प्रकाशकीय यात्रामा निरन्तर

दुई महिनाभन्दा केही बढी समयसम्म स्थगित रहेर ‘सौर्य’ राष्ट्रिय दैनिकको प्रकाशन आजबाट यथावत् सुरु भएको छ । विभिन्न प्राविधिक कारणले प्रकाशन नै स्थगन गर्नुपर्ने अप्रिय निर्णय लिनुपरेकोमा हामी त्यो बेला जति दु:खी भएका थियौँ, अहिले तपाईं प्रिय पाठकसामु फेरि उपस्थित हुने निर्णय लिन पाउँदा त्यत्तिकै खुसी छौँ । यसबीचमा समयको अन्तरालले विविध सन्दर्भमा सिर्जना गरेका द्विविधा, संशय, भ्रम, ऊहापोह र अनुशंसाका सबै तरंग पत्रिकाको पुनरागमनले चाँडै मेट्दै जानेछ भन्ने हाम्रो विश्वास छ ।
यसपूर्व सौर्य सञ्चार सहकारी संस्थाको ब्यानरमा प्रकाशन हुँदै आएको ‘सौर्य’ दैनिक अब त्यस सहकारीको प्रकाशनमा रहेको छैन । यसलाई प्रकाशन गर्ने दायित्व ‘सिर्जना इन्टरनेसनल मिडिया प्रालि’ ले वहन गरेको छ । मुलुकमा हजारौँ सहकारी संस्थाको भिडमा उदाएको थप एक संस्थाले सोचेअनुरूप पत्रिका प्रकाशनको योजनालाई दिगो स्वरूप दिन सकेन । धेरै ‘साझेदार मालिक’ भएको सहकारीले सुरुमा टेबल्वायड आकार ग्रहण गरेको पत्रिकालाई ब्रोडसिटमा रूपान्तरित गरेर पनि अपेक्षाकृत लामो यात्रामा अगाडि बढाउन मिल्ने वातावरण निर्माण गर्न नसकेपछिको अनपेक्षित अवस्था नै हाम्रो त्यो दु:खपूर्ण निर्णयको कारक बन्न पुगेको थियो ।
प्रकाशन अवधिभरि नै हामीले आफूलाई एक जिम्मेवार चौथो अंगका रूपमा निरन्तर स्थापित गराउँदै आयौँ । ‘सौर्य’ राष्ट्रिय दैनिक आवाजविहीनहरूको बलियो आवाज र नवस्थापित लोकतान्त्रिक गणतन्त्रको सच्चा पहरेदार थियो, छ र रहिरहनेछ । यही वाचासहित पुनरागमनको यस अवसरमा हामी मित्रवत् एवं सहयोगी सहकर्मी पत्रकार र लेखक अनि आºना समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकप्रति उच्च सम्मान व्यक्त गर्दै यहाँहरू सबैको माया, स्नेह, सहयोग र सद्भाव पहिलेजस्तै यथावत् प्राप्त भइरहनेछ भन्नेमा हामी विश्वस्त छौँ । यो सहयोग, सद्भाव र हाम्रो परिश्रम नै पत्रिका निरन्तरताको समवेत् उद्बोधन हो ।

प्रतिक्रिया