क्यान्सर गोष्ठीकी प्रमुख अतिथि मनीषा

Manisha-Koiralaकाठमाडौं : दश महिनादेखि कुनै सार्वजनिक कार्यक्रममा देखा नपरेकी अभिनेत्रीब मनीषा कोइराला काठमाडौंमा आयोजना हुन लागेको क्यान्सर रोगसम्बन्धी एक गोष्ठीको प्रमुख अतिथिको भूमिकामा सार्वजनिक हुन लागेकी छिन् ।
क्यान्सर रोगको उपचारका लागि आठ महिना अमेरिका बसाइपछि डेढ महिनाअघि मुम्बई फर्केकी मनीषा  त्यसपश्चात् कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएकी थिइनन् । शुक्रबारदेखि काठमाडौंमा आयोजना हुन लागेको ‘इन्टरनेसनल कन्फ्रेन्स अन एडभान्सेस इन हेमाटोलोजी म्यालिग्नसिज’ की प्रमुख अतिथि मनीषा क्यान्सर रोगबारे चेतना अभियानमा सघाउ पुग्ने उद्देश्यले कार्यक्रममा सहभागी हुन लागेकी हुन् । अभिनेत्री मनीषाले गोष्ठीमा उद्घाटन मन्तव्य राख्ने कार्यक्रम रहेको आयोजक कमिटीका सचिव भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ डाक्टर आरपी बरालले बताए ।
अमेरिकामा लामो उपचारपछि मनीषाले भनेकी थिइन्, ‘आत्मविश्वास क्यान्सरलाई जित्ने सबैभन्दा बलियो उपाय हो ।’ क्यान्सर रोगबाट पीडित उनले क्यान्सर रोगका बारेमा सचेतना फैलाउन आफूले सहयोग गर्ने बताएकी थिइन् ।
गत मंसिरमा काठमाडौंमा बिरामी परेपछि मनीषालाई मुम्बईको जसलोक अस्पताल लगिएको थियो । अस्पतालले पाठेघरको क्यान्सर भएको पुष्टि गरेपछि थप उपचारका लागि अमेरिकाको न्युयोर्कस्थित मेमोराइज स्यालोन अस्पताल लगिएको थियो ।
उपचारबाट तंग्रिएपछि क्यान्सरको पीडा भोगेकी उनले क्यान्सरका रोगीलाई बेलैमा सजग गराउन सक्दो सहयोगसमेत गर्ने बताएकी थिइन् । (सौस)

प्रतिक्रिया