‘चेकपोष्टको सम्झौता हाम्रो चाहना होइन’

Indian flagकाठमाडौं, ३ असार । भारतले नेपाली भूमिमा चेकपोष्ट राख्ने अभिप्रायले सम्झौता गर्न नखोजिएको दाबी गरेको छ ।
नेपाली भूमिमा चेकपोष्ट राख्ने अभिप्रायले भारतले नेपाल सरकारसँग सम्झौता गर्न लागेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भारतले जनाएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले बुधबार विज्ञप्ति जारी गरेर पछिल्लो समय नेपाली मिडियामा आएका खबरप्रति चासो व्यक्त गरेको हो ।
नेपालको पशुपतिनगर र लुम्बिनीमा भारतीय पक्षले अध्यागमन चेकपोष्ट निर्माण गर्न खोजेको र सोही आशयले नेपाल सरकारसँग सम्झौता गर्न खोजेको भन्ने समाचार गलत भएको भारतको दाबी छ ।
‘कुनैपनि सार्वभौमसत्ता सम्पन्न राष्ट्रको भूमिमा चेकपोष्ट राख्ने विषयमा कुनै खाले सम्झौता गरिएको छैन,’ भारतले भनेको छ ।
नेपाल र भारत हुँदै तेस्रो मुलुकबाट एकअर्को देशमा प्रवेश गर्न चाहने पर्यटकहरुका लागि सहयोग होस् भन्ने हेतुले आ–आफ्नै भूमिमा चेकपोष्ट राख्ने विषयमा मात्रै गृहकार्य भएको भारतीय दुतावासले स्पष्ट पारेको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिको विषयमा भने विज्ञप्तिमा केही खुलाईएको छैन ।

प्रतिक्रिया