अखिलको महाधिवेशन ४० लाख खर्च

akhil 1काठमाडौ : अनेरास्ववियुको २१औँ राष्ट्रिय महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ । पार्टी अध्यक्ष झलनाथ खनालले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महासंघीय ढाँचामा हुन थालेको महाधिवेशनको वाल्मीकि बहुमुखी क्याम्पस, प्रदर्शनी मार्गमा र बन्दसत्र प्रज्ञा प्रतिष्ठान, कमालादीमा हुनेछ ।
महाधिवेशनका लागि करिब ४० लाख खर्च हुने अखिलले जानाएको छ । अखिलका अनुसार जिल्लाको अवस्था हेरी १ हजारबाट २० हजारसम्म लिने महाधिवेशन शुल्क तोकिएको छ । यसरी जिल्लाबाट करिब १५ लाख संकलन हुने अनुमान गरिएको छ ।
नयाँ नेतृत्वका लागि निर्वतमान उपाध्यक्ष लक्ष्मण लम्साल, नवीना लामा, भीम राई र महासचिव किशोरविक्रम मल्लले उम्मेदवारी दिने तयारी गरेका छन् । मल्ल र राई तथा लम्साल र लामा एकै प्यानलबाट रहे पनि अहिले आएर चारजनाले उम्मेदवारी दिने बताएका छन् । । चार आकांक्षी देखिए पनि अन्तत: लम्साल र मल्लबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवैले आ–आफ्नो पकड राम्रो भएको दाबी गरेका छन् ।
लम्साललाई पार्टी अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसँगै पूर्वअखिल अध्यक्षहरू योगेश भट्टराई, ठाकुर गैर, रामकुमारी झाक्री, रवीन्द्र अधिकारी, अरुण नेपाल र रूपनारायण श्रेष्ठको समर्थन रहेको छ भने मल्ललाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओलीलगायत पूर्वअखिल अध्यक्षहरू राजेन्द्र राई, खिमलाल भट्टराई, माधव ढुंगेललगायतको समर्थन रहेको छ ।
लम्सालको टिमबाट उपाध्यक्षमा गुणराज आचार्य धु्रव राई, दीपक गौतम र नवराज पौडेलेको नाम चर्चामा रहेको छ भने महासचिवमा थोमस बाँस्तोला तथा सचिवमा अब्दुल हुसेन खाँ, सन्तोष नेपाली राधिका खतिवडा, मेनुका पछार्इं, कमला बोहरा, उषाकिरण तिमिल्सेना र गौतम राई रहेका छन् । कोषाध्यक्षमा नीलकण्ठ आचार्य रहेका छन् । सचिवालयमा लक्ष्मी जोशी, श्याम बजगाईं, ज्ञानु भण्डारी, लोकेश निरौला, रञ्जु ज्ञवाली, आरती लामा, सुदीप शर्मा, दिनेश आचार्यलगायत छन् ।
यस्तै, मल्लको प्यानलबाट उपाध्यक्षमा नवराज पौडेल, रश्मि आचार्य, राजकुमार राई, बच्चनबहादुर सिंह छन् भने महासचिवमा रचना खड्का उम्मेदवार हुँदै छिन् । यस्तै, मल्लको समूहबाट उपाध्यक्षमा पौडेल, आचार्य, सिंह, राई, सिपी घर्तीमगरलगायतले दाबी गरेका छन् । सिंहले पनि महासचिवको दाबी गरेका छन् । सचिवमा सुनीता बराल, दीपा शर्मा, बाबुराम पन्थी, जीवन राई, महेश बर्तौला, ऐन महर, विवेक श्रेष्ठलगायतको चर्चा छ । उनको समूहमा सचिवालयमा तुलसीराम मैनाली, झपिन्द्र खत्री, दुर्गा शर्मा, अशेष घिमिरे, छवि चुडाल, सम्झना अधिकारीलगायतको चर्चा रहेको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा १ हजार ४ सय ९० प्रतिनिधिले भाग लिने केन्द्रीय सदस्य दुर्गा शर्माले जानकारी गराए ।
साउन १८ देखि २० गतेसम्म दाङमा भएको विधान सम्मेलनले ११ जनाको पदाधिकारी छनोट गर्ने निर्णय गरेको छ । २ सय १ जनाको जम्बो केन्द्रीय समितिलाई घटाएर १ सय ३५ मा खुम्च्याइएको छ भने ५४ जनाको सचिवालयलाई ४५ जनामा झारेको छ । पदाधिकारीमा रहने ५ जना उपाध्यक्षलाई ३ मा र ३ जना सचिवलाई बढाएर ५ बनाइएको छ ।

प्रतिक्रिया