लामा र मनाङे अझै हिरासतमा

Ganesh-Lamaकाठमाडौं, २ असोज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अवैधरूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाएका दुई डन गणेश लामा र राजीव गुरुङ(दीपक मनाङे) अदालतले तोकेको धरौटी बुझाउन नसकी कारागारमा बन्दी जीवन बिताइरहेका छन् । प्रहरीको अनुसन्धानमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउँदा लामा र मानाङे सर्वाधिक धनी देखिएका थिए । तर, ती दुवैले अदालतले तोकेको धरौटी बुझाउन सकेका छैनन् । विशेष अदालतले लामासँग ३ करोड र मनाङेसँग २ करोड ९० लाख रुपियाँ धरौटी मागेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन महिनाअघि अपहरण, फिरौती, गुन्डागर्दीजस्ता अवैध धन्धाबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा चर्चित ५ डनविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा चलाइएका पाँच जनामध्ये दुई जना अदालतले तोकेको धरौटी रकम बुझाई रिहा भइसकेका छन् भने लामा र मनाङे धरौटी बुझाउन नसकी जेलमा बन्दी जीवन बिताइरहेका छन् । लामासहित उनका भाइ राकेश लामा सदरखोर डिल्लीबजार थुनामा छन् । अर्का डन अभिषेक गिरी भने फरार रहेका छन् ।
विशेष अदालतले ३ साउनमा लामासँग ३ करोड धरौटी मागेको थियो । उनले धरौटीका लागि भक्तपुरको जग्गा मूल्यांकन गरी बुझाएका थिए । ‘तर, पाखाको जग्गा भएकाले धरौटी लिन अस्वीकार भयो,’ विशेष अदालतका दण्डपानी शर्माले भने । विशेष अदालतले भक्तपुरको जग्गा धरौटी लिन अस्वीकार गरेपछि लामाका आफन्त बूढानीलकण्ठको अर्काे जग्गा धरौटी राख्ने तयारीमा जुटेका छन् । पहिलको जग्गा अस्वीकार भएकाले अहिले सुरुमा नै जग्गा हेरिदिन उनले विशेष अदालतका कर्मचारीलाई आग्रह गरेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानमा लामासँग डनहरूमध्ये सबैभन्दा धेरै सम्पत्ति देखिएको थियो । लामासँग २७ करोड १ लाख ६१ हजार अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो । उनको र परिवारको नाममा रहेका सबै सम्पत्ति रोक्का राखी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ जेठमा लामासहित पाँच डनविरुद्ध मुद्दा दायर गरेको थियो ।
त्यसैगरी, लामापछि अकुत सम्पत्ति आर्जनको सूचीमा परेका मनाङेले पनि धरौटी जुटाउन सकेका छैनन् । दर्जनौँ व्यवसायमा आबद्ध मनाङेको पनि सम्पूर्ण सम्पत्ति रोक्का छ । मनाङसँग १४ करोड ७३ लाख ३१ हजार आठ सय ६ रुपियाँ अवैध सम्पत्ति रहेको दाबीसहित उनीविरुद्ध मुद्दा चलेको थियो । म्याद गुजारेपछि मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ३१ साउनमा सिटी सेन्टरबाट पक्राउ गरेको थियो । उनीसँग अदालतले २ करोड ९० लाख धरौटी मागेको थियो तर बुझाउन नसकी डिल्लीबजार कारगार थुनामा रहेका छन् । उनलाई छुटाउन आफन्तले धरौटीका लागि आफन्तको जग्गाको मूल्यांकन गरिरहेका छन् । दुवै जना पछिल्लो समय राजनीतिमा लागेका छन् । लामा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को केन्द्रीय सदस्य छन् । त्यस्तै, मनाङे राष्ट्रिय संघीय पार्टीकामा लागेका थिए ।

प्रतिक्रिया