दुई वर्षमा पनि बनेन पुल

धनगढी, ३० भदौ । निर्माण कम्पनीको लापरबाहीका कारण बझाङमा दुई वर्षअघि नै निर्माण भइसक्नु पर्ने दुईवटा पुल अझै बन्न सकेको छैन ।
जिल्लाको भोपुर रूपातोला ग्रामीण सडक जोड्ने सुनिगाड र सुक्कगाडमा निर्माणाधीन पुल अझै बन्न नसकेको हो । जिल्ला विकास समितिअन्तर्गत विकेन्द्रिकृत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत ती पुल निर्माणका लागि ठेक्कापट्टा भएको जनाइएको छ । पुल निर्माणको जिम्मेवारी लिएको वाइपी कन्स्ट्रक्सन कम्पनीले आर्थिक वर्ष ०६८ मै पुल निर्माण पूरा गर्ने सम्झौता भएको थियो ।
तर, निर्माण कम्पनीले सम्झौता सकिएको दुई वर्षसम्म पनि पुल निर्माण गरेका छैनन् ।  खोलामा पुल बन्ने भएपछि आफ्नो जग्गासमेत नि:शुल्क दिएको भए पनि जिल्ला विकास समिति तथा ठेकदारको लापरबाहीले अझै पुल नबनेको स्थानीयको गुनासो छ । एक करोड ७१ लाख रुपियाँ  लागतमा बन्ने सो पुल निर्माण कम्पनीले ३४ लाख रुपियाँ पेस्की लिएर फरार भएको जनाइएको छ ।
पुल निर्माणमा सहयोग गरिरहेको एसियाली विकास बैंक तथा डिर्लिप केन्द्रले जिल्ला विकास समिति तथा निर्माण कम्पनीलाई ताकेता गरिरहेको छ । स्थानीय विकास अधिकारी युवराज कट्टेलले चालु आर्थिक वर्षमा पनि पुल निर्माण कार्य पूरा नगरे कारबाही प्रक्रियाअघि बढाइने बताए ।

प्रतिक्रिया