विकास नभएकोमा स्थानीयको चिन्ता

राजविराज, १२ असार । मुलुकमै सबैभन्दा पुरानो नगरपालिकाको रूपमा रहेको राजविराज नगरपालिका विकास निर्माणलगायत अन्य पक्षमा पछि पर्दै गएको भन्दै नगरवासीले चिन्ता व्यक्त गरेका छन् । सञ्चार यत्रा नेपालद्वारा मंगलबार राजविराजमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
नगरपालिका सभाहलमै आयोजित सुनुवाइ कार्याक्रममा बोल्ने अधिकांश वक्ताले २०१६ सालमा नगरपालिका घोषणा भएको राजविराज नगरपालिका विकासको गतिमा पछि परेका कारण उल्टो गतिमा चलिरहेको आरोपसमेत लगाए । ‘अरू नगरपालिका स्तरवृद्धि गर्दैअघि जाने क्रममा छन्,’ सञ्चारकर्मी हेम शंकर सिंहले भने, ‘तर राजविराज नगरपालिका गाविस उन्मुख भइरहेको छ ।’
मुलुककै पुरानो मध्येको एक र भारतको प्रशिद्ध सहर जयपुरको नक्सामा आधारित नगरपालिका सरसफाइका क्षेत्रमा समेत सुधार हुन नसेको सिंहको आरोप छ । हरेक वर्ष केही न कही कार्यक्रमको आयोजना गरी नगरको विकासमा सक्रीय रहने प्रतिबद्धता गर्ने तर कार्यान्वय नगर्ने प्रक्रियाले राजविराज नगरपालिकापछि पर्दै गएको वक्ताले बताए । नगरपालिकापछि पर्नुमा कर्मचारी मात्रको दोस नभई समग्र नगरवासीको समेत कमजोरी रहेको भन्दै कार्यालयको काममा नगरवासीले समेत सहयोग गर्नु पर्नेमा उनीहरूले जोड दिएका छन् । ‘नगरपालिकाका स्विपर ७ बजे फोहर संकलनका लागि आउ“छन् । तर, ९ बजे नगरका सडकमा फोहोर फालिन्छ,’ स्थानीय शुभचन्द्र झाले भने, ‘यसमा कर्मचारीलाई मात्र दोष दिएर हुन्छ ?’
कार्यक्रमका अतिथि तथा मैथिल महासंघका अध्यक्ष विष्णु मण्डलले कर्मचारीहरूको रकमप्रतिको आशक्तिका कारण विकास निर्माण प्रक्रियापछि परेको आरोप लगाए । ‘ढल निकासमा भ्रष्टाचार गरेको मस“ग प्रमाण छ,’ मण्डलले दाबी गर्दै भने, ‘यसमा सुधार नआएसम्म नगरको विकास कसरी सम्भव छ ?’ कार्यालयले आफूले मात्र नसक्ने काममा नगरवासीको सहयोग माग गर्नु पर्ने मण्डलले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा कार्यकारी अधिकृत देवराज चौलागाईंले धेरैअघि देखिकोे समस्या एकैपटक समाधान गर्न असम्भव भए पनि आफू योजना बनाएरै प्रयासरत रहेको बताए । कार्यालयभित्र र कार्यालयबाहिर पनि काममा विभिन्न व्यवधान रहेको स्वीकार्दै उनले सोही कारण मुलुकका ५८ वटा नगरपालिकामध्ये राजविराज नगरपालिका सबैभन्दापछि परेको दाबीसमेत गरे ।

प्रतिक्रिया