रिविको आंगिक क्याम्पसका रूपमा रहेका ती क्याम्पसमा विश्वविद्यालय स्थापना गर्ने र त्यसमा भएको भौतिक पूर्वाधार सोही विश्वविद्यालयको हुने उल्लेख गरिएको छ । विश्वविद्यालयहरूको ऐनमा त्रिविको आंगिक क्याम्पसका रूपमा चितवनमा सञ्चालित रामपुर कृषि क्याम्पस र मकवानपुरमा सञ्चालित हेटौँडा वनविज्ञान क्याम्पस परिसरमा कृषि तथा वन विश्वविद्यालय, त्रिविको आंगिक क्याम्पसका रूपमा सञ्चालित सुर्खेत क्याम्पस (शिक्षा), सम्बन्धन प्राप्त वीरेन्द्रनगर बहुमुखी क्याम्पस र पब्लिक साइन्स क्याम्पसलाई संयुक्त रूपमा समावेश गरीे मध्यपश्चिमाञ्चल विश्वविद्यालय र त्रिविको आंगिक क्याम्पसका रूपमा कञ्चनपुरमा सञ्चालित सिद्धनाथ विज्ञान क्याम्पस र सम्बन्धन प्राप्त सिद्धनाथ बहुमुखी क्याम्पसलाई संयुक्त रूपमा समावेश सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्ने व्यवस्था छ । तर, ऐनअनुसार त्रिविले कार्यान्वयन नगर्दा ती विश्वविद्यालयले सम्पत्ति पाएका छैनन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा पद्मलाल देवकोटाले ऐनमा भएको कुरा त्रिविले लागू नगरेका कारण आफूहरूलाई समस्या परेको बताए । उनले सरकारसँग पनि सम्पत्ति हस्तान्तरण गर्ने विषयमा पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेको बताए । ‘सम्पत्ति हस्तान्तरणको विषय मिलाइदेला भनेर प्रधानमन्त्रीदेखि शिक्षामन्त्रीकहाँ धायौँ,’ उनले भने, ‘तर, बरु गोरु ब्याउला, हाम्रा कुरा सुनेका छैनन्, थाकिसक्यौँ । बरु हामीहरू नै विश्वविद्यालय नचलाउने हो कि भन्नेमा पुगिसक्यौँ ।’
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा जयराज अवस्थीले व्यवस्थापिका संसद्ले पारित गरेको विश्वविद्यालयहरूको ऐन राज्यले लागू गर्नसक्नु पर्छ । उनले ऐन लागू गर्न सकिन्न भने विश्वविद्यालय नै खारेज गर्न आफूहरूले कुलपतिसमक्ष माग गरेको बताए ।
सम्पत्ति हस्तान्तरण गर्न कागजी रूपमा त्रिविले १३ वटा संयुक्त बैठकमा हस्ताक्षर गरे पनि व्यावहारिक रूपमा अस्वीकार गर्दै आएको छ । पछिल्लोपटक गत जेठ ३ गते शिक्षामन्त्रीको संयोजकत्वमा बसेको बैठकमा समझदारीपत्र तयार गर्ने निर्णय भए पनि त्यसले हालसम्म गति लिन सकेको छैन ।
त्रिविले सम्पत्ति हस्तान्तरण नगरे पनि मध्यपश्चिम विश्वविद्यालयले गत शैक्षिक सत्रबाट ४३ वटा क्याम्पसमा स्नातक र स्नातकोत्तर कक्षा सञ्चालन गर्दै आइरहेको छ भने सुदूरपश्चिम विश्वविद्यालयले १४ र कृषि तथा वनविज्ञान विश्वविद्यालयले अहिलेदेखि स्नातक तहमा मत्स्यविज्ञान र ३ वर्षे रिसर्च कार्यक्रम सञ्चालन गरेको छ । सूप विश्वविद्यालयले कैलाली बहुमुखी र जयपृथ्वी बहुमुखी क्याम्पस बझाङलाई आंगिक क्याम्पसका रूपमा प्रस्ताव गरेको रजिस्ट्रार डा. हेमराज पन्तले जानकारी गराए ।
त्रिविबाट कृषिमा ३ सय ६० प्राध्यापक तथा कर्मचारी, मप विश्वविद्यालयबाट १ सय ४० समायोजन भएका छन् । तर, सूप विश्वविद्यालयबाट कुनै पनि कर्मचारी समायोजनमा परेका छैनन् ।
प्रतिक्रिया