एथलेटिक्स टोली पुने जाँदै

काठमाडौं, १३  असार । भारतको पुनेमा हुने २०औँ एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छ ।

३ जुलाईदेखि ७ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा दुई–दुई
पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिलामा केशरी चौधरीले ट्रिपल जम्प र १ सय मिटर बाधा दौड (हर्डल्स) तथा दिलमाया कार्कीले २ सय र ४ सय मिटर दौडमा खेल्नेछन्् । केशरी आफूले प्रतिस्पर्धा गर्न लागेको दुवै स्पर्धाको कीर्तिमानधारी हुन् ।
पुरुषमा तिलकराम थारू र कल्याण बानियाँले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । तिलकले १ सय र २ सय मिटर दौड तथा कल्याणले १ हजार ५ सय र ५
हजार मिटर दौडमा भाग लिनेछन् । तिलकको नाममा २ सय मिटर दौडको कीर्तिमान छ । प्रशिक्षकमा राकेश बज्राचार्य छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले बिदाइ गरे । उक्त अवसरमा सदस्य–सचिव लामाले एथलेटिक्स संघमा समस्य रहेको बताउँदै विवाद टुंग्याउन छलफल चलिरहेको जानकारी दिए ।
‘एथलेटिक्स संघमा समस्या छ । एथलेटिक्सको विवाद टुंग्याउन व्यापक रूपमा छलफल भइरहेको छ,’ बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव लामाले
भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागिताका सम्बन्धमा परिषद् जहिले पनि सकारात्मक छ । खेलाडीले संघको विवादमा नभइ आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्नु पर्छ ।’

प्रतिक्रिया