भक्तपुरमा दसौतिहार मेला

काठमाडौं, १ असोज । भक्तपुरका उपभोक्तालाई सहज, सरल र सस्तोमा एउटै छानामुनि सबै सामान उपलब्ध गराउने उद्देश्यले भक्तपुरमा ‘दसैँतिहार मेला–२०७०’ सञ्चालन हुने भएको छ ।
गंगा महिला हस्तकला केन्द्र र ओम शान्ति टेलरिङले भक्तपुरको सूर्यविनायकमा संयुक्तरूपमा सञ्चालन गर्न लागेको दसैँतिहार मेला यही असोज ३ देखि सुरु हुने केन्द्रकी अध्यक्ष गंगादेवी माकले बताए । जिल्लाको दुई नगरपालिका र १६ गाविस क्षेत्रका उपभोक्तालाई सहज, सर्वसुलभ, गुणस्तरीय सामान एउटै छानामुनि उपलब्ध गराउने गरी मेलाको आयोजना गर्न लागेको बताउँदै उनले मेला छठ पर्वसम्म सञ्चालन गर्ने बताए ।
मेलामा दैनिक उपभोग्य सामान, खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्रीदेखि आवश्यक सबै सामान रहने गरी खाद्य संस्थान, साल्ट ट्ेरडिङलगायत २० वटा स्टल रहने जानकारी पनि उनले दिए । साल्ट ट्रेडिङका शाखा प्रमुख नारायणबहादुर रञ्जितकारले उपभोक्तालाई खाद्य सामग्रीमा व्यापक छुट दिने योजना राखेको जानकारी दिए । चाडबाडमा बढी खपत हुने चिनी प्रतिकिलो ६६ र नुन प्रतिप्याकेट १३ रुपियाँमा दिने बताए । बजारमा हाल चिनी प्रतिकिलो ७२ र नुन प्रतिप्याकेट १५ रुपियाँ पर्छ ।
एक व्यक्तिलाई बढीमा तीन केजी नुन र छ केजी चिनी दिइने बताउँदै रञ्जितकारले एक दिनमा एक व्यक्तिलाई एकपटक मात्र दिइने र १० वर्षभन्दा कम उमेरका व्यक्तिलाई त्यस्ता सामान नदिइने बताए । गत वर्षको मेलामा व्यापारीले बालबालिकासमेत प्रयोग गरी सस्तोमा नुन, चिनी, चामल, तेललगायत सामग्री लगेर महँगोमा बिक्री गरेको पाइएपछि यस वर्ष त्यसलाई नियन्त्रण गर्न एक जनालाई एकपटक मात्र र १० वर्षभन्दा माथिका उमेर समूहकालाई मात्र सामान बिक्री गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी, खाद्य संस्थानले बिक्री गर्ने चामललगायत खाद्यान्नमा पनि उपभोक्तालाई छुट दिने व्यवस्था गरेको उनको भनाइ छ । खाद्य संस्थान र साल्ट ट्ेरडिङले एक करोडभन्दा बढीको व्यापार गर्ने लक्ष्य राखेकोमा जोड दिए । विभिन्न ब्रान्डका चामलमा थोक मूल्यभन्दा प्रतिकिलो दुई रुपियाँ सस्तोमा बिक्री गरिएको छ । मेलामा बच्चादेखि वृद्धसम्मका लागि प्रयोग गर्ने लत्ताकपडा, जुत्ता, सुट, साडी, कुर्थासुरुवाल, स्वेटरलगायत विभिन्न ब्रान्डका सामग्री थोक मूल्यमै बिक्री गरिने ओम शान्ति टेलरिङका प्रमुख नारायण मण्डलले जानकारी दिए । उपभोक्ताले मेलामा थोक मूल्यमै स्वदेशी तथा विदेशी सामग्री पाउने भएकाले लाभ उठाउन सक्नेमा जोड दिए । त्यस्तै मेलामा महिलाका सौन्दर्य सामग्री, खेलौना, नेवारी परिकारलगायतका स्टल रहने छन् । प्रवेश नि:शुल्क गरिने मेला अवधिभर दुई करोडभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको माकले बताए ।

प्रतिक्रिया