काठमाडौं, ६ साउन । कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३१ औं स्मृति दिवस शुभेच्छुक संघ/संस्थाहरुले विभिन्न कार्यक्रम गरेर स्मरण गर्दै छन् ।
विक्रम संवत १९७१ साल भदौ–२४ गते भारतको वनारसमा वीपी कोइरालाको जन्म भएको हो । उनको आजकै दिन ३१ वर्ष अघि अर्थात २०३९ साल साउन–६ गते क्यान्सर रोगबाट निधन भएको थियो ।
पहिलो जननिर्वाचित प्रधानमन्त्री समेत रहेका वीपी कोइरालाको स्मृतिमा कांग्रेस र उस्का भाृतसंस्थाहरुले विभिन्न कार्यक्रम गरिरहेका छन् ।
वीपी कोइराला भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भएका थिए । जहानियाँ राणा शासन हटाउन २००३ सालमा वीपी कोइरालाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए ।
वीपी कोइरालाले २००७ सालमा १ सय ४ वर्षे राणाशासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गरेका थिए ।
प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने वीपी कोइराला तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्व हुन् ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गरेका वीपी कोइराला २०१५ सालमा भएको संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भए । तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी वीपी कोइारालालाई जेलमा राखेका थिए ।
२०२५ सालसम्म आठ वर्ष निरन्तर जेलमै रहेका वीपी कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए ।
वीपी कोइराला साहित्यमा पनि उत्तिकै रुचि राख्थे सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाई, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरु उनैले लेखेका हुन् ।
प्रतिक्रिया