वैद्य पनि चुनावमा भाग लिनुहुन्छ : वामदेव

प्युठान, १४ असार । एमाले उपाध्यक्ष वामदेव गौतमले संविधानसभा दोस्रो चुनावले कुनै पनि मूल्य चुकाएर संविधान जारी गर्नुपर्ने बताएका छन् । एमाओवादी र मधेसवादी दलले एकल जातीय पहिचान र आत्मनिर्णयको अधिकारसहितको संघीयता चाहेकाले अघिल्लो संविधानसभाले संविधान बनाउन नसकेको उनले बताए ।

प्रेस चौतारी प्युठानले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले एमालेलाई चुनाव लागिसकेको बताए । ‘निर्वाचनमा बहुपहिचान र साझा संघीयतासहितको संविधान चाहनेसँग तालमेल गरेर अघि बढिन्छ’, उनले भने, ‘माओवादी अध्यक्ष मोहन वैद्य पनि चुनावमा भाग लिनुहुन्छ ।’
आफूसँग र पार्टी अध्यक्ष झलनाथ खनालसँग दिनहुँजसो प्रत्यक्ष वा फोनमा कुरा भइरहेको बताउँदै उनले भने, ‘वैद्य र पार्टी अध्यक्ष खनाल त नजिकको दोस्त हुनुहुन्छ ।’ आफन्तको निधनमा समवेदना दिन वैद्यको गाउँ खैरा पुगेका उपाध्यक्ष गौतमले भर्खर फुटेको पार्टी भएकाले क्रान्तिकारी कुरा गरे पनि अन्तत: वैद्य समूह चुनावमा जाने बताए ।
उनले चुनावमा भाग नलिने पार्टी समाप्त भएर जाने ठोकुवा गरे । राज्यले गर्ने चुनावमा जनता सहभागी हुने भन्दै उनले ८० प्रतिशत जनमत भएका राजनीतिक दल चुनावको पक्षमा रहेको बताए । चुनावमा नजाने दल जनविरोधी हुने उनको तर्क थियो ।
पार्टीले देशव्यापी रूपमा सञ्चालन गरेको एकमहिने अभियानका क्रममा प्युठानबाट आफूलाई चुनाव लड्ने निम्तो आएको खबरले खुसी भएको भन्दै उनले धन्यवाद पनि दिए । आफू चुनाव कहाँबाट लड्ने भन्ने निर्णय पार्टीले गर्ने बताए । प्युठानी जनताले नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादीलाई जिताए पनि जिल्लवासीले विकासको महसुस गर्न नसकेकाले यसपटक प्युठानमा एमालेलाई अवसर दिन उनले आग्रह गरे ।
पार्टीभित्रको गुटबन्दी र विवादको विषयमा पत्रकारले राखेको जिज्ञासामा एमाले उपाध्यक्ष गौतमले कम्युनिस्ट पार्टीभित्र विरोध हुनु स्वाभाविक भएको भन्दै फागुनभित्र महाधिवेशन गर्न पार्टी पंक्ति एकजुट भएको स्पष्ट पारे । उनले एक जनाले एमाले छोड्दा १० जना प्रवेश गर्ने गरेको जिकिरसमेत गरे ।

प्रतिक्रिया