कानै चुडालेर रोल्पामा लुटपाट

रोल्पा, ६ साउन । रोल्पाको मिझिङमा एकमहिला लुटपाटमा परेकी छन् । मिझिङ–९, चिन्नइखोला निवासी ३७ वर्षीया मनी बुढा कोइर्‍यालखर्क भन्ने जंगलमा घाँस काट्न गएका बेला शनिबार लुटिएकी हुन् ।
दुई जनाको समूहमा आएका अपरिचित लुटेराले बुढाको साथमा रहेको तिलहरी र पाते सुन डेढ तोला लुटेर लगेको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक बीरेन्द्रबीर बिश्वकर्माले जानकारी दिए ।
सुनको बजार मूल्य करीब ८० हजार पर्छ । लुटेराले खुकुरी देखाएर कानमा लगाएका पाते सुन लुट्ने क्रममा बुढाको कान च्यातिएको छ ।
लुटपाट गर्ने दुई लुटेरामध्ये दाङ जिल्ला बेला–९, करङ्गाखोला बस्ने २५ वर्षीय रमेश परियारलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । परियारको साथमा रहेको १ थान खुकुरी र तिलहरी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लुटपाटमा संलग्न अर्का एकजनाको खोजी कार्य जारी रहेको छ । उनको पहिचान खुलिसकेको छ ।

प्रतिक्रिया