समावेशी चेली

Tarunisसन् १९५३ को मे २९ । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सर्वोच्च शिखर सगरमाथाको पहिलोचोटि आरोहण गरे । मानवसभ्यतालाई एउटा नवीन सफलताको स्वाद चखाए, नयाँ युगमा प्रवेश गराए । त्यसअघि यो संसारको सबैभन्दा माथिल्लो उचाइमा मानिसले पाइला टेक्न सकेका थिएनन् । यसपछिका ६ दशकमा अब त सगरमाथा आरोहण सामान्यजस्तै हुन थालेको छ । गाउँको कुनै दूर कन्दराको मान्छे काठमाडौं सहर घुम्न गएजस्तो । सगरमाथाको टुप्पोमा पुग्नुभित्रका भयंकर पाटाहरू अब पहिलेजति त्रासद छैनन् । सगरमाथा पुग्नुभन्दा पनि आरोहीका व्यक्तित्व, शैली र समय चर्चाका विषय बन्न थालेका छन् ।

कनै दिन जुनको तावेइ सगरमाथा शिखरमा पुग्दा संसारभरका महिलाले गर्व गरेका थिए । ‘हामी पुरुषभन्दा के कम ?,’ गर्वको विषय बनेको थियो । तर, अहिले महिलाले सगरमाथा आरोहण गरेका किस्सा पनि सामान्य बन्न थालिसके ।
सगरमाथा चुचुरो छुने सैयाँै नारी अनुहारमध्ये सात नेपाली चेलीको कथा भने अलि फरक छ । यो समूहका लागि सगरमाथामा पाइला टेक्नु साहसिक लक्ष्यप्राप्तिको अन्तिम विन्दु नभएर, सुरुआत मात्र थियो । कारण– उनीहरूले सुरुआत नै सगरमाथाबाट गरेका थिए ।
२०६४ को अन्त्यतिर संविधानसभाको निर्वाचन हुँदै थियो । जताततै चर्चामा थियो, ‘समानुपातिक’ शब्द । निर्वाचनका मुख्य मुद्दा र नारामध्ये एउटा यही थियो । सो समयमा ‘समानुपातिक’ विषय उठाएर निर्वाचनमा गएका राजनीतिक दलहरू व्यावहारका हिसाबले आधा दशकपछि पनि जहाँको तहीँ छन् । तर, यी चेलीको कथा उनीहरूभन्दा नितान्त भिन्न छ ।
‘समानुपातिक’ को नारासँगै निकै चर्चामा आए यी दश महिला पनि । ‘समानुपातिक महिला आरोही’ का नामबाट चिनिएको त्यो समूह अहिले अलिकति चोइटिएको छ । १० बाट सातमा झरेको छ । तर, यी चेलीहरूको साहसिक जीवनयात्रा थुप्रैका लागि प्रेरणास्रोत भने बनेको छ ।
उनीहरूले तय गरेको सफलतायात्राको सबैभन्दा उल्लेखनीय पाटो भनेको उनीहरूको एकताको बलियो गाँठो नै हो । एकताकै बलमा त्यसपछि पनि उनीहरू अन्य सबै लक्ष्यप्राप्तिमा अघि बढ्दैे छन् । ‘स्वाभाविक रूपमा कहिले खटपट हुन्छ । तर, हामी यो कुरा बाहिर नल्याईकन तत्कालै समाधान निकाल्छौँ,’ अस्वाभाविक एकताको रहस्य खोल्दै पूजन आचार्य भन्छिन् । पूजनसहित माया गुरुङ, शैली बस्नेत, चुनु श्रेष्ठ, निमडोमा शेर्पा र पेमा छिमी शेर्पाको सातसदस्यीय समूह अहिले सात महादेशका सातवटै उच्च शिखरमा पुग्ने अभियानमा छ । जसका लागि उनीहरू उत्तर अमेरिका, दक्षिण अमेरिका र अन्टार्कटिका यात्राको तयारीमा व्यस्त छन् । यसअघि उनीहरूले अस्ट्रेलियाको कोजी अस्कोज, रुसको एल्ब्रुज र दक्षिण अफ्रिकी हिमाल माउन्ट किलिमान्जारोको आरोहण गरिसके ।
उनीहरूको यात्राका केही विशेषता पनि छन् । उनीहरू यात्रा मात्र गर्दैनन्, यात्रापछि केही सामाजिक कार्यमा पनि आफूलाई व्यस्त राख्छन् । किलिमान्जारो आरोहणपछि दक्षिण अफ्रिकाकै थुप्रै स्कुलको भ्रमण गरेका थिए । किलमान्जारो ५८९५ मिटर उचाइको छ तर, ‘फेलरेट’ सगरमाथाको भन्दा पनि बढी । तर, उनीहरू डराएनन् । आरोहणमा तान्जानियाको विश्वखाद्य संगठनसँग पनि उनीहरूको सहकार्य बन्यो । आरोहणको प्रमुख पाटोका रूपमा दक्षिण अफ्रिकाकी एक चर्चित नायिका उनीहरूका साथ थिइन् ।
यसै दौरान उनीहरू दक्षिण अफ्रिकी खाद्य संगठनको सद्भावनादूत पनि भए । सेभेन समिट अभियान संसारका ३ सयदेखि ३ सय ५० को हाराहारीमा पूरा गरे, जसमा ५० जना महिला छन् । उनीहरू अहिले यसै अभियानमार्फत पहिलो नेपाली हुने तरखरमा छन् । यो ६ वर्ष लामो यात्राको सार समात्दै उनीहरू एउटै कुरा पुष्टि गर्न चाहन्छन्– ‘आफ्नै मेहनतले समाजमा धेरै कुरा गर्न सकिन्छ ।’ यसबीच उनीहरू एभरेस्ट ओमन ट्रेक्स एन्ड एक्सपिडिसन गठन गरेर अघि बढिरहेछन् ।
यो अवधिमा उनीहरूले जे गरे सबै आफ्नै मेहनतले गरे । मुख्य कुरा त समावेशीका नाममा उनीहरूको अभियान सुरु हँुदा देशमा चलिरहेको संविधानसभामा यही नै सबैभन्दा ठूलो मुद्दा थियो । तर, त्यसपछि देशको राजनीतिमा यो मुद्दा अलपत्र छ । तर, ६ फरक जातिका सात नारीव्यक्तित्वसहितको यो समूहले धेरै लामो यात्रा पार गरिसक्यो । सायद नेपाली राजनीतिकर्मीका लागि यो ठूलै पाठ हो ।
उमेरमा विविधता छ । ३३ वर्षीया माया गुरुङ सबैभन्दा जेठी । पूजन पनि पाकैमा पर्छिन्, २८ वर्षकी । २३ वर्षकी निमडोमा । शैली, चुनु, पेमाडिकी र आशाकुमारी पनि यसैबीचको उमेरका ।
उमेरको विविधता त छँदै छ, यस क्षेत्रमा आउनुअघिको पृष्ठभूमि पनि सबैको फरक । सञ्चारकर्मीदेखि बलिङ प्रशिक्षकसम्म । तर, यो कुनै पनि भिन्नताले उनीहरूलाई प्रभाव पारेन । समूहकी प्रभावकारी सदस्य पूजन अरूभन्दा अलि प्रस्ट छिन्, नेतृत्वक्षमता भएकी । त्यस कारण भिन्न अभियानमा पनि संलग्न छ्नि । स्की संघमा रहेकी उनी पर्यटकीय खेलकुदको गतविधिमा पनि आबद्ध छिन् ।
पारिवारिक पृष्ठभूमि फरक । बाबु गोविन्द उपाध्याय सामान्य जागिरे । त्यति साह्रो पहँुचवाला परिवार पनि होइन । ६ वर्षअघिसम्म चरिकोटमै जागिरे जिन्दगी बिताएकी उनी एकाएक सेलेब्रिटी बन्दै छिन् । व्यस्त र फरक खालकी महिला । स्की प्रशिक्षक, स्काइ डाइभर, अनि सगरमाथा आरोही । यतिले मात्रै चित्त बुझेको छैन उनको । सेभेन समिटको यो अभियानलाई सार्थक बनाएरै छोड्ने ध्याउन्नमा छिन् । त्यसपछि पनि अझै पृथक् काम गर्ने सोचले अघि बढिरहेका उनका पाइलाको हरेक गति तीव्र छन् । त्यसै गतिका कारण दोलखाको विकट पहाडी गाउँ गौरीशंकरकी यी युवतीले ६ वर्षमै लामो यात्रा तय गरिन्, सहृदयी समानुपातिक समूहका साथ ।

प्रतिक्रिया