काठमाडौं, २७ भदौ । मनोनित अध्यक्ष रञ्जीत कर्ण नेतृत्वको ‘टीके’ जम्बो कार्यसमितिले पनि महाधिवेशन गर्न नसके पछि अन्तिम समयमा एघारौं महाधिवेशन स्थगित भएको छ ।
नेविसंघका अध्यक्ष कर्णको समानुपातिकमा टिकट मोह र पूर्व तयारीको अभावमा महाधिवेशन स्थगित भएको हो । भदौको २९, ३० र ३१ गते महाधिवेशन काठमाडौंमा हुने कार्यक्रम थियो । सो मितिको महाधिवेशन स्थगित भएको नेविसंघका केन्द्रीय सदस्य ऋषिकेश जंग शाहले सामाजिक सञ्जाल फेसबुकमा सन्देश मार्फत जानकारी गराएका छन् ।
कर्ण गृह जिल्ला सप्तरीमा टिकटका लागि समर्थक लिएर दलबलसहित तालाबन्दीमा पुगेका थिए । उनको सो कार्यशैलीबाट ‘टीके’ जम्बो कार्यसमिति पनि रुष्ट छ । हुन त कर्ण मात्रै टिकटका लागि गृह जिल्ला गएका हैनन् । उनका साथै नेविसंघको वर्तमान कार्यसमितिका झण्डै आधा दर्जन नेताहरु महाधिवेशनको तयारी अपलत्र रुपमा छाडेर गृह जिल्ला तर्फ लागेका थिए ।
कांग्रेस सभापति सुशील कोइरालाका विश्वास पात्र भएकै कारण कर्णले ‘टीके’ अध्यक्षको जिम्मेवारी पाएका हुन् । यद्यपि, कर्णले कोइरालाको विश्वास तोडिदिएको संस्थापन पक्षकै आरोप छ ।
स्रोतका अनुसार एघारौ महाधिवेशन गराउन नसकेका कर्णलाई अब अपदस्थ गरेर सभापति कोइरालाले नयाँ कार्यसमिति बनाउने तयारी गरेका छन् । कर्ण अपदस्थ भएमा नेविसंघमा ‘टीके’ अध्यक्षको जिम्मेवारी मनोजमणि आर्चायमा जान सक्ने सम्भावना रहेको स्रोतको भनाई छ ।
‘टीके’ अध्यक्षका लागि पनि आकंक्षी धेरै छन् । यद्यपि, सबैलाई आर्चायले उछिन्न सक्ने संभावना छ ।
‘नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्ने सन्दर्भमा, हालसम्म जम्मा ३८ जिल्ला मात्र अधिबेसन सम्पन्न भएकोले घोषित मिति भदौ–२९, ३० र ३१ गतेको महाधिबेशन आयोजना गर्न सम्भब नभएकोले महाधिबेशन हाललाई स्थगित गरिएको छ,’ केन्द्रीय सदस्य शाहले सन्देशमा लेखेका छन् ।
उनले शीघ्र नेविसंघ केन्द्रीय समितिको बैठक बसेर महाधिबेशनको नयाँ मिति घोषणा गरिने जानकारी दिए ।
‘अधिबेसन सम्पन्न गर्न बाँकी रहेका जिल्ला तथा क्याम्पस अधिबेशन नरोकी समयमै सम्पन्न गर्न सम्पूर्ण जिल्ला तथा क्याम्पस समितिहरुलाई आग्रह गर्दछौ,’ सन्देशमा शाहले भनेका छन्, ‘अधिबेशन सम्पन्न गराउन सहयोग गरिदिनुहुन सम्बन्धित जिल्लाको कांग्रेस जिल्ला कार्य समिति समेतलाई बिशेष आग्रह गर्दछौ ।’
केन्द्रीय सदस्य शाहले तोकिएको समयमा महाधिबेशन सम्पन्न गराउन नसकेकोमा क्षमायाचना गरेका छन् । महाविधेशन स्थगित भए पछि नेविसंघका कार्यकर्तामा आक्रोश बढेको छ । आक्रोशित कार्यकर्ताले कार्यसमितिमा रहेर जिम्मेवारी बहन गर्न नसक्ने पदाधिकारी र सदस्यहरुलाई पद छाड्न दवाव दिएका छन् ।
सभापति कोइराला र नेता शेरबहादुर देउवा समूहका कारण नेविसंघमा चरम आन्तरिक विवाद छ । सो विवादकै कारण नेविसंघको नेतृत्व हातबाट फुत्कने हो की भनेर संस्थापन पक्ष त्रसित रहेको आरोप पनि लाग्ने गरेको छ ।
प्रतिक्रिया