बाजुरा जिल्लामा खाद्य संकटको संकेत

chamal-jajarkotबाजुरा, २० असार । बाजुरा जिल्लाको कोल्टी क्षेत्रका ११ गाविसमा खाद्य समस्या हुने भएको छ । खाद्य संस्थानमा माग अनुसारको चामल अभाव भएका कारण असारपछि खाद्य समस्या हुने भएको हो ।
कोल्टीमा मौजाद गरी राखिएको चामल सकिन लागेपछि समस्या हुने संकेत देखिएको खाद्य संस्थान शाखा कार्यालय कोल्टीका प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए । उनले समयमा चालम ल्याउन नसकिए समस्या हुने उल्लेख गरे ।
असारमै मौजाद चामल सकिने भएपछि सर्वसाधाणलाई फेरि खाद्यान्न अभावको मार खेप्न पर्ने भएको छ ।
खाद्यन्न कोटामा पनि कटौती गरेपछि यो वर्ष असारमै खाद्य संकट हुन लागेको सिंहले बताए । छ हजार पाँच सय क्विन्टल खाद्यान्न माग गरिए पनि कोल्टीमा चार हजार पाँच सय क्विन्टल खाद्यन्न मात्र आएको थियो ।
अढाई हजार क्विन्टल खाद्यान्न घटेर आएपछि असारमै खाद्य संकट भएको प्रमुख सिंहले बताए । ११ गाविसका जनतालाई खाद्यान्न उपलब्ध गराउँदै आएको शाखाले हाल हप्ताको दुई दिन एकजनालाई २० किलोका दरले वितरण गर्दै आएको छ ।

ठेकेदार हर्क शाहको लापरवाहीका कारण एकसय ५० क्विन्टल चामल ढुवानी नहुदा समस्या भएको सिंहले बताए । ठेकेदार शाहले वर्षभरि चामल ढुवानीमा लापरवाही गरेको सिंहले बताए ।
बाह्रै महिना खाद्यन्नको चामलमा भर पर्ने सर्वसाधारणलाई थप खाद्यन्न आपूर्ति नगरिए भोकमरीको मार खेप्नु पर्ने स्थानीय काशीराम थापाले बताए । खाद्य संस्थानले ६३ रुपियाँ १० पैसामा मोटा चामल ४० रुपियाँमा दिने गरेको छ । बजारमा एक किलो चामलको ७० रुपियाँ पर्छ ।

प्रतिक्रिया