‘हाम्रो नेपाल पार्टी’को चन्दा आतंक

दोलखा, १७ साउन । आगामी संविधानसभा निर्वाचनका लागि भन्दै नामै नसुनिएको दल र संगठनहरुले दोलखा जिल्लामा चन्दा आतंक मच्चाएका छन् ।
नामै नसुनेको पार्टीले स्थानीय उद्योगी, निजी बोर्डिङ, सहकारी, कर्मचारी, ठेकेदार, निजी अस्पतालका सञ्चालकलाई लिखित पत्र पठाएर लाखौं रुपियाँ चन्दा मागेपछि उनीहरु आतंकित भएका हुन् ।
संविधानसभा निर्वाचनको मिति नजिकिँदै आउँदा आचार संहिता विपरित ‘हाम्रो नेपाल पार्टी’को लेटर प्याडमा नाम उल्लेख नगरी हस्ताक्षरसहित एकलाख देखि दशलाख रुपियाँसम्म तोकेर चन्दा मागिएको छ ।
सो दलका कार्यकर्ता बताउनेले मागेजति रकम नदिए ‘परिणाम राम्रो नहुने’ चेतावनी समेत दिईएको छ । चरिकोटको एकअस्पतालका सञ्चालकले भने, ‘चन्दाका कारण आतंक मच्चिएको छ ।’
सो समूह गएको केही समयका विभिन्न अपरिचित नम्बरबाट फोन गरेर उद्योगी, व्यवसायी तथा निजी विद्यालय सञ्चालकसँग चन्दा मागेको पीडितहरुले जनाएका छन् । ‘हाम्रो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता छैन ।
प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले चन्दा आतंक नरहेको बताएका छन् । ‘गैर कानूनी काम गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘चन्दा आतंक विरुद्ध प्रहरी परिचालन गरिसकिएको छ ।’

प्रतिक्रिया