चेसमा सेमिफाइनल समीकरण पूरा

काठमाडौं, ११ असार । मनमोहन स्मृति तेस्रो राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको नकआउट समीकरण पूरा भएको छ । गोल्डेनगेट, बत्तीसपुतली युवा क्लब, ललितपुर जिल्ला बुद्धिचाल संघ र मच्छिन्द्र क्लब सेमिफाइनल पुगेका हुन् । सोमबार सम्पन्न छैटाँै चरणमा गोल्डेनगेटले गजुरमुखी चेस क्लबलाई २.५–१.५ ले पराजित गर्‍यो । गोल्डेनगेटको जितमा एफएम सौरभ खेरेदकरले कृष्ण थापालाई र निरज निरौलाले एफएम मनीष हमाललाई हराए भने मदनकृष्ण कायस्थ र एफएम विलमलाल श्रेष्ठ बराबरी भयो । तर, रूपेश जैसवाल आइएम दिनेश कुमार शर्मासँग हारे ।

अर्को खेलमा बत्तिस पुतलीले ख्वप्रिंग चेस क्लबलाई ३.५–०.५ ले पराजित गर्‍यो । जसमा ख्वपिंगको लिग भेट्रान गणेशमान दुवालले हिमाल लामासँत अंक बाडे भने बलराम नापित, निरन्जन प्रजापति र गणेश अवाल क्रमश: प्रकाश नेपाल, प्रचण्डमान मालाकार र पुरुषोत्तम चौलागाईंसँत हारे । ललितपुर र काठमाडौं चेस क्लबबीच २–२ को बराबरीमा लपुबाट बद्रिलाल नेपाली र सजिन महर्जनले जिते भने काठमाडौंको तर्फबाट नविन तण्डुकार र राजेन्द्र बज्राचार्यले जिते । यसैगरी मच्छिन्द्रले चेस बचत कोष भक्तपुरलाई ३–१ ले पराजित गर्‍यो । मछिन्द्रका लागि श्यामसुन्दर श्रेष्ठ, राजन पुरी र विजय डंगोलले जित निकाले भने बचतकोषको तर्फबाट प्रज्वलराज राजोपाध्याय मात्र विजयी रहे । स्विसलिग ६ चरणको समाप्तिमा गोल्डेनगेटको १२, बत्तीसपुतलीको नौ तथा ललितपुर र मच्छिन्द्रको समान ८ अंक रहको छ ।
सेमिफाइनलमा गोल्डेनगेटले मच्छिन्द्र तथा बत्तीसपुतलीले ललितपुरको सामना गर्नेछन् । पहिलो चरण सकिँदा पहिलो संस्करणको विजेता मखन चेस क्लब र साविक विजेता काठमाडौं चेस क्लब बाहिरिएका छन् । बोर्ड नम्बर एकमा मखनका पुन्यमान कर्माचार्य, दुईमा गोल्डेनगेटका सौरभ खेरदेकर, तीनमा चेस बचतकोष भक्तपुरका प्रज्वलराज राजोपाध्याय र चारमा मध्यपुर चेस क्लबका उमेस संैजु उत्कृष्ट खेलाडी घोषित भए । सेमिफाइनल प्रवेश गर्ने तीन टोली नेपाली चेसमा परचित शक्ति हुन् । यस वर्ष नयाँ संरचनामा देखिएको बत्तीसपुतलीले स्टारको रूपमा परिचति नभए पनि सकरात्मक ‘एटिच्चुड’ भएका हिमाल लामा, पुरुषोत्तम चौलागाईं र प्रकाश नेपाललाई टोलीमा आबद्ध गराएको थियो । साथै बत्तीसपुतलीको टोलीमा ओलम्पियाड खेलाडी प्रचण्डमान मालकार पनि अन्तिम समयमा समावेश थिए ।
मनमोहन मेमोरियल चेस एकडेमीको आयोजना तथा जिल्ला सहकारी संघ ललितपुरको सहप्रायोजनमा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया