ओलम्पिकमा नेपालको सहभागिता

काठमाडौ, १५ असार । इसापूर्व  ७७६ देखि सन् ३९६ सम्म प्राचीन ओलम्पिकको आयोजना भयो । त्यो समयमा खेल प्रतियोगिताभन्दा पनि बढी धार्मिक र साँस्कतिक महोत्सवको रूपमा रहेको थियो ।

खासमा यो ओलम्पिक ग्रीक देवता जेससलाई मान्नकै लागि ओलम्पियामा विभिन्न राज्यबीचमा महोत्सवको आयोजना भएको हो । हामीले बझ्ने गरेको ओलम्पिक खेल महोत्सवलाई आधुनिक ओलम्पिक पनि भन्ने गरिन्छ । यसको सुरुववात सन् १८९६ मा ग्रीसको एथेन्सबाट सुरु भयो । अन्तराष्ट्रिय ओलम्पिक कमिटीको निगरानीमा भएको पहिलो खेलकुद पानाथिनाइकोज रंगशालामा भएको थियो । त्यसै ओलम्पिककै समयमा दोस्रो ओलम्पिक खेलकुद पेरिसमा गर्ने निर्णय गरियो । एथेन्सले ओलम्पिक सधँै आयोजना गर्ने प्रस्ताव राखे पनि आइओसीले यसलाई अस्वीकार गरेको थियो । नेपालले भने सन् १९६४ को टोकियो भएको ओलम्पिकमा पहिलोपटक सहभागिता जनाएको थियो । ओलम्पिकको १८आँै सस्करणमा नेपालले दुई एथलेटिक्स र चार जना बक्सिङ खेलाडीलाई सहभागी गराएको थियो । हालसम्म ओलम्पिकमा ८५ नेपाली खेलाडीको सहभागिता भइसकेको छ । नेपालले अहिलेसम्म ओलम्पिकको मुख्य प्रतिस्पर्धामा कुनै पदक पाएको छैन । सन् १९८८ मा दक्षिण कोरियाको सियोलमा भएको ओलम्पिकमा भने प्रदर्शन खेलको रूपमा समावेश तेक्वान्दोमा नेपालका विधान लामाले कांश्य पदक जितेका थिए । नेपालले हालसम्म पौडी, एथलेटिक्स, बक्सिङ, सुटिङ, जुडो, तेक्वान्दो र भारोत्तलनमा सहभागिता जनाएको छ ।
नेपालले सबैभन्दा धेरै खेलाडीलाई सहभागिता गराएको सन् २००८ को बेइजिङ ओलम्पिकमा हो । यसै ओलम्पिकमा आठ नेपाली खेलाडी सहभागी गराइएका थिए । पछिल्लो ओलम्पिकमा नेपालका कुनै पनि खेलाडीले पहिलो चरण पनि पार गर्न सकेनन् । एथलेटिक्स, पौडी र सुटिङमा सहभागिता जनाएका नेपाली खेलाडीको प्रदर्शन अत्यन्त कमजोर रह्यो । एथलेटिक्समा पदक पाउने खेलाडीले भन्दा नेपाली
खेलाडीले लगभग २० प्रतिशत बढी समय लगाए । सुटिङमा पनि नेपालको प्रतिनिधित्व गरेका स्नेहा राज्य लक्ष्मी राणाले कमजोर प्रदर्शन नै गरिन् । नेपालले हालसम्म एथलेटिक्स र पौडीमा नै धेरै सहभागी गराउने गरेको छ ।
यसको कारण पनि आनो बुताले भन्दा पनि बढी आइओसीको हरेक राष्ट्रलाई सहभागी गराउने सोचअनुसार नेपालले सहजै सहभागिताको अवसर पाएको हो । एथलेटिक्स र पौडीमा प्रवेशको बाटो सहज रहेको छ भने त्यसपछि सहज  बाटो सुटिङकै रहेको छ । नेपालको अहिलेको अवस्था हेर्दा हरेक खेलमा अन्य राष्ट्रभन्दा धेरे तल रहेको छ । केही वर्ष अघिसम्म नेपालको राम्रो छवी भएको मार्सल आर्टमा पनि दिनदिनै स्तर गिर्दो छ । गिर्दो
अवस्थाले नेपाली मार्सल आर्ट पनि ओलम्पिकमा पदक दिलाउन सम्भव देखिँदैन । नेपाली खेलकुदको वर्तमान अवस्था, सरोकारवालाको खेलप्रतिको प्रतिबद्धता, मिहेनत र भौतिक संरचना सबै कुरालाई आधार मानेर हेर्दा नेपालले कुनै पनि दिन ओलम्पिक खेलकुदमा पदक जित्ने सम्भावना देखिँदैन ।
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राजनीतिक नियुक्तिकै आधारमा चलेको छ । राजनीतिक नियुक्ति हुने क्रममा खेलकुदमा कुनै जानकारी नभएको र व्यवस्थापकीय खुबी नभएका प्राय: परिषद्को नेतृत्वमा रहने गरका छन् । यसरी आउने नेतृत्वले पनि जिम्मेवारीप्रति सम्बदेनशील नहुनाले राजनीतिक नियुक्ति पाएर आएका खेल अधिकारीले नेपाली खेलकुदलाई अगाडि बढाउने सम्भावना देखिएको छैन ।

प्रतिक्रिया