मापदण्डविपरीत डेन्टल सञ्चालन

Dental-Hospitalचितवन, ३१ भदौ । चितवन जिल्लामा सञ्चालनमा रहेका दन्त (डेन्टल) क्लिनिकहरू मापदण्डविपरीत सञ्चालनमा रहेको भेटिएका छन् ।
यहाँ सञ्चालित धेरैजसो डेन्टल क्लिनिक बिनादर्ता सञ्चालनमा छन् । यससम्बन्धी सम्बन्धित निकायले अनुगमन नगर्दा दन्त रोगी मर्कामा परेका छन् । मेडिकल सिटीको रूपमा विकसित  चितवनमा दाँतजस्तो संवेदनशील अंगको उपचारमा मापदण्ड पूरा नगरिएका अस्पतालमा उपचार गराउँदा सेवाग्राही मर्कामा परेको उनीहरूको गुनासो छ ।
चितवनमा ३४ वटाभन्दा बढी दन्त (डेन्टल) क्लिनिक रहेकामा १२ वटाले मात्रै दर्ता गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन कालिका डेन्टल, युनाइटेड डक्टरस् क्लिनिक, चितवन हिमाल डेन्टल, स्काई डेन्टल केयर प्रालि, चितवन डेन्टल एन्ड हेल्थ केयर, हेल्थिस्माइल डेन्टल, थपलिया डेन्टल क्लिनिक, हर्मोनी डेन्टल सेवा, लालीगुराँस डेन्टल केयर सेन्टर, ग्लोबल डेन्टल हस्पिटल, श्री सत्यसाई डेन्टल र साईबाबा डेन्टलमात्रै स्वास्थ्य निकायमा दर्ता छन् भने बाँकी  बिनादर्ता सञ्चालनमा छन् ।
दर्ता भएका १२ वटा डेन्टल स्वास्थ्य क्लिनिकले पनि मापदण्ड पूरा नगरेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहरसिंह गोदारले बताए । दर्ता भएका एक–दुईवटाले मात्रै मापदण्ड पूरा गरेको उनको भनाइ छ । डेन्टल क्लिनिक सञ्चालनका लागि सम्बन्धित स्वास्थ्य निकायबाट दर्ता हुन आवश्यक छ– प्रमुख गोदरले भने यसका लागि छिट्टै अनुगमन हुनेछ ।
अधिकांश दन्त क्लिनिकहरू अवैध हुँदाहुँदै पनि विज्ञापननै गरी बिरामीको दाँत परिक्षण गरिरहेकको जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए । डेन्टल सञ्चालन नीतिअनुसार डेन्टल सञ्चालनका लागि डेन्टल सर्जन अनिवाय, सुविधा सम्पन्न बिरामी कुरुवा कोठासहित सरसफाइ र सिरिजरिङ एरियासहित उपकरणमा डेन्टल चियर, हेलगन लाइट पानीसहित, हाइम्याकुम, माइक्रो मोटर वा एयर मोटर, लाइट केयर युनिट आइओपिए एक्स–रे, एक्स–रे म्युयर, अटोक्याभे, तातो पानी र जेनेरेटर भएको हुनु पर्छ–जनस्वास्थ्य अधिकृत शोभाखर अधिकारीले भने तर सबैमा यो सुविधा नभएको पनि उनले बताए । यहाँका सेवाग्राहीले दाँतजस्तो संवेदनशील अंगको उपचारमा गुणस्तरभन्दा पनि सस्तो उपचार खोज्दा मापदण्डविपरीतका डेन्टल क्लिनिकले प्रोत्साहन पाएको चिकित्सकको भनाइ छ । दाँतको समस्याबाट दन्तहर्ष, मुटु रोग र मृगौलाको समस्या हुने गर्छ ।
यस्तै स्वास्थ्य निकायमा दर्ता नै नगरी सञ्चालनमा आएका जनसेवा डेन्टल, रेसुंगा डेन्टल, हेल्दी स्माइल डेन्टल, उपकार क्लिनिक एन्ड डन्टल, सुस्वास्थ्य डेन्टल, पदम डेन्टल, कान्तिपुर डेन्टलसहित धेरै डेन्टल क्लिनिकले विज्ञापनको भरमा सेवाग्राहीलाई मर्कामा पार्ने गरेका छन् । यी सबैले मापदण्ड पूरा नगरेको, जनस्वास्थ्य कार्यालय स्वास्थ्य संस्थामा दर्ता गर्न कुनै पनि प्रमाण पेस नगरेको कार्यालयका जनस्वास्थ्य अधिकृत अधिकारीले बताए ।
स्वास्थ्य निकायमा दर्ता नै नगरी सञ्चालनमा आएका जनसेवा डेन्टल, रेसुंगा डेन्टल, सुस्वास्थ्य डेन्टल, कान्तिपुर डेन्टलसहितका क्लिनिक र अस्पतालको अनुगमन नहुँदा सेवाग्राही तथा बिरामी मर्कामा पर्दासमेत जिल्ला प्रशासन कार्यालयले चासोसमेत नदिएको पीडित बिरामीहरूको गुनासो छ । डेन्टल सञ्चालनका लागि बिडिएस् गरेको डाक्टर अनिर्वाय छ, तर यहाँ एकाधमा मात्रै बिडिएस् गरेका डाक्टरले सेवा दिएका छन् । अधिकांश मानिसलाई सताइरहेको दाँत तथा मुखसम्बन्धी रोगका लागि भने सरकारी वा निजी कुनै पनि क्षेत्रबाट पहल भएको पाइँदैन ।

प्रतिक्रिया