निर्वाचन अधिकृतले काम सुरु गरे

चितवन, २ असोज । मंसिर ४ मा हुने भनिएको दोस्रो संविधानसभाको निर्वाचन प्रक्रियाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित सबै क्षेत्रको कार्यालय स्थापना गरी काम सुरु गरिसकेको छ ।

सदरमुकाम भरतपुरमा रहेको सहकारी तथा प्रशिक्षण डिभिजन कार्यालय चितवनको परिसरमा सहकारी प्रशिक्षणका लागि नवनिर्मित भवनमा प्रमुख निर्वाचन अधिकृतसहित जिल्लाको पाँच क्षेत्रको कार्यालय स्थापना गरेको हो । सबैको सहजताको लागि चितवनका एकदेखि पाँचसम्मकै क्षेत्रीय निर्वाचन कार्यालयहरू भरतपुरमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश विनोद मोहन आचार्यले जानकारी दिए । मंसिर ४ को निर्वाचन सम्पन्न गर्नका लागि चितवनमा नियुक्त भएका पाँचै जना निर्वाचन अधिकृतहरू आ–आफ्नो काम मगंलबारबाट सुरु गरेका छन् । पाँचवटै निर्वाचन क्षेत्रमा एक जना प्रमुख निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतहरू नियुक्त भएका हुन् । चितवनमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले क्षेत्र नम्बर–१ मा परराष्ट मन्त्रालयबाट आएकी उपसचिव लिलादेवी गर्तौला, क्षेत्र नम्बर–२ मा कानुन मन्त्रालयबाट आएकी उपसचिव इन्दिरा भट्टराई, क्षेत्र नम्बर–३ मा निर्वाचन अधिकृतमा प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश विनोद मोहन आचार्य, क्षेत्र नम्बर–४ मा जिल्ला न्यायाधीश भीमलाल बेलबाचेर निर्वाचन क्षेत्र नम्बर–५ मा जिल्ला न्यायाधीश अनन्तराज डुम्रेलाई खटाएको छ ।
आयोगले दोस्रो संविधानसभाका लागि छनोट गरेका दुई महिला अधिकृतद्धय गर्तौला र भट्टराई देशकै दुई महिला निर्वाचन अधिकृत हुन् । उनीहरू दुवै चितवनमा खटाइएको हो । यसअघि २०६४ को सविधानसभाको निर्वाचनमा गर्ताैलाले काठमाडांैको क्षेत्र नंम्बर–२ मा र भट्टराईले काठमाडांैकै क्षेत्र नम्बर–४ मा निर्वाचन गराएका थिए । अघिल्लो सविधानसभाको निर्वाचनमा पनि देशमै यिनै दुई जना महिला निर्वाचन अधिकृत थिए । २०५२ सालबाट शाखा अधिकृतका रूपमा कानुनी सेवामा निजामति कर्मचारीका रूपमा प्रवेश गरेका दुवै २०६३ सालमा उपसचिव भएका थिए ।
चितवनमा तीन सय ७७ मतदान केन्द्र
भरतपुर : दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गर्न चितवनमा तीन सय ७७ मतदान केन्द्र स्थापना भएको छ । जिल्लामा फोटोसहितको मतदाता दार्तामा सहभागी भएका दुई लाख ७३ हजार चार सय ४० मतदाताहरूलाई ती केन्द्र स्थापना गरिएको हो ।
प्रमुख निर्वाचन अधिकृतसहित सबै निर्वाचन क्षेत्रका लागि जिल्लामा खटिएका निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । जसअनुसार क्षेत्र नम्बर–१ मा ५३ हजार नौ सय ६३ जना मतदातालाई ७४ मतदान केन्द्र, क्षेत्र नम्बर–२ मा सबैभन्दा धेरै ६० हजार ४६ जना मतदातालाई ८२ मतदान केन्द्र, क्षेत्र नम्बर–३ मा ५४ हजार आठ सय ५७ जना मतदातालाई ७४ मतदान केन्द्र, क्षेत्र नम्बर–४ मा ५९ हजार ६ सय ७४ जना मतदातालाई ८१ मतदान केन्द्र र सबैभन्दा थौरै क्षेत्र नम्बर–५ मा ४५ हजार तीन सय मतदातालाई ६६ मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन अधिकृत विनोद महोन आचार्यले जानकारी दिए । सो अवसरमा बोल्दै प्रमुख निर्वाचन अधिकृत आचार्यले दलहरूको नेता र कार्यकर्ताले नै माहोल बनाए निर्वाचन हुने भन्दै निर्वाचन स्वच्छ निष्पक्ष र धाँधली रहित बनाउन सकिने बताए । निर्वाचनमा प्रभाव र दबाब मुक्त बनाउन राजनीतिक दलले निर्वाचन आचारसंहिता अक्षरसपालन गर्न आग्रहसमेत गरे । ‘हामीले हाम्रा क्रियाकलापले प्रभाव नपारोस् भनेर उच्चसतर्कता अपनाउँछाँ,’ उनले भने ।
अचारसंहिता पालन भएनभएको र जनगुनासा संकलनका लागि एक जना अनुगमन अधिकृत तोकिने जानकारी गराए । उनले निर्वाचन आचरसंहिता पालन गर्न दलहरूलाई चितवनमा नै कारबाही गरिने बताए । यस्तै, चितवनमा असोज ६ गते उम्मेदवारको मनोनय दर्ता, ११ गते दर्ता भएको सूची प्रकाशन गर्ने, १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, १४ गते उम्मेदवारको नामावली प्रकाशन, १५ गते नाम फिर्ता लिने, १७ गते अन्तिम नामावाली प्रकाशन र १८ गते निर्वाचन चिन्ह प्रकाशन गर्ने भएको छ । साथै कार्यालय स्थापना भएसँगै मंगलबार नै बसेको निर्वाचन अधिकृतहरूको बैठकले तीनबुँदे निर्णयसमेत गरेको छ । बैठकले सबै क्षेत्रको सहजताका लागि सदरमुकाममा नै एउटै भवनमा सबै कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनमार्फत कर्मचारी नियुक्त गर्ने र निर्वाचन भयरिहत, धाँधलीरहित निष्पक्ष बनाउँन सबै क्षेत्रको सहयोग लिने निर्णय गरेको सहायक निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए । (सौस)

प्रतिक्रिया