विदेशमा रहेका नेपालीको वास्तविक कथा–व्यथा

Dharmendra_Yadavविदेश जानु रहर होइन, बाध्यता हो । विदेश रमाउन जाने होइन कमाउन जाने हो । अहिले नेपाल सरकारले वैदेशिक रोजगारको क्षेत्रमा धेरै कार्यक्रम चलाएको पाइन्छ तर विदेशमा गएकाहरूले आफ्नो श्रम बेची आय आर्जन त गरेका छन् नै, बचेको समयलाई सदुपयोग गरी पत्रकारिता, समाजसेवा, साहित्यलगायत अन्य क्षेत्रमा पनि योगदान दिएका छन् । त्यो भिडमा नेपाली डायस्पोराको इतिहासमा सात वर्ष प्रवासमा बिताएकी लेखिका सरिता अर्याल पनि थपिन आएकी छन् ।
नयाँ सडक दैनिक पत्रिकासँगै पत्रकारितामा प्रवेश गरी दैनिक पत्रिकाको प्रथम महिला सम्पादकका रूपमा सशक्त महिला पत्रकारको पहिचान बनाई लेखन क्षेत्रमा अगाडि बढेकी सरिता अर्याल प्रवासको बसाइमा त्यहाँको भोगाइका क्रम र संघर्षलाई एउटा सँगालोका रूपमा नेपाल फर्केपछि संस्मरण गर्दै लेखिएको नियात्रा अनुभव साथै कथाहरूको संग्रह हो ‘फर्केर हेर्दा’ । किताबको नामकरण शीर्षक कथाहरूसँग निकै मेल खाएको छ ।
‘फर्केर हेर्दा’ नेपाली साहित्यमा एउटा नौलो कृतिका रूपमा प्रवेश गरेको देखिन्छ । यसमा साना र मझौला प्रकारका १७ वटा कथा छन् । यसमा दुबई, इजरायल र अमेरिकाको परिवेश, कथ्य, यथार्थ पात्र र चरित्रमाथि बुनिएका कथा सगृहीत छन् ।
अर्यालले स्वदेश आएर प्रवासमा बिताएका क्षणहरूलाई संवेदनशील रूपले फर्केर हेरेकी छन् । उनको कथाकारितामा पत्रकारिता शैलीको प्रभाव परेको स्पष्ट छ । कथाकार सरिता अर्याल पत्रकार अर्यालको नजिक छिन् । भाषालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ तर अरू कथा साहित्यमा देखिएभन्दा नितान्त फरक विषयवस्तु, परिवेश र चरित्र चित्रणका कारण कथा पटक–पटक पढौँजस्तो लाग्ने बन्न पुगेका छन् ।
‘उडायो सपना सबै डिभीले’ भन्ने कथामा डिभी परेर अलपत्र परेका युएसवासी नेपालीहरूको कथा–व्यथा निकै कष्टकर छ । अमेरिका पुगेपछि केके न होला भनेर सोच्नेहरूका लागि त्यहाँको दु:खबारे ‘वाह अमेरिका, ओ अमेरिका’ भन्ने कथाले दिग्दर्शन दिएको छ ।
इजरायलमा लेखिका सरिताले भोगेका संघर्षका कुराहरू व्याप्त छन् । उनमा देशभक्ति, उपहार, जेलबाट लेखिएको पत्र, म दोस्रो बिहे गर्न चाहन्छु, चाहेर पनि बिर्सन नसक्ने ती दिन’ भन्ने कथा छन् ।
लेबनान, इजरायल, प्यालेस्टाइनको युद्धबारे चित्रण गरिएको कथा हो ‘देशभक्ति’ ।    ‘चाहेर पनि बिर्सन नसकिने त्यो दिन’ कथामा नेपाली महिलाले हिब्रु भाषा नजान्दाको पीडा, काम गर्ने स्थल राम्रो नहुँदा एजेन्सीमा जाँदाको पीडा, अप्ठ्यारा सहन नसक्दा नेपाली महिलाले गरेका आत्महत्याका घटना साथै घर छाडेर सेल्टर खोज्न जाँदा पैसा अभाव, भौतिक र मानसिक पीडाले विक्षिप्त संघर्षका घटना यसमा बिर्सन नसक्ने क्षण भनेर कथाकारले आफ्नो अनुभव पस्केकी छन् ।
‘म दोस्रो बिहे गर्न चाहन्छु’ कथा नारी भावनाको तीतो यथार्थ हो । ‘उपहार’ कथामा मायाको संघर्षशील कुरालाई उल्लेख गरिएको छ । काम खोज्ने क्रममा चिनजान भएका विभिन्न साथीबीच माया साटासाट हुनु, विवाह हुनु र विवाहपछि जन्मेको छोरालाई हिब्रुमा मतना अर्थात् उपहारका रूपमा लिनु यस कथाको मर्म हो ।     दुबईको परिवेशमा लेखिएका कथामध्ये रूपा, बुर्काभित्र लुकेको चाहना, रमजान महिना र धर्म परिवर्तनका कुरा हुन् ।
वैदेशिक रोजगारमा जाने व्यक्तिले पठाएको रकम रेमिटेन्स स्वदेशमा भएका पत्नी, पति, दाइभाइ, आमाबुबाले नै दुरुपयोग गरिदिने प्रवृत्तिलाई र यथार्थ मनोवैज्ञानिक कुरालाई कथाका रूपमा प्रस्तुत गरेकी छन् सरिता अर्यालले मार्मिक ढंगले । उनका पात्र यथार्थ छन् । कथ्य पात्रभन्दा यथार्थ पात्रको चित्रण सवल छ । कथा पनि सत्य छन् र पात्र जीवित र यथार्थ । उनका नियात्रा संग्रह वास्तविक संस्मरणात्मक शैलीमा नदेखिए पनि यथार्थ हुन् कथाकै नाम रूपमा दिँदा पनि सुहाउने छ, सत्य कथामा आधारित भनेर । क्यान्सर, रक्तअल्पता र मधुमेह रोगीलाई प्रेम र यौन अति जरुरी कुरा रहेको डाक्टरको भनाइ उद्धृत गर्दै सही सन्देश दिन खोजिएको छ । मान्छेको मनोवैज्ञानिक, यौन मनोवैज्ञानिक, प्रेम र सेक्स, पारपाचुके, गे र लेस्वियनजस्ता कुराको अन्तरसम्बन्ध र यथार्थ प्रस्तुतीकरण गरेको छ । आर्थिक आर्जनका लागि विदेश गए पनि जीवनमा त्यहाँको परिवेशमा महसुस एक्लोपनलाई चिर्न माया चाहिन्छ, दु:ख, कष्ट, पीडा कम गर्न सहानुभूति आवश्यकता पर्छ त्यो अनुभूति सेक्समा परिणत भई प्राकृतिक आवश्यकता महसुस भई जीवनसाथीको रूप लिएको प्रस्ट गरेका छन् उनका कथाले । डिभी, ग्रिन कार्डका लागि पारपाचुके गरी घरवार तहसनहस भएको पनि कथामा केन्द्रित अमेरिकी पात्रहरूले प्रस्ट गरेका छन् । एउटै बसाइमा मायाबारे भोगाइका कुरा चित्रण गरी लेखिएकाले गहन मनोवैज्ञानिक पक्षलाई नअँगालेको देखिन्छ । वियोगान्त तर मझधारमा गएर टुंगिएका कथाहरू जस्तै बिहे गर्ने कोसित ? घुर्न थाले… घुर्र घुर्र, कतै कतै प्रश्नवाचक चिह्नमै अन्त्य र पाठकसँग सल्लाहको, उत्तरको अपेक्षा गरिएकाले कथाहरूले थप विस्तारको खाँचो महसुस
गरेका छन् ।

प्रतिक्रिया