मुलुकभरका पेट्रोलपम्प बन्द

petrol-pumpकाठमाडौं, ३१ भदौ  । मुलुकमा निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण पेट्रोलपम्प आइतबार बन्द भएका छन् । नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, नेकपा–माओवादी सम्बद्ध विद्यार्थी संगठनलगायतले संयुक्त रूपमा  १ असोजसम्म तीन दिन पेट्रोलपम्प बन्द गर्न आह्वान गरेकाको पहिलो दिन मुलुकभरका पेट्रोलपम्प बन्द भएका हुन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पछिल्लोपटक गरेको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेपाल आयल निगमले यही भदौ २५ गते पेट्रोलमा प्रतिलिटर पाँच, डिजेलमा तीन, मट्टितेलमा  तीन  तथा आन्तरिक हवाइ इन्धनमा सात रुपियाँले मूल्यवृद्धि गरेको थियो । निगमको सो निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठनले विभिन्न क्याम्पस आसपास क्षेत्रको सडकमा चक्काजाम तथा निगमको कार्यालयमा धर्ना दिएर चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
नेपाल विद्यार्थी संघका नेता युपी लामिछानेले निगममा हुने संस्थागत चुहावट नियन्त्रण नगरिकन चाडबाडको बेलामा विद्यार्थी तथा आम जनताको ढाड सेक्ने काम गरिएकाले सो निर्णय सच्याउन दबाब दिन पेट्रोलपम्प बन्द गराएको बताए ।
उनले निगमले मूल्यवृद्धिबारे छलफल गर्न संयुक्त विद्यार्थी संगठनलाई वार्तामा बस्न आह्वान गरेको जानकारी दिँदै विद्यार्थी संगठनको बैठक बसेपछि निगमसँग छलफल हुने बताए ।

प्रतिक्रिया