त्रिविले चार महिनामै नतिजा ल्याउने

TUकाठमाडौं, २ असोज । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब वर्षदिनसम्म परीक्षाको नतिजा कुर्नु नपर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) चार महिनामै परीक्षाफल प्रकाशन गर्ने तयारीमा जुटेको छ । त्रिविले शैक्षिक क्यालेन्डर लागू गर्न नसकेपछि त्यसमा संशोधनसहित कार्यान्वयनमा पनिका कस्सिएर लागिपरेको हो ।

परीक्षा नियन्त्रक केशवराज बास्तोलाका अनुसार शैक्षिक क्यालेन्डर लागू गरी पढाइ भएको १० महिनामा परीक्षा र परीक्षा सकिएको चार महिनामा नतिजा प्रकाशनको तयारी भइरहेको छ । ‘अस्त–व्यस्त परीक्षा प्रणाली सुधार गर्न शैक्षिक क्यालेन्डर लागू गर्ने तयारी भइरहेको छ,’ परीक्षा नियन्त्रक बास्तोला भन्छन्, ‘त्यसपछि चाँडै परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशन गर्नेछौँ ।’
कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा समूहको परीक्षाफल प्रकाशन हुनासाथ पनिका नयाँ शैक्षिक क्यालेन्डर सार्वजनिक गर्ने तयारीमा छ । परीक्षा समयमा लिन तथा परीक्षाफल क्यालेन्डरअनुसार प्रकाशन गर्न पनिकाले क्षेत्रीय कार्यालयबाट परीक्षा र रजिस्ट्रसशन फारम भर्ने काम सुरु गर्न लागेको छ । बास्तोलाले यसै शैक्षिक सत्रबाट पूर्वाञ्चलको विराटनगर, पश्चिमाञ्चलको पोखरा र मध्यपश्चिमको नेपालगन्जबाट रजिस्ट्रेसन र परीक्षा फारम भर्न थालिने जानकारी गराए ।
‘परीक्षा सञ्चालन र रिजल्ट निकाल्न सजिलो होस् भन्नाका लागि क्षेत्रीय कार्यालयबाट फारम भर्ने व्यवस्था गर्दै छाँै,’ उनले भने, ‘जसले गर्दा काममा छिटो–छरिटो हुन गई समयमै परीक्षा लिने र प्रकाशन गर्नेछाँै ।’ त्यसका लागि पनिकाले क्षेत्रीय कार्यालयमा ६ जनाका दरले दक्ष जनशक्ति पठाउने तयारी पनि गरेको छ । विज्ञापन आह्वान गरिसकेको भए पनि निर्वाचन आचारसंहिताका कारण पदपूर्ति रोकिएको छ ।
पनिकाले क्षेत्रीय कार्यालय विराटनगरबाट त रजिस्ट्रेसन र फारम भर्ने कामसमेत थालिसकेको छ । नेपालगन्ज र पोखराबाट तिहारपछि काम थाल्ने बास्तोलाको भनाइ छ । सुदूरपश्चिममा भने ठाउँको टुंगो लागिनसकेको पनिकाले जनाएको छ । सुदूरपश्चिमका लागि सहनियन्त्रक भने खटिइसकेका छन् । नेपालगन्जबाट सुदूरपश्चिमको काम भइरहेको छ ।
त्रिविले शैक्षिक क्यालेन्डर लागू गर्न नसक्दा कक्षा सञ्चालन, परीक्षा तथा परीक्षाफल प्रकाशन समयमा हुन सकेको छैन । त्यही कारण एउटै तहमा दुई ब्याचका विद्यार्थी अध्ययन गरिरहेका छन् । पढाइ भएको १६ महिनासम्म परीक्षा गराउन सकेको छैन । ११ महिनासम्म पनि परीक्षाफल आउन सकेको छैन ।
एसएमएसबाट प्राप्तांक
पनिकाले एसएमएसबाट नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । मोबाइलबाट एसएमएस गरे प्राप्तांकसहितको नतिजा हेर्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रक बास्तोलाले जानकारी गराए । विद्यार्थीले मोबाइलबाट आफू पढ्दै गरेको संकाय र वर्ष अनि सिम्बोल नम्बर लेखी ४९४९ मा पठाए मार्कसिट हेर्न सक्ने उनले बताए ।

जसका लागि विद्यार्थीले संकाय अनि वर्ष अन्डरस्कोर त्यसपछि सिम्बोल नम्बर लेखी ४९४९मा एसएमएस पठाउनुपर्छ ।
बास्तोलाले सबै ठाउँमा अनलाइनबाट मार्कसिट हेर्न समस्या पर्ने भएकाले मोबाइलबाट विद्यार्थीले आफूले प्राप्त गरेको प्राप्तांक हेर्न सक्ने बताए । यसअघि फोन नम्बर डायल गरे विद्यार्थी पास/फेल भएको थाहा पाउने व्यवस्था थियो ।

प्रतिक्रिया