गोल्डेनगेट क्लब चेस च्याम्पियन

winners-team-golden-gate-wiललितपुर, १३ असार । गोल्डेनगेट कलेजले मनमोहन स्मृति तेस्रो राष्ट्रिय टिम क्लब बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा गोल्डेनगेटले ललितपुर जिल्ला बुद्धिचाल संघलाई २.५–१.५ अंकले पराजित गर्‍यो । गोल्डेनगेटका एफएम सौरभ खेरदेकरले ललितपुरका बद्रिलाल नेपाली र मदनकृष्ण कायस्थले रविन्द्र शाक्यलाई हराए । सुरवीर लामाले सचिन मर्हजनसँग बराबरी गरे भने ललितपुरका रत्न व्यञ्जनकारले निरज निरौलालाई हराए ।

बत्तीसपुतली युवा क्लबलाई २.५–१.५ अंकले हराउँदै मच्छिन्द्र क्लब तेस्रो भयो । मच्छिन्द्रका श्याम श्रेष्ठले हिमाल लामा तथा राजन पुरीले प्रकाश नेपाललाई हराए । मच्छिन्द्रका विवके थिङ र प्रचण्ड मालाकारबीच बराबरी भयो । बत्तीसपुतलीका पुरुषोत्तम चौलागाईंले विजय डंगोललाई पराजित गरे । विजयी क्लब तथा खेलाडीलाई प्रमुख अतिथि भूतपूर्व उपप्रधानमन्त्री भरत मोहन अधिकारीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरे । विजेता टोलीले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले २० हजार र चौथोले १० हजार रुपियाँ नगद पुरस्कार पाए । यसैगरी प्रत्येक बोर्डमा उत्कृष्ट हुनेले जनही पाँच हजार रुपियाँ पुरस्कार पाए । पहिलो बोर्डमा मखनका पुन्यमान कमाचार्य, दोस्रोमा गोल्डेनगेटका सौरभ खेरदेकर, तेस्रोमा चेस बचतकोष भक्तपुरका प्रज्वलराज राजोपाध्याय र चौथोमा मध्यपुर चेस क्लबका उमेश सैंजु उत्कृष्ट खेलाडी भएका थिए । मनमोहन चेस एकडेमीको आयोजना तथा जिल्ला सहकारी संघ ललितपुरको सहप्रायोजन रहेको ६ दिने प्रतियोगितामा १७ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया