काठमाडौं । सरकारले मापदण्ड निर्धारणसमेत नगरेको शक्तिवद्र्धक पेय (इनर्जी) ड्रिंक्सको आयात अस्वाभाविक रूपमा बढ्न थालेको छ । केही वर्षअघिसम्म न्यून मात्रामा आयात हुने इनर्जी ड्रिंक्सको खपत दुईतीन वर्षयता अत्यधिक बढिरहेको छ । चालू आर्थिक वर्षको ११ महिनाभित्रै इनर्जी ड्रिंक्सको आयात गत आर्थिक वर्षभरमा भएको भन्दा दोब्बर पुगेको छ।
व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका अनुसार ११ महिनामा इनर्जी ड्रिंक्स आयातका लागि नेपालबाट एक अर्बभन्दा बढी रकम बाहिरिएको छ। केन्द्रका अनुसार यस वर्षको ११ महिनामा एक अर्ब दुई करोड रु पैयाँको इनर्जी ड्रिंक्स आयात भएको छ। अन्य विलासी वस्तुको पनि आयात बढिरहेको छ। केन्द्रका अनुसार विलासी वस्तुमध्येमा सबैभन्दा तीव्र आयात वृद्धि हुनेमा इनर्जी ड्रिंक्स परेको छ ।
गतिलो नियमनको अभावमा इनर्जी ड्रिंक्सको माग वृद्धि भएकाले नेपालमा आयातसमेत बढेको हो। कतिपय मुलुकमा यस्तो पेयको बिक्रीमा प्रतिबन्ध लगाइएको छ। नेपालमा भने सरकारले हालसम्म मापदण्ड समेत नबनाएकाले उत्पादित मुलुकमा गरिएको कागजी प्रमाणीकरणका भरमा नेपालमा यस्तो पेय आयात भइरहेको छ ।
यस वर्षको ११ महिनामा इनर्जी ड्र्रिंक्सको आयात ७२.२ प्रतिशतले बढेर अर्ब नाघेको हो। गत वर्ष ११ महिनाको अवधिमा ५९ करोडको इनर्जी ड्रिंक्स आयात भएको थियो। चालू आर्थिक वर्षको १० महिनामा ८९ करोड रुपैयाँको यस्तो पेय नेपाल भित्रिएको थियो। यस्ता पेयको उपभोग बढ्दा जनस्वास्थ्यमा समेत असर पर्नसक्ने विज्ञले बताउँदै आएका छन्।
प्रतिक्रिया