कांग्रेस कार्यालयमा टिकट माग्नेको भिड

congress_officeकाठमाडौं, ३१ भदौ । कांग्रेसले मूल्यांकन गरेर टिकट जिल्ला र क्षेत्रमै पठाउने भने पनि उम्मेदवारका आकांक्षीले भने राजधानी छाडेका छैनन् । पार्टीले जिल्ला फर्कन निर्देशन दिएको भोलिपल्ट पनि ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा अघिल्ला दिनजस्तै टिकट माग्नेहरूको भिडभाड थियो ।
शनिबार बसेको केन्द्रीय कार्यसमितिको अनौपचारिक बैठकले टिकटका आकांक्षी तथा राजधानीमा रहेका नेताहरूलाई जिल्ला फर्कन निर्देशन दिएको थियो । पार्टीको निर्देशनलाई बेवास्ता गर्दै टिकटका आकांक्षी नेताहरू राजधानीमै केन्द्रित बनेका हुन् । आइतबार पार्टी कार्यालयमा नेताहरूका सवारीसाधन राख्ने ठाउँमा पनि समस्या भएको थियो ।
केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले पार्टीले सिफारिसका आधारमा मूल्यांकन गरेर टिकट जिल्ला पठाउने भने पनि नेताहरू राजधानीमै रहेको पाइएको बताइन् । ‘चुनाव आइसक्यो पार्टीले केही दिनमै टिकटको टुंगो लगाएर जिल्लामा पठाइहाल्छ नि,’ नेत्री चौधरीले भनिन्, ‘नेता र पार्टी कार्यालयको ढोका कुरेर बस्नुभन्दा आफ्नै क्षेत्रमा गएर चुनावी माहोल बनाउनुपर्छ ।’
आइतबार कांग्रेस पार्टी कार्यालयमा पाँच सयभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति थियो । अन्य दिनमा सुनसान रहने सानेपा दरबारमा नेता/कार्यकर्ताको घुइँचो देखेपछि स्थानीयवासी चकित परेका छन् ।
कांग्रेसका नेता तथा कार्यकर्ताको सानेपामा बाक्लो उपस्थिति भएपछि आसपासको व्यापार व्यवसाय पनि बढेको छ । व्यवसाय बढेकोमा स्थानीय व्यापारी खुसी छन् ।
केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभागका संयोजक डा. मीनेन्द्र रिजालले पनि पार्टीले उपयुक्त उम्मेदवारको मूल्यांकन गरेर टिकट दिने बताए । उनले भने, ‘पार्टीमा पुर्‍याएको योगदान र सक्षमतालगायतलाई हेरेर टिकट वितरण हुन्छ ।’
एक कर्मचारीका अनुसार पार्टी कार्यालयमा कहिल्यै अनुहार नदेखाउने नेताहरू पनि टिकटको माग गरेर आउने गरेको प्रतिक्रिया दिए । ‘पहिला कहिल्यै नदेखिएका नेताहरू पनि टिकट लिन आएको भन्दै आउने गरेका छन्,’ ती कर्मचारीले भने, ‘सिफारिसमा परेका सबैको नाम आइसकेको छ । बरु पार्टीको बैठकले छिट्टै निर्णय गरेर जिल्लामा उम्मेदवारको नाम पठाइहाल्छ । उतै गएर चुनावको माहोल बनाए हुन्छ नि ।’
ती कर्मचारीले अघिल्लो चुनावका क्रममा पार्टी कार्यालयमा भिड नदेखेको प्रतिक्रिया दिए । उनले भने, ‘नेता तथा कार्यकर्ताको भिड भएका कारण हामीलाई समेत काम गर्न समस्या भएको छ ।’

प्रतिक्रिया