काठमाडौं, ५ साउन । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले चार राजनीतिक शक्तिको गतिविधीले संविधानसभा चुनावप्रति आशंका जन्मिएको टिप्पणी गरेका छन् ।
कांग्रेसको मध्यपुर नगरसमितिले आज (शनिबार) भक्तपुरमा बीपी कोइरालाको ३२ औं स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा सिंहले चार राजनीतिक शक्तिका गतिविधी चुनावी माहोलका पक्षमा नहरेको बताए ।
‘चार राजनीतिक शक्तिका गतिविधी संविधानसभा निर्वाचनको पक्षमा छैन,’ उनले भने, ‘चुनावका कुरा मात्रै गर्ने । व्यवहारमा प्रमुख चार राजनीतिक शक्ति निर्वाचनका पक्षमा देखिएनन् ।’
ठूला दल र शीर्ष नेताहरुका गतिविधीले नागरिकहरुले निर्वाचनप्रति विश्वास गर्न नसकेको बताए ।
‘कांग्रेसले मात्रै चुनावी माहोल बनाएर पुग्दैन,’ उनले भने, ‘निर्वाचनका लागि सबै शक्ति ईमान्दार भएर लाग्नु पर्छ ।’
उनले कांग्रेस चुनावका लागि गृहकार्य गरेको बताए । नयाँ संविधानका लागि कांग्रेसको बहुमत आवश्यक रहेको महामन्त्री सिंहले बताए ।
विशेष गरेर एकीकृत माओवादीले निर्वाचन नचाहेको सिंहको भनाई थियो । ‘आदिवासी जनजातिलाई अधिकारका नाममा आन्दोलन गर्न उकास्ने । साना पार्टीलाई सिट संख्यामा उकास्ने,’ उनले भने, ‘विभिन्न समूहलाई उकासेर कसरी चुनाव हुन्छ ।’
त्यसै गरी कांग्रेस महामन्त्री निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सरकारले दिएको म्याण्डेटमा रहेर काम गर्न सुझाव दिए । ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो कार्यविधिमा बसेर खुरुखुरु काम गर्नु पर्छ,’ उनले भने, ‘काम गर्न सकिँदैन भने २ सय ४० निर्वाचन क्षेत्रलाई चलाउन पाईदैन ।’ (तस्विर सौजन्य युपी लामिछाने)
प्रतिक्रिया