सडक योजनामा करोडौंको अनियमितता

Rolpaरोल्पा, ४ साउन । रोल्पाको सुलिचौर हुंदै गाम जोड्ने ३६ किलोमिटर सडक निर्माणमा करोडौं रुपियां हिनामिना भएको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीयले आर्थिक अनियमितताको छानबिनको माग गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।
सुलिचौर, रुइनिबाङ हुंदै बडाचौर–गुम्चाल–हार्जङ–स्यूरी–गाम जोड्ने मोटरबाटोका लागि १८ करोड ८१ लाख ७६ हजार रुपियां विनियोजन गरिएको थियो । सडकको चार बर्ष देखि निर्माण कार्य हुंदै आएको छ ।
सडक निर्माणमा ठेकेदार र उपभोक्ता समितिले मापदण्ड विपरीत काम गरी करोडौं आर्थिक अनियमितता गरेको स्थानीयको आरोप छ ।
आर्थिक अनियमितता सम्बन्धि विषयको छानबिन माग गरेर जिल्ला प्रशासन कार्यालय रोल्पा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायत विभिन्न निकायमा लिखित उजुरी दिएका हुन् ।
२०७० असार १६ गतेभित्रै सडक निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि अझै करीब २० प्रतिशत निर्माण कार्य बांकी छ । योजनालाई मूल्याङ्कण नगरी असार १६ गते म्याद सकिने समयलाई मिलाएर रकम समेत निकासा भएको छ ।
उपभोक्ता समिति र निर्माण व्यवसायीसंग मिलेमतो गरी जिल्ला आयोजना कार्यालय रोल्पाका प्रमुख गौरीकुमार श्रेष्ठले कागजात मिलाई करोडौंं रकम निकासा गरी हिनामिना गरेको स्थानीयबासीको गुनासो छ ।
स्थानीय तेमन घर्तीले १५ करोड खर्च भए पनि सोंचे अनुसारको काम हुन नसकेको बताए । उनले सडकका नाममा करोडौं रकम हिनामिना भएको बताए ।
ग्रामीण पुन: निर्माण तथा पुन:स्थापना आयोजना (ट्रिपल आर)का आयोजना प्रमुख गौरीकुमार श्रेष्ठले आर्थिक अनियमितताका सम्बन्धमा लागेको आरोपका बारेमा बोल्न मानेनन् । सो सडकमा श्रेष्ठकै आयोजनाले काम गर्दै आएको छ ।

प्रतिक्रिया