ओसिस र स्काइलार्कलाई बास्केटबल लिग उपाधि

काठमाडौं, ९ असार । ओसिस र द स्काइलार्क स्कुलले प्रथम अन्तरस्कुल ‘होम एन्ड अवे’ लिग बास्केटबलको उपाधि जितेका छन् । ओसिस ब्वाइज र स्काइलार्क गल्र्समा च्याम्पियन बने ।

डबल राउन्ड रविन लिगका आधारमा भएको प्रतियोगिताअन्तर्गत ब्वाइजमा ओसिस १६ अंकसाथ शीर्ष स्थानमा रह्यो । स्काइलार्क १० अंकमा दोस्रो भयो भने उत्तिनै अंक जोडेको द एक्सेल्सियर स्कुलले तेस्रो स्थानमा चित्त बुझायो । एक्सेल्सियर स्कोरअन्तरका आधारमा पछि पर्‍यो । द चाँदबाग स्कुलले ४ अंक बटुल्यो ।
नेपा स्पोर्ट्स ग्रुपद्वारा आयोजित प्रतियोगिताको गल्र्समा १२ अंकसहित स्काइलार्क पहिलो भएको हो । १२ अंकनै जोडेको चाँदबाग स्कोरअन्तरका आधारमा दोस्रोमा सीमित हुन पुग्यो । ओसिस १० अंकसाथ तेस्रोमा रह्यो ।
ब्वाइजमा ओसिसका सन्तोष पुन र गल्र्समा स्काइलार्ककी शिला खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । एक्सेल्सियरको ब्वाइज टिमले अनुशासित टिमको उपाधि हात पार्‍यो । गल्र्समा एभरेष्ट स्कुल, भक्तपुर ‘मोस्ट कन्सिसटेन्ट टिम’ ठहरियो ।
वैशाख २१ गतेदेखि सुरु भएको प्रतियोगितामा ब्वाइज र गल्र्स दुवैमा समान ५–५ टिम सहभागी थिए । दुवै समूहमा ओसिस, स्काइलार्क, चाँदबाग, एभरेष्ट र एक्सेल्सियरले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिमले घरेलु र प्रतिद्वन्द्वीको कोर्टमा खेल्नुपर्ने प्रावधान थियो । शनिबार र सार्वजनिक बिदाका दिन मात्र खेल खेलाइएको थियो । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा, एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतलगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरे ।
समापनअघि लिगमा सहभागीमध्ये उत्कृष्ट खेलाडी छनोट गरी ब्वाइज र गल्र्सको दुई–दुई टिम बनाएर प्रतिस्पर्धा गराइएको थियो । टिमलाई अल स्टार ‘ए’ र ‘बी’ नाम दिइएको थियो । ब्वाइजमा अलस्टार ‘ए’ ले ‘बी’ लाई १८–१६ र गल्र्समा अलस्टार ‘बी’ले ‘ए’लाई १४–१२ ले हराए । गल्र्समा चाँदबागकी सुनिता गुरुङ र ब्वाइजमा एक्सेल्सियरका विकी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । नेपा स्पोर्ट्स ग्रुप २०६९ सालमा गठन भएको हो । गठन पश्चात ग्रुपको यो पहिलो कार्यक्रम भएको अध्यक्ष प्रेमसुन्दर होनाले बताए ।

प्रतिक्रिया