पूर्वराजाको राहत वितरण अन्यौलमा

Gyanendra-Shaha-1धनगढी, ८ साउन । निर्वाचन आयोगले सोमबारबाट आचारसंहिता लागू गरे पछि पूर्वराजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिमका बाढीपहिरो पीडितलाई दिने राहत बारे अन्यौल भएको छ ।
बाढीपहिरो पीडितलाई बुहारी हिमानी शाह संरक्षक रहेको हिमानी ट्रष्ट मार्फत नगद तथा जिन्सी गरी करीब ५० लाख बढिको राहत दिन लिएर शाह सोमबार पत्नी कोमल र परिवारका अन्य सदस्यसहित धनगढी आएका हुन् ।
निर्वाचन आयोगले घोषित मंसिर–४ गतेको संविधानसभा निर्वाचनलाई लक्षित गरी आचार संहिता लागू भइसकेकाले तत्काल आफै गएर राहत वितरण नगर्न भनेपछि अन्योल भएको बुझिएको छ ।
बाढीपहिरो पीडितलाई पूर्वराजाले हिमानी ट्रष्ट मार्फत राहत दिने घोषणा गरेको करीब एकमहिना अघि हो । अहिले आएर आचार संहिताका नाममा रोक्न खोज्नु राम्रो नभएको पूर्व राजाका सम्वाद सचिव फणिराज पाठकले बताए । ‘सञ्चारमाध्यममा आएका समाचार अनुसार राहत वितरण नगर्न भन्ने भनेको बुझेको छु,’ उनले भने ।
यद्यपि, अहिलेसम्म आयोग तथा अन्य सरकारी निकायबाट राहत वितरण नगर्न भनेर खबर नआएको पाठकले उल्लेख गरे ।
निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर आचार संहिता लागू भइसकेकाले पूर्वराजालाई राहत वितरण गर्नुपरेमा सरकारी निकाय मार्फत मात्र गर्न सुझाव दिएका थिए ।
पहिले नै तय भइसकेको राहत वितरण कार्यक्रम आचार संहिताको नाममा रोक्न खोज्नु आफू माथि अन्याय भएको बाढीपहिरो पीडितले बताएका छन् । ‘सरकारले त कुनै ठोस राहत दिन सकेन्,’ पीडितहरुले भनेका छन्, ‘अरुले दिन खोज्दा भाँजो हाल्न खोज्ने काम कसैबाट हुनु हुँदैन ।’
पूर्व राजाले हिमानी ट्रष्टमा संकलन भएको २५ लाख बढि र आफन्तको गरी करीब ४० लाख नगद तथा जिन्सी सामान बाढीपहिरो पीडितलाई वितरण गर्ने कार्यक्रम छ ।
सपरिवार धनगढीस्थित रुवस होटलमा बसेका पूर्वराजा शाह बुधबार हेलिकप्टर मार्फत दार्चुलामा राहत वितरण गर्न जाने कार्यक्रम छ । वितरण गर्ने राहत सामाग्री सोमबार भारतीय बाटो हुँदै दार्चुला पठाइसकेको र मंगलबार दार्चुला पुग्ने पाठकले जानकारी दिए ।
शाहले दार्चुलामा राहत वितरण गरेपछि ११ गते कैलालीको टीकापुर र १३ गते कञ्चनपुरमा राहत वितरण तथा १७ गते राजधानी फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया