जुडोमा रञ्जुको कीर्तिमान

Judoकाठमाडौं, २९ भदौ । काठमाडौं र नेपाल पुलिस  क्लबले १२औँ राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन शुक्रबार समान २–२ स्वर्ण जितेका छन् । जम्मा सात स्वर्णको छिनोफानो हँदा एपिएफ, ललितपुर र कैलाली पनि एक–एक स्वर्ण हात पार्न सफल रहे । पहिलो दिनको खेल सकिँदा नवौँ राष्ट्रिय च्याम्पियनसिपको विजेता पर्साले एक स्वर्णपदक पनि जितेको छैन । यसबीचमा भएको दुई राष्ट्रिय च्याम्पियनसिपमा विभागीय टोलीको अलावा क्षेत्रीय टोली समावेश थिए ।
नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको पुरुषको ६० केजी मुनिको खेलमा दक्षिण एसियाली च्याम्पियनसमेत रहेका काठमाडौंका सरोज महर्जनले स्वर्ण जिते । उनले फाइनलमा रसुवाका सुनील नगरकोटीलाई पराजित गरे । महिलाको ४४ केजीमुनिको फाइनलमा  काठमाडौंकै मनिषा महर्जनले बाँकेकी निर्मला कुँवरलाई पराजित गरिन् ।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७३ केजीमुनि प्रहरीका प्रकाश नेपाली र ९० केजीमुनि प्रहरीकै श्रीराम मकाजुले स्वर्ण जिते । फाइनलमा प्रकाशले काठमाडौंका मोहन सुनुवार तथा श्रीरामले काठमाडौंकै सञ्जय महर्जनको चुनौती पन्छाए ।
महिलाको ५२ केजीमुनि एपिएफकी देविका खड्काले बाजी मारिन् । छैटाँै राष्ट्रिय खेलकुदको फाइनलमा देविका फाइनलमा पुलिसकी प्रमिला खड्कासँग पराजित भएकी थिइन् । यसपटक देविकाले उपाधि जित्ने क्रममा फाइनलमा काभ्रेकी रूक्कु थापा मगरलाई हराइन् । ६३ केजीमुनि ललितपुरकी रन्जु राईले प्रहरीकी प्रमिला खड्कालाई हराउँदै शीर्ष स्थानमा रहिन् । रञ्जु जुडोको राष्ट्रिय च्याम्पियनसिपमा  तीन भिन्न टोलीका लागि स्वर्णपदक जित्ने खेलाडी बनेकी छिन् । उनले यसअघि पर्सा र नेपाल पुलिस क्लबका लागि स्वर्णपदक जितिसकेकी छिन् ।
महिलाको ७० केजीमाथि कैलालीकी गंगा चौधरीले कञ्चनपुरकी सुनिता बोहोरालाई पराजित गरी पहिलो भइन् । गंगाले छैटाँै राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमका लागि स्वर्णपदक जितेकी थिइन् ।
तीनदिने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रिरामकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगितामा १७ जिल्ला, तीन विभागीय टोली प्रहरी, एपिएफ र नेपाली सेनाका एक सय ५६ खेलाडी सहभागी छन् । त्यसमा ९३ पुरुष र ६३ महिला छन् । १४ व्यक्तिगत र दुई टिम गरी कुल १६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् ।

प्रतिक्रिया