दैवी प्रकोप पीडितलाई सहयोग गरौँ

यदि अपवादलाई छाड्ने हो भने मानिस सामान्यतया धार्मिक प्रकृतिको जीवात्मा हो । उसलाई आस्था, धर्म, ईश्वर, मान्यता र विश्वासहरूले घेरिरहेका हुन्छन् । थप उसलाई ऊ बाँचिरहेको समाज र परिस्थितिले पनि उत्तिकै प्रभावित पारिरहेका हुन्छन् । यसले गर्दा ऊ यो लोकको जीवनमात्र होइन, बरु परलोकमा पनि राम्ररी र सुविस्ताका साथ बस्न पाइयोस् भन्ने सोचका साथ व्रत बस्ने, अनेक कर्मकाण्ड गर्ने र तीर्थाटन गर्ने मनोवृत्तिमा प्रवृत्त हुन्छ ।
पछिल्ला धेरै वर्षहरूदेखि जस्तै योपटक पनि सयौँको सँख्यामा नेपालीहरू आध्यात्मिक मनोरथ पूरा गर्न भारतका तीर्थस्थल घुम्न गएका थिए । घरपरिवारलाई खुसी पारेर र आफन्जनलाई विश्वासमा लिएर उनीहरू धर्मको डालो भर्न त्यतातिर हान्निएका थिए । तर, यसपटक सायद प्रकृतिलाई यो सबै कुरा स्वीकार्य थिएन । त्यसैले गर्दा अनपेक्षित रूपमा वर्षा भयो र अकल्पनीय बाढीले आबालवृद्धबनिता धेरैको ज्यान लियो । खासगरी भारतको उत्तराखण्ड, बद्रीनाथ, केदारनाथ आदि ठाउँमा अनायास आएको बाढीले थुप्रैको ज्यान लियो । त्यहाँ मात्र होइन, दार्चुलालगायत धेरै जिल्लामा बाढीले हुर्मतै लियो । ल, यो सबै मानी लिउँ एक हदसम्म प्राकृतिक प्रकोप हो । तर मूल कुरा के हो भने यसरी प्राकृतिक प्रकोपमा जो परे उनीहरू त आखिर निर्दोष ज्यान न हुन् । जसले ज्यान गुमाए उनीहरू आध्यात्मिक हिसाबले ‘भगवानका सच्चा भक्त’ हुन पुग्लान्, तर ती जो विस्थापित भएका छन् र बाढीमा सबै कुरा गुमाएर खाना, माना र नानाबाट समेत वञ्चित हुन पुगेका छन्, उनीहरू कसले हेर्नुपर्ने हो ? यो विषयमा राज्य, जनता वा छिमेकी मुलुकमध्ये कसको प्रमुख चासो हुनुपर्ने हो ? किनभने छिमेकी मुलुकमा तीर्थाटन गर्न गएपछि त्यहाँ जेजस्ता अवस्था उत्पन्न हुन्छन् त्यसको जिम्मेवारी त्यही सम्ब न्धित मुलुकले लिनुपर्ने हुन्छ ।
नेपालबाट तीर्थाटनका लागि भारत गएका सयौं मानिस बाढीको चपेटामा परेको खबर सार्वजनिक भएको छ । कतिजना मृत्युको अकाल गाँस बनिसकेका छन् तर ती जो बाँच्न सकेका छन्, उनीहरूलाई जीवनका सबै अवसर उपलब्ध गराउनु पर्दछ । यसका लागि सरकारले आफ्नो तर्फबाट लागेपुगेसम्म सबै प्रयास गर्नुपर्ने पक्ष त एकातिर छँदैछ, आमजनसमुदायले पनि दैवीप्रकोप पीडित तीर्थालुजनप्रति सहानुभूतिपूर्वक सहायताको हात बढाउनु त्यत्तिकै आवश्यक छ । अब, के कति कारणले बाढी पहिरो गयो, महाकालीमा किन यसरी उर्लेर बाढी आयो, किन यसरी त्यस क्षेत्रको भौगोलिक नक्शा नै बदलिन पुग्यो भन्ने यावत सवाल हाललाई तपसिलका कुरा हुन पुगेका छन् । धौलीगंगाको बाँध खोलेर अथवा बन्द गरेर महाकालीमा बाढी आयो भन्ने कुरा अहिलेलाई ठूलो कुरा रहेन । अहिलेको मूल आवश्यकता तीर्थाटनमा गएर दैवीप्रकोपको पीडा खप्न बाध्य भएकोहरूको उद्धार गर्नु हो । उनीहरूलाई के कसरी फेरि एकपटक आफ्ना आफन्तजनसमक्ष पुर्‍याउने हो भन्ने चुनौती हो ।
यथार्थ हो, अहिलेसम्म कतिपय तीर्थालुहरू सम्पर्कमा आउन सकेका छन् र कतिपय अझै सायद आउन सकेका छैनन् । उनीहरूको उद्धारका लागि यथाशक्य स्थानीय जनसमुदाय, नभए स्थानीय प्रशासन र त्यसले पनि नपुगे केन्द्रीय सरकार नै भए पनि अगाडि आउन पर्छ । बर्सेनि सयौँको संख्यामा नेपाली तीर्थालुहरू भारतस्थित तीर्थस्थल जाने गर्छन् भने भारतकै पनि अनेक श्रद्धालु नेपाल आउने गर्छन् । यस्तोमा सम्बन्धित सरकारहरूले आफ्ना नागरिकको सम्बन्धमा चासो लिनु सर्वथा उपयुक्त हुन्छ । आखिर तीर्थालुले अन्य सबै व्यवस्था त आफैले मिलाएका हुन्छन् तर दैवी प्रकोपजस्तो विपत्तिसित उनीहरू कसरी भिड्ने ? यसतर्फ सम्बन्धित सबैले सोचेर समयमै पीडितहरूलाई सहयोग गर्नु नै समयको माग हो । र, उपयुक्त विकल्य पनि हो ।

प्रतिक्रिया