विलासिताका सामानमा मूल्य बृद्धि हुने

काठमाडौं, ३१ असार । सरकारले आथिर्क बर्ष २०७०/०७१ का लागि बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आइतबार बेलुका सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको कार्यकक्षबाट ५ खर्ब १७ अर्ब २४ करोड रुपियाँको बजेट सार्वजनिक गरेका हुन् । कुल बजेट मध्ये चालु खर्च ६८ दशमलव ३३ प्रतिशत रहेको छ । पूँजीगत खर्च १६ दशमलव ४५ छ ।
वित्तीय व्यवस्थापनका लागि १५ दशमलव २२ प्रतिशतको व्यवस्था गरिएको छ । बजेटमा नयाँ कार्यक्रम छैनन् । राष्ट्रपतिले आर्थिक अध्यादेश स्वीकृत गरे लगत्तै अर्थमन्त्रीले बजेत सार्वजनिक गरेका हुन् ।

Shankar-Koirala-Budgetबजेट घोषणा गरेलगत्तै अब बजारमा मदिरा, बियर, चुरोटको भाउ बढ्ने छ । सरकारले बजेटमार्फत् यस्ता वस्तुमा अन्त:शुल्क बढाएको छ ।
तर सफा टेम्पोमा प्रयोग हुने ब्याट्री, पत्रपत्रिका प्रकाशनमा प्रयोग हुने कागज, साइकल, क्यान्सर रोगका औषधिलगायतमा भने भाउ घट्ने छ ।
सरकारले यस्ता वस्तुको भन्सार शुल्क घटाउने घोषणा गरेकाले भाउ कम हुने भएको हो । विदेशमा काम गरेर आउनेले ३० इन्चसम्मको एउटा टीभी ल्याउँदा अब कर तिर्नुपर्ने छैन । यसअघि प्रतिइन्च ८ सय रुपियाँसम्म भन्सार शुल्क तिर्नु पर्दथ्यो ।
पाँच लाखसम्मको पुरस्कार पाउनेले पनि अब आकस्मिक पुरस्कार लाभकर तिर्नु नपर्ने भएको छ ।
सँगसँगै करको दायरा पनि बढाइएको छ । स्थायी लेखा नम्बर नलिएका चिकित्सक, कलाकार, इञ्जिनियर, कानून व्यवसायी, लेखा परीक्षक, व्यापारी, उद्योगी, लगानीकर्ता, परामर्शदाता, कर्मचारी, प्राध्यापकलगायतलाई आगामी पुस मसान्तसम्म आय विवरण बुझाएमा पहिलेको सबै कर छुट दिने लगायतका व्यवस्था बजेटमा गरिएको छ ।
संविधान सभाको निर्वाचनका लागि सरकारले १६ अर्ब रुपियाँ विनियोजन गरेको छ । कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि भएको छ । प्रतिकर्मचारी मासिक १ हजार रुपियाँ भत्ता दिने व्यवस्था पनि बजेट गरेको छ ।
निजामति कर्मचारीको ५ लाख रुपियाँसम्मको बीमा गर्ने पनि बजेटमा उल्लेख छ ।

प्रतिक्रिया