बोर्ड बैठक नबस्दा योजना प्रभावित

dangदेउखुरी, १३ असार । लमही नगर विकास समितिको बोर्ड बैठक लामो समयसम्म बस्न सकेको छैन् । कम्तिमा दुई महीनामा एकपटक बोर्डको पूर्णबैठक बस्नुपर्ने प्राबधान भए पनि बैठक नबसेको ६ महिना भएको छ । गत ६ पुषमा बोर्ड बैठक बसेको थियो । ६ महिना यता समितिको पूर्णबैठक नबस्दा यस वर्ष कुनै पनि कामको टेन्डर हुन सकेको छैन् । अध्यक्ष रामलाल खनालले बैठक नबोलाउँदा बैठक बस्न नसकेको सम्बद्ध स्रोतले दाबी गरेको छ । खनाल अध्यक्ष भएर आएदेखि एकपटक मात्र बोर्ड बैठक बसेको छ ।

नयाँ टेन्डर गर्न नसकिँदा आर्थिक वर्ष २०६९/७० कालागी छुट्टीएको बजेट खर्च हुन सकेको छैन । यस वर्ष नयाँ नगर विस्तार क्षेत्रभित्र सडक कालोपत्रे गर्ने योजना थियो । त्यसका साथै व्यापारिक भवन निर्माण गर्ने योजना पनि बोर्ड बैठक नबस्दा टेन्डर हुन नसकेको कार्यालय स्रोतको भनाइ छ । ‘लामो समय भयो बोर्ड बैठक नबसेको,’ स्रोतले भन्यो, ‘जसले गर्दा विकास निर्माणका अधिकांश काम प्रभावित भएको छ ।’ नगर विकास समितिको अध्यक्ष भएर खनाल ०६९ असोज ८ गते कार्यालयमा आएका थिए । उनी आएपछि ६ पुषमा एकपटक बोर्ड बैठक बसेको थियो । बोर्ड बैठक राख्नुपर्ने माग राख्दै समितिको बोर्डमा प्रतिनिधित्व गर्ने विभिन्न दल सम्बद्ध पदाधीकारीहरूले निवेदन दर्तासमेत गरेका छन् । ‘नगर विकास समितिको बोर्डमा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रतिनिधिहरूले बोर्ड बैठकको माग राख्दै निवेदन दिएका छौँ,’ राष्ट्रिय जनमोर्चाबाट बोर्ड सदस्य भएका गंगाराम भट्टराइले भने, ‘हामीले दिएको निवेदन उपर कुनै सुनुवाइ भएको छैन ।’ समितिमा थरूहट पार्टी, मधेसी जनअधिकार फोमर नेपाल, नेकपा–मालेलगायतका पार्टी प्रतिनिधिले बोर्ड बैठकको माग राख्दै निवेदन दिएका छन् ।
यता नगर विकास समितिका सदस्य सचिव एवं भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र खतिवडाले जग्गा सट्टीपट्टीको काममा समितिका अध्यक्ष क्रियाशील भइरहेकाले बोर्ड बैठक बस्न नसकेको प्रतिक्रिया दिएका छन् । ‘नगर विकास समितिको नाममा बनको जग्गा ल्याउन सट्टीपट्टीको योजनामा लागेकाले फुर्सद नभएकाले बैठक बोलाउन नसकिएको हुन सक्छ,’ उनले भने, ‘भर्खर अध्यक्ष आउनुभएको छ । केही दिनमै बैठक बसाल्ने प्रयास हुन्छ ।’ नगर विकास समितिका अध्यक्ष रामलाल खनालले सदस्य सचिवसँगको छलफलपछि मात्र बोर्ड बैठक बसाल्ने प्रतिक्रिया दिए । ‘सदस्य सचिवसँगको छलफलपछि बैठक आह्वान गरिन्छ,’ उनले बताए ।

प्रतिक्रिया