सहयोगी हातहरूकै अभाव

Daman-Basnetगरिबी, अभाव र महँगीले सताइएको हाम्रो समाजमा कसै गरी पनि लालन–पालन गर्न नसक्दा अन्तिम विकल्पका रूपमा सन्तानसँगै आत्महत्या गरेका हृदय–विदारक प्रसंग, अथवा, दरिद्रताको निर्मम पञ्जामा जकडिएर त्राहि–त्राहि जीवन गुजार्न नै भए पनि आफ्ना कलिला लालाबालालाई अरूका घरमा बालमजदुरका रूपमा राखेको घटना दिनहुँजसो सुन्न र पढ्न पाइन्छ । तर यही समाजमा केही यस्ता व्यक्ति पनि छन् जसले बाहिरी जिल्ला पुगेर अरूका सन्तान खोजी–खोजी सदरमुकाम ल्याउँछन् र त्यहाँका सुबिधा सम्पन्न बोर्डिङ स्कुलमा पढाउँछन् । सिन्धुपाल्चोकमा जन्मेका ४६ वार्षीय दमन बस्नेत त्यस्तै एकजना पात्र हुन् जसले गाउँमा जिन्दगी बिताउँदा अक्षर देख्ने सम्भावना बिरलै भएकाहरूका लागि सुनौलो जीवन कोर्दै छन् । घरभरी सन्तान भएका तर पेटभरि खान नपाएकाका लागि उनी सहयोगी बनेका छन् । दश वर्षमा दमनले शिक्षाबाट वञ्चित विभिन्न बाइस जनालाई शिक्षाको अवसर प्रदान गरेका छन् । उनीहरू सबैलाई उनले बनेपाको होस्टलसहितको सम्पन्न विद्यालय ‘बेलर इन्टरनेसनल एकेडेमी’ मा पढाएका हुन् । समाजसेवी दमन बस्नेत हिमालय अन्तर–सांस्कृतिक संघ नेपाल नामक संस्थाका अध्यक्ष पनि हुन् । उनले थालेको समाजसेवाको सेरोफेरोमा केन्द्रित उनको अनुभव–यात्रा जान्ने एउटा लघु प्रयास :
करिब बाह्र वर्षअगाडि एक दिनको कुरा । दमन बस्नेत एक्लै घुम्दै राजधानीको अहिले ‘फ्रिक स्ट्रिट’ भनेर चर्चित ठमेल पुगेका थिए । घुम्दै गर्दा अनायास उनको नजर सडक बालबालिकामा पर्‍यो । त्यो दिन पनि अन्य दिनसरह राजधानी सहरमा एउटा हातले मुख समातेर पिठ्युँमा झुन्ड्याइएको ठूलो झोला र हातमा पनि पलास्टिक लिएर केके सँुध्दै हिँड्ने केटाकेटी यत्रतत्र डुलिहिँड्ने गरेका दृश्य कुनै कमी छैनन् । टोल, नाका र गल्ली जताततै भेटिन्छन् त्यस्ता बालबालिका । त्यो दिन किनकिन उनलाई ती वालबालिकाको अवस्थाले मनको भित्री तहसम्म छोयो । ‘हाम्रो देशका कर्णाधारहरू यसरी अन्योलपूर्ण भविष्य लिएर हिँडेका छन् । यस्ताका लागि थोरै केही गरिदिन पाए राम्रो हुने थियो’ भन्ने लाग्यो उनको मनमा । तर त्यति बेला चाहेर पनि उनीसँग केही गर्नसक्ने स्रोत थिएन ।
ठमेलको त्यो दृश्यले उनको मन अनायास आफ्नै गाउँ सिन्धुपाल्चोक पुग्यो । ‘ओहो, मेरो गाउँमा त झन् गरिबी र चेतनाको अभावमा धेरै यस्ता बालबालिकाले स्कुलको अनुहारसम्म देख्न पाएका छैनन् । मैले सकेसम्म उनीहरूका लागि केही गर्नुपर्छ’ भन्ने तरंग उनको मनमा सवार भयो ।
चाहना मात्र गरेर हुँदैन, त्यसलाई सार्थक बनाउन साधन र स्रोतको आवश्यकता पर्छ । उनको विपन्न बालबालिकाका लागि केही गरौँ भन्ने उनको सपना त्यही स्रोतअभावका कारण पूरा हुन सकेको थिएन । फुलकन्ट्याक्ट मार्सल आर्ट क्योकुसिन करातेका अब्बल खेलाडी उनी त्यस घटनाको केही समयपछि एसियाको सम्भ्रान्त मुलुक जापान भ्रमणमा थिए । रेलमा यात्रा गर्ने क्रममा उनको परिचय जापानी नागरिक यसोनोरी फुकुईसँग भयो । उनीसँगको परिचय त्यतिमा मात्र सीमित रहेन । दमनले नेपाल फर्केपछि पनि उनीसँगको सम्पर्कलाई निरन्तरता दिए ।
एकदिन उनै जापनिज फुकुईले दमनलाई सोधे, ‘दमन † तिमीलाई के काम गर्ने चाहना छ ?’ त्यतिबेला उनलाई आफ्नो समाजसेवाको त्यही उद्देश्य पूरा गर्न ढुंगा खोज्दा देउता भेटे जस्तै भयो । तुरुन्तै जवाफ दिए, ‘म अनाथ र शिक्षाबाट वञ्चित बालबालिकाका लागि केही गर्न चाहन्छु ।’ दमनले फुकुईको भावनाको कदर गर्दै नेपालमा सडक बालबालिकाको अवस्था बताए । समाजमा केही गरौँ भन्ने भावना भएका फुकुईले दमनलाई सहयोग गर्ने वचन दिए । धेरै वर्ष बितिसकेका छन् तर त्यो सहयोग आज पनि निरन्तर छ । त्यही उद्देश्य पूरा गर्न सामाजिक संस्था स्थापना गरेर दमनले समाजसेवाको यात्रा सुरु गरे ।
दमन समाजका लागि केही गरौँ भन्ने भावना भएका युवा हुन् । उज्यालोसँगै अँध्यारो भएजस्तै समाजमा केही गरौँ भन्ने भावना भएकाहरूका लागि साथ दिने मात्र होइन, विरोध गर्नेहरू पनि धेरै भेटिन्छन् । पहिलो पटक उनले आफ्नै गाउँ सिन्धुपाल्चोकबाट कमल परियारलाई पढाउन ल्याउँदा धैरै चुनौती बेहोरे । कमललाई भेट्नेबित्तिकै उनले छोड्नै सकेनन् । कारण थियो– कमल दलित थिए, साथै बुवाआमा नभएर मावलमा आश्रित थिए । पेटभर खान नपाएका अवस्थामा रहेको उक्त बालकलाई उनले देखे । टुलुटुलु दमनलाई हेरेको कमलको आखाँमा उनले पढे, ‘कसैले मलाई पेटभर खान र राम्रो जीवन दिन लगे पनि हुन्थ्यो नि †’ भन्ने भाव । अनायास दमनलाई लाग्यो– सायद मलाई नै कुरेर बसेको थियो होला कमल । उनी अझै पनि त्यो दृश्य बिर्संदैनन् । दश वर्षअगाडि उनले ल्याएका कमलले यो वर्ष एसएलसी परीक्षा दिए र विशिष्ट श्रेणीमा पास गरे । तिनै कमल भविष्यमा सक्षम इन्जिनियर बन्ने सपना लिएर अहिले उच्च शिक्षा पढ्दै छन् । दमनलाई कमलले विशिष्ट श्रेणीमा एसएलसी पास गर्दाको क्षण आफ्नो सफलताको क्षण लाग्दछ रे ।
समाजसेवा जीवनको एउटा सकारात्मक पाटो मान्ने उनी चाहनाले मात्र सबै सफलता हात लाग्दैन भन्छन् । समाजका लागि केही गर्न पवित्र भावना पनि चाहिने उनको तर्क छ । साथसाथै त्यसलाई पूरा गर्न स्रोत र साधनको आवश्यकता चाहिने उनको भोगाइ छ । उनले देखेका छन् रे– समाजसेवालाई राजनीतिको पाटो बनाउनेहरूको भिड । उनी आफँै पनि राजनीतिसँग अछुतो भने छैनन् । तर, समाज सेवालाई राजनीतिको भर्‍याङ बनाउन नहुने उनको तर्क छ । राजनीति पनि समाज सेवा नै हो । तर, कसरी जनताको बीचमा जाने त्यसमा भर पर्ने उनी बताउँछन् । दश वर्षदेखि सुरु गरेको शिक्षाको अभियानमा आजसम्म बाइस जनाभन्दा बढीले राम्रो बोर्डिङ स्कुलमा पढ्ने र होस्टलको समेत सुबिधा पाएका छन् । तर, उनलाई चाहे जस्तो काम गर्न नपाएकोमा असुन्तुष्टि छ । आर्थिक समस्या नै समाजसेवाको मुख्य अवरोध हो । सरकारी स्कुलको समेत अनुहार नदेखेकाले बोर्डिङ स्कुलमा पढ्न पाउनु त्यसै पनि खुसीको कुरा हो ।
दमनको यो सामाजिक अभियानमा सहयोग गर्नेहरू मात्र देखिएनन्, उनको कामको विरोध गर्नेहरू पनि देखिए । उनलाई ‘गाउँका केटाकेटी बेच्ने’ सम्म भने । पहिलोपटक कमललाई पढाउन ल्याउँदा उनलाई ठूलै चुनौतीको सामाना गर्नुपर्‍यो । कतिले फोनमा धम्क्याए । मुलुकमा सशस्त्र द्वन्द्व चर्कंदो थियो र राज्यले संकटकाल घोषणा गरेको थियो । मान्छे त्यसै त्रसित हुने अवस्थामा थिए । एक दिन उनको मोबाइलमा कसैले फोन गर्दै थर्कायो, ‘कहाँबाट आउँछ गरिबका छोराछोरी पढाउने पैसा ? हामी माओवादी हौँ । हामीलाई सबै हिसाब देखानुपर्‍यो, नत्र ठिक हँुदैन ।’ यस्ता धम्की उनले धेरै सुने, अनेकपटक सुने तर फर्केर पछाडि भने हिँडेनन् । नशाजस्तै भएको थियो उनका लागि गाउँमा शिक्षाको ज्योति छर्नु ।
कमल परियारबाट सुरु भएको थियो, उनको अभियान । तिनै कमल उनका लागि आफ्नै सन्तान जतिकै प्यारा छन् अहिले । कमललाई इन्जिनियर बनाउने तयारीमा छन् दमन, ‘म उसको चाहना पूरा गराउन लागिपरेको छु । हामीले पढाइको एउटा खुट्किलो पार गराएपछि उनका अभिभावकको पनि केही दायित्व होस् भन्ने उनको तर्क छ । ‘सधैँ हाम्रो मात्र भर नपरे हुन्थ्यो’, उनको चाहना छ ।
वर्तमान समयमा हरेक राजनीतिक पार्टीहरूमा समाज सेवाको भावनाले प्रेरित भएका धेरै युवा रहेको उनको बुझाइ छ । युवाहरूको भावनालाई पार्टीले राम्रो स्थान दिने र जनताले काम गर्ने अवसर दिने हो भने समाज परिर्वतनको मार्गमा केही उपलब्धि हुने उनको दाबी छ । समाजको लागि युवाहरूले जति योगदान पाकाहरूले दिन गाह्रो हुने उनको धारणा छ ।
समयसँगै स्रोत र साधनले साथ दिने हो भने उनी देशका अन्य भागका बालबालिकाको लागि काम गर्न चाहन्छन्, ‘सबै कुरा चाहेर मात्र पूरा हुँदैन । स्रोत पनि चाहिन्छ । मलाई सिन्धुपाल्चोकमा मात्र काम गर्ने रहर छैन । देशका सबै ठाउँमा जाने चाहना छ । तर स्रोत सीमित छ,’ उनले आफ्नो समस्या प्रस्ट पारे । समयसँगै उनको काम गर्ने क्षेत्र बढेर गएको छ । शिक्षा, खेलकुद, अपांगता भएका बालबालिका र एकल महिलाको क्षेत्रमा पनि उनले सहयोग गरेका छन् । धेरै गर्ने चाहना छ तर उनलाई लागिरहेको छ– सहयोग गर्ने हातहरू धेरै छैनन् ।
सिन्धुपाल्चोकमा उनले दुई प्रकारको जीवनशैली भएका मान्छेहरूलाई नजिकबाट हेरे । अरनीको राजमार्गबाट पन्ध्रबीस मिनटको पैदल हिँड्नेबित्तिकै चरम गरिबीमा जीवन बिताउनेहरूको बाहुल्य उनले देखेका छन् । उनीहरूको खुट्टामा चप्पल कहिल्यै परेको छैन । पेटभर खाने र आङ ढाक्नेहरू बिरलै देखिने उनी बताउँछन् । त्यही सिन्धुपाल्चोकमा धेरै मान्छे अर्बौँको सम्पतिका मालिक भएको उनको आँखाले देखेको छ । महलमा बस्ने र खान नपाउने बिचको मध्यमवर्गीय परिवारमा जन्मेका उनलाई विपन्न जनताको लागि केही गर्नुपर्छ भन्ने लाग्यो । समाजका लागि थोरै काम गर्न सकियो भने आफ्नो दायित्व पूरा भएको मान्छन् उनी । आफ्नो अभियानलाई सार्थक बनाउन स्थानीय व्यापारीहरूबाट समेत सहयोग जुटाउँदै छन् दमन ।
गाउँमा चेतना थिएन । एउटै व्यक्तिका आठदश सन्तान हुनु सामान्य जस्तै थियो । घरमा खान छैन पढाइ–लेखाइ त धेरै टाढाको कुरो थियो । गाउँको दृश्य देखेर दमनलाई लाग्यो– कम्तीमा एउटा परिवारको एउटा नानीलाई पढाउन पाए उनीहरूको जीवनमा केही परिवर्तन ल्याउन सक्ने थियौँ । ‘तिनै बच्चाहरू हामीलाई देखेर भाग्थे, आज हामीलाई देख्दा नजिक–नजिक आउँछन्’ अभिभावकले दमनले बच्चा चोरेर लग्यो भनेर स्कुलबाट फिर्ता लगेका घटना दमनको मष्तिस्कमा ताजै छ ।
दमनमा कहिलेकाहीँ वितृष्णा उत्पन्न हुन्छ । ‘जुन उद्देश्य लियर सामाजिक काममा होमिएको थिएँ, त्यही समाजले साथ दिनुभन्दा अवरोध बढी गर्‍यो । समाज अरूको कामलाई सकारात्मक रूपमा लिनुभन्दा आलोचनामा उत्रन रुचाउने प्रवृत्तिको छ । त्यस्तो प्रवृत्तिले मन खिन्न बनाउँछ ।’
दश वर्षमा उनले धेरै कुरा सिके । यति बेला सिन्धुपाल्चोकका आर्थिक रूपमा सम्पन्न व्यक्तिसमेत आफ्ना सन्तान दमनलाई सुम्पन पाए हुन्थ्यो भन्ने मानसिकतामा पुगेका छन् । त्यसले उनलाई लागेको केटाकेटी चोर्ने अभियोगबाट मुक्त भएजस्तो लाग्छ ।
दमनलाई आरोप लाग्ने गर्छ– उनी आफ्नै गाउँमा मात्र धेरै काम गर्छन् भन्ने । दमन त्यसलाई बुझाइको दोष मान्दछन् । ‘जुन गाउँमा जन्मेँ त्यसप्रति मेरो दयित्व बढी हुन्छ नै ।’ साथै त्यहाँ आफन्त सबै छन् जसले उनको काममा सहयोगीको भूमिका निर्वाह गर्छन् ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया