नवराज र गुड्डी च्याम्पियन

काठमाडौं : एसबिआईका नवराज जोशी र नेपाल टेलिकमकी गुड्डी कार्की चौथो सार्वजनिक संस्थान ब्याडमिन्टन प्रतियोगिताको एकल स्पर्धामा बिहीबार पहिलो भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष एकल फाइनलमा नवराजले साविक विजेता नेपाल वायु सेवा निगमका जंगबहादुर चन्दलाई २२–२० र २१–१६ ले स्तब्ध पारे । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगिताको महिला एकल फाइनलमा गुड्डीले एनसेलकी ज्योति प्रधानलाई २१–१२ र २३–२१ को सोझो सेटमा पाखा गाइन् । पुरुष ४५ वर्षमाथिको भेट्रान्स डबल्समा नेपाल विद्युत् प्राधिकरणका राजु महर्जन र श्रीप्रसाद धिमालको जोडी च्याम्पियन बने । उक्त जोडीले निगमका नहकुलप्रसाद श्रेष्ठ र जंगबहादुर चन्दको जोडीलाई १५–२१, २१–१२ र २१–१४ को सेटमा निराश पारे ।
एक्सिक्युटिभ डबल्सको फाइनलमा टेलिकमका सुजितआनन्द मल्ल र विनय पोखरेलको जोडीले नेपाल राष्ट्र बैंकका शिवनाथ पाण्डे र रमन नेपालको जोडीलाई १७–२१, २१–१७ र २३–२१ ले पाखा लगाउँदै शीर्षस्थान हात पारे । मिक्स डबल्सको उपाधि एसबिआईका सृष्टि भट्ट र नवराज जोशीले हात पारे । उक्त जोडीले विद्युत्का अन्जु अधिकारी र राजु महर्जनको जोडीलाई २१–१५ र २१–१३ को सोझो सेटमा हराए । नेपाल बैंक लिमिटेडका मनोज बस्नेत र पूर्णवीर वज्राचार्यको जोडीले पुरुष डबल्समा बाजी मारे । फाइनलमा उक्त जोडीले विद्युत्का राजु महर्जन र उमेशकुमार भण्डारीको जोडीमाथि २१–१४, १५–२१ र २१–१३ को कठिन जित रचे । प्रतियोगितामा २ स्वर्ण र १ कांस्यका साथ एसबिआई शीर्षस्थानमा रह्यो । २ स्वर्ण जितेको टेलिकम दोश्रो भयो भने तेस्रो स्थानको विद्युत्ले १ स्वर्ण, २ रजत र ७ कांस्य हात पार्‍यो । चारदिने प्रतियोगितामा १ सय ६० पुरुष र २२ महिला गरी जम्मा १ सय ८२ प्रतिस्पर्धीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । (सौस)

प्रतिक्रिया