चार विधाका मनोनयन सार्वजनिक

bikeकाठमाडौं, ११ असार । पल्सर स्पोर्ट्स अवार्ड २०६९ का लागि मंगलबार विभिन्न चार विधामा मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कुपण्डोलमा पत्रकार सम्मेलन गरी उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधामा मनोनयन सार्वजनिक गरेको हो ।
हरेक विधाको मनोनयनका पाँच जना प्रत्यासी छन् । पल्सर अवार्डमा आठ विधा समावेश छन् । चर्चित खेलाडीमा मनोनितको नाम यसअघि नै सार्वजनिक भइसकेको छ । बाँकी तीन विधा स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र उत्कृष्ट पारा एथलिटको घोषणा कार्यक्रमकै दिन गरिनेछ । कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विश्व खेलकुद पत्रकार दिवसका दिन असार १८ गते ९जुलाइ २० हुनेछ । उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका पारस र वसन्त रेग्मी, एथलेटिक्सका तिलकराम
थारु, फुटबलका भरत खवास तथा करातेका सुनील लामा मनोनयनमा परेका छन् । पारष चर्चित खेलाडी विधामा समेत मनोनयनमा छन् ।
महिलाको उत्कृष्टमा मनोनित हुनेमा करातेकी गंगादेवी अधिकारी, फुटबलकी अनु लामा र जमुना गुरुङ, उसुकी झरना गुरुङ तथा पौडीकी श्रेया धिताल छन् । झरना पपुलर विधामा पनि छिन् । त्यस्तै, पौडीका शिरीष गुरुङ, उसुकी चाहना बम्जन लामा, क्रिकेटका आकाश विष्ट, फुटबलकी निरू थापा र ब्याडमिन्टनका रन्तजित तामाङ उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका छन् । शिरीष पनि पपुलर विधामा छन् । उत्कृष्ट प्रशिक्षकको मनोनयन सूचीमा क्रिकेटका पुबुदु दासानायके, उसुका युवराज गुरुङ, करातेका अक्बर शाह, पौडीका वाङ्देन लामा र एथलेटिक्सका नरबहादुर शाही छन् । मञ्चका सचिव प्रकाश तिमल्सिनाको संयोजकत्वमा गठित ७ सदस्यीय खेलाडी छनोट समितिले मनोनयनमा परेका खेलाडीको छनोट गरेको हो ।
अवार्डका लागि खेलाडी मनोनयन गर्दा खेलाडीको प्रदर्शनका आधारमा प्राप्त सफलता, उपलब्धि र खेलाडीले भाग लिएको प्रतियोगिताको स्तरलाई छनोटको मुख्य आधार बनाइएको मञ्चले जनाएको छ । उत्कृष्ट पुरुष र महिला खेलाडी तथा लोकप्रिय खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले समान ५०–५० हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया