सुनचादी कारोबार सुचारु

goldकाठमाडौ : आइतबारदेखि सुन चाँदीको कारोबार सुचारु भएको छ । ११ दिनपछि खुलेको बजारमा सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य तोलामा ५० हजार ५ सय र तेजाबी सुनको मूल्य ५० हजार २ सय ५० रुपियाँ तोकेको छ । व्यवसायी आन्दोलनमा उत्रनु अघि गत २८ जेठमा छापावाला सुनतोलाको ५३ हजार रुपियाँमा कारोबार भएको थियो ।

आइतबार बजारमा चाँदीको मूल्य पनि तोलामा ५० रुपियाँ घटेर ८ सय २४ रुपियाँमा कारोबार भयो । बजार बन्द हुनुअघि यसको मूल्य प्रतितोला ८ सय ७४ रुपियाँ रहेको थियो । विभिन्न मागहरू राखेर आन्दोलनमा उत्रिएका सुनचाँदी व्यवसायीले दरभाउसमेत तोकेका थिएनन् । सरकारले निर्देशिकाबिना सुनचाँदी पसलको अनुगमन गर्दै व्यवसायीलाई कारबाही सुरु गरेको भन्दै व्यवसायीहरू आन्दोलित भएका थिए । वाणिज्य विभागले सुनचाँदी पसल अनुगमनको क्रममा दोषी भेटिएका तीन सुनचाँदी पसलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको थियो ।
सरकारले व्यवसायीका मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएपछि मुलुकभरका सुनचाँदी पसल आइतबारदेखि खुलेका हुन् । सरकार र व्यवसायीबीच शुक्रबार नै तीनबँुदे सहमति भएपछि व्यवसायीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । सहमतिअनुसार दुई व्यवसायी महासंघका प्रतिनिधिलाई राखेर सरकारले सुनचाँदी कारोबार तथा अनुगमन निर्देशिका बनाउन कार्यदल गठन गरेको छ । सरकारले मुद्दा चलाउन लागेका दोषी व्यवसायीलाई समेत कारबाही नगर्ने सहमति गरेको व्यवसायीले बताएका छन् । व्यवसायीका माग पूरा गर्न नेपाल उद्योग वाणिज्य महासंघले पनि सरकारलाई दबाब दिएको थियो । आइतबारदेखि मुलुकभरका करिब १५ हजार सुनचाँदी पसल खुलेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।

प्रतिक्रिया