यी हुन् पपुलरका दाबेदार

Pulsar-Sportsकाठमाडौं, १० असार । वर्षको लोकप्रिय खेलाडीको प्रतिस्पर्धामा छन् : क्रिकेटका पारस खड्का, फुटवलका जगजित श्रेष्ठ, उसुकी झरना गुरुङ, एथलेटिक्सकी केशरी चौधरी र युवा पौडीवाज शिरिष गुरुङ । वर्ष २०६९ मा व्यक्तिगत प्रदर्शन र सार्वजनिक चासोका आधारमा यी पाँच खेलाडी नेपाली खेलकुदमा छाएका छन् । फरक पृष्ठभूमि र खेलजीवनमा रमाइरहेका पाँच खेलाडीले सफलता र उपलव्धि मात्र ल्याएका छैनन्, खेलकुदको माध्यमबाट मुलुकलाई जोड्ने प्रयत्न गरेका छन् ।

एसएमएस भोटिङ र फेसबुकबाट गरिने मतका आधारमा चुनिने पाँच खेलाडीको विशेषता र उपलव्धि स्वभावत् फरक छ । क्रिकेटको अन्तराष्ट्रिय सफलता, फुटवलको घरेलु प्रसंग, मार्सल आर्टमा एसियाली स्तरको पदक, एथलेटिक्स र पौडीका कीर्तिमानी रेकर्डले उनीहरूलाई एउटै स्पर्धा अर्थात् लोकप्रिय वर्ष खेलाडीको मनोनयनमा ल्याइपुर्‍याएको हो ।
क्रिकेटको ऐतिहासिक सफलतासँग जोडिएको नाम हो–पारस खड्का । विश्व लिग क्रिकेट डिभिजन दुईमा पुग्दासम्म टोलीको कमानी सम्हालेका पारसलाई चर्चाको शिखरमा पुर्‍यायो । एसिसी ट्रफी र ट्वान्टी–ट्वान्टीमा म्यान अफ द सिरिज भएका उनी यो वर्षका सर्वाधिक सफल खेलाडी हुन् ।
घरेलु फुटवलप्रेमीको जिव्रोमा झुन्डिएको नाममध्ये एउटा हो, जगजित श्रेष्ठ । लगातार दुई वर्षदेखि राष्ट्रिय टोलीको जर्सीमा मिडफिल्डको भूमिका निर्वाह गरेका जगजित गत वर्ष लिगमा उत्कृष्ट बनेका थिए ।
उसुमा एसियाली स्तरको पदक प्राप्त गर्ने सफलताको श्रेय पाउनु खेलाडी झरना गुरुङ । भियतनाममा भएको आठौं एसियाली उसुमा कास्य पदक जितेकी पोखराकी झरनाले काठमाडौंमा क्वान च्याम्पियनसिपमा स्वर्ण पदक जितिन् । भियतनामबाट भित्र्याएको कास्य पदक नेपाली मार्सल आर्टको ठूलो उपलव्धि हो ।
नेपाली पुलिसकी केशरी चौधरीको नाममा हाइजम्प, लङजम्प, ट्रिपल जम्प र सय मिटर हडल्सको चार वटा कीर्तिमान छ ।
युवा पौडीवाज शिरिष गुरुङलाई वर्ष २०६९ ले स्वर्ण पदक नै दिलायो, त्यसबाहेक राष्ट्रिय कीर्तिमानको सूचि पनि लामै छ । राष्ट्रिय पौडीमा उनले स्वर्ण पदक जिते । शिरिषको नाममा ६ वटा राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।

प्रतिक्रिया