भ्यागुतोउफ्राइ कहिलेसम्म ?

Ram-g-Balamiलामो समयको धैर्यधारणपछि अन्तत: संविधानसभाको दोश्रो निर्वाचनका लागि आगामी मंसिर ४ गतेलाई मिति तोकिएको छ । असार पहिलो सातामै गर्ने भनिएको निर्वाचन आगामी मंसिरसम्मका लागि सरेको हो । तर, अझै पनि निर्धक्कसाथ भोट हाल्न पाइन्छ भनेर ढुक्क हुने अवस्था सिर्जना भएको छैन । तेत्तीसकोटि दललाई सिपाही बनाएर बेसुरको आन्दोलन घिसारिरहेको वैद्यखलक माओवादी निर्वाचन कुनै हालतमा गर्न नदिने उद्घोष गर्दै छन् । एकातिर माउपार्टीसँग नाता गाँस्ने सुरसारमा देखिएका छन् भने अर्कोतिर हतियार उठाउनेसम्मको बेवकुफ चेतावनी दिइरहेका छन् ।

राजनीतिक दलहरू सधँै आगामी चुनावका लागि तत्पर हुन्छन् भन्ने विश्वव्यापी मान्यता छ । निर्वाचनदेखि त्यस्ता राजनीतिक दलहरू थर्थर काम्छन् जो जनताबाट अपहेलित र तिरस्कृत छन् । जनताको नाममा जनतालाई नै आक्रान्त पार्ने पार्टीहरू जनताको तारो बन्छन् । यस्ता पार्टी निर्वाचनमा नराम्रोसँग पल्टेर तीन बल्ड्याङ खान्छन् । यस कारण उनीहरू चुनाव भनेपछि निहुरीमुन्टी ‘न’ बन्दै लहरो/पहरो तन्काएर चुनाव भाँड्ने कोसिस गर्छन् । यो प्रवृत्ति नेपाली राजनीतिमा मात्रै होइन विश्व जगत्मै देखिन्छ । अत: यो एउटा राजनीतिक नीति नै बनेको छ । आफ्नो पक्षमा नतिजा आउने सम्भावना देखिए निर्वाचनका लागि मरिहत्ते गर्नु र प्रतिकूूल देखिए नानाभाँती नाटक रच्नु कुनै आइतबारे कुरो होइन ।
हुन त राजनीतिलाई त्यसै फोहोरी खेल भनेका होइनन् । केही अपवादबाहेक राजनीतिलाई कर्मसावित बनाउनेभन्दा कमाउसावित बनाउने हाबी देखिन्छन् । जसले गर्दा राजनीतिले न निश्चित दिशा पक्रन सकेको छ न त सिद्धान्त नै । मपााइत्व, स्वार्थ, सत्ता, प्रत्यारोप, षड्यन्त्रजस्ता गुणहरूले नै राजनीति भरिभराउन बनेको छ । जसले गर्दा दश वर्षे युद्धको चपेटाबाट आक्रान्त मुलुकमा आर्थिक क्रान्तिको नारा घोक्दै महल ठड्याउने दाउमा मस्तराम देखिएका छन् । समयको माग र परिस्थिति अनुकूलभन्दा पनि दलगत र व्यक्तिगत स्वार्थका लागि राजनीति गर्ने ‘फेसन’ चलेको छ ।
पछिल्लो समय डाक्टर माओवादीबाट चोइटिएको वैद्य माओवादी जंगली झारफुकको घुर्की लगाउँदै छन् । नेपाली जनता अब त्यति धेरै अबुझ र लाटा छैनन् भन्ने कुरा बुझेर पनि अनायास नाटक मञ्चज गरिरहेका छन् । गत आइतबार ४२ दलद्वारा घोषित भनिएको बन्द कार्यक्रममा सहभागी संख्या र जाँडे प्रवृत्तिले वास्तविकता उदांगो पारिदिएको छ । लाज पचेकाले नांगै हिँड्यो भन्दैमा अरू पनि उसका पछि डौडिनुजस्तो मूर्खता अरू केही हुन्न भन्ने कुरा बुझेर पनि बुझपचाउनेलाई भने ‘यसरी पिछा नलाग्दा राम्रो’ सम्म भन्न सकिन्छ बाटो छेक्न सकिन्न । किनकि नेपाली राजनीतिमा आन्दोलनको नेतृत्वले ‘युज एन्ड थ्रो’ गर्ने गरेको सबैलाई सर्वविदितै छ ।
खिलराज रेग्मीको नियुक्तिदेखि नै आन्दोलनमा होमिएका दल यतिखेर संघर्षको ज्वालामा थप पेट्रोल छर्कने बताइरहेका छन् । यसरी एकोहोरो आन्दोलनको यात्रामा लागेका ४२ दलसँग ठोस स्पष्ट कारण भने छैन । सरकारलाई राष्ट्रघातीको आरोप लगाउँदैमा सत्यसावित हँुदैन । कुनै कुरा गर्नुपूर्व त्यसलाई प्रमाणित गर्ने प्रशस्त आधार हुनुपर्छ । आफू प्रतिकूल हुँदैमा आरोप लगाएर आन्दोलनमा होमिनुभनेको स्वार्थ प्राप्तिका लागि निहुनिकाल्नु हो, जसलाई न जनताले समर्थन गर्छन् न त विपक्षीले नै । राजनीतिक यात्रामा सच्चापनको एक अंश पनि नलिई आफू अनुकूल हुँदा आँखा छोपेर सही गर्ने, प्रतिकूल हुँदा भएभरको बल निकालेर कुर्लुनेहरूलाई नेता भन्न सुहाउँदैन । यो त केवल कात्तिकमा बँैस चढेको कुकुरको भुकाइजस्तो मात्रै हुन्छ ।
संविधानसभा विघटन भएको एक वर्ष नाघिसक्दा तोकिएको मिति विरुद्ध कुर्लनुपर्ने कुनै कारण छैन । अहिलेको परिस्थितिको माग भनेको निर्वाचन मात्रै हो । यसको कुनै विकल्प छैन । समय लम्ब्याउनकै लागि निहँु राखेर विकल्पहरू दर्शाए पनि त्यो केवल फोस्रा/देखावटीपन मात्रै हुन् । मुुलुकलाई अगाडि बढाउने र स्वच्छ राजनीति गर्ने हो भने मुलुकमा जतिसक्दो चाँडो निर्वाचन सम्पन्न गरेर नयाँ दिशातर्फ लाग्नुपर्छ । परिस्थितिलाई कुल्चेर मनपरी यात्रामा लाग्नेहरू एकदिन थाकेर उही मार्गमा फर्कने छन् । तर, त्यतिबेला समय निकै घर्किसकेको हुनेछ । त्यसैले कहीँकतैको पाइला चाल्नुपूर्व गन्तव्य पहिचान गर्न सक्नुपर्छ । सही गन्तव्य पहिचान गरी यात्रा गरे मात्रै उद्देश्य पूरा हुन्छ अन्यथा पछुटाउनुको विकल्प रहन्न । अहिले आन्दोलनरत दलहरूले यो कुरा बुझ्न जरुरी छ ।
केही दल बेकामको आन्दोलनमा हाम फलिरहँदा प्रमुख भनिएका एनेकपा माओवादी, एमाले, नेपाली कांग्रेस र मधेसी दलबीच समेत न्यानो सम्बन्ध देखिँदैन । सबै दलका नेता भान र स्वाङ पार्ने नियतले प्रचारबाजीमा लागेका देखिन्छन् । यतिबेला चुनावको सरगर्मी बढ्नुपर्नेमा शंकाको वरिपरि डुलिरहेका छन् । अब पनि एकअर्काेलाई दोषारोपण गरेर बस्ने हो भने मंसिरमा निर्वाचन हुँदैन भनेर कसम खाँदा फरक पर्दैन । आन्दोलरत दलहरूलाई सकेसम्म सम्झाएर नभए झिनो औँला बंग्याएरै भए पनि निर्वाचनमा लाग्नुपर्छ । सोझो औँलाले घ्यू नआए औँला बंग्याउन पनि जान्नुपर्छ । सही सत्य कुरालाई पेल्दा पो ज्वालामुखी रूप लिन्छ झुट कुरालाई पेल्दा जनताको साथ मिल्छ । अहिलेको अवस्थामा आन्दोलनमा लाग्नु भनेको कात्तिकमा बिहेबाजा बजाएर डुल्नुजस्तै हो ।
असारे मौसममा भ्यागुताहरू रमाएर कराउँछन् तर पानी नपर्दा बेतालले उफ्रिँदै जताजतै डुल्छन् । यतिखेर आन्दोलनरत दलहरू पनि मौका नमिलेर निर्वाचनमा हारिएला भन्ने भयले आक्रान्त बनेर निर्वाचन नै नगराउने धुनमा लागेका हुन भन्न गाह्रो पर्दैन । तर, यो सच्चा र राष्ट्रवादी राजनीतिभित्र पर्दैन । यो इतिहासले धिक्कार्ने र जनताबाट सदाका लागि तिरस्कृत हुने दाउ सिवाय केही पनि होइन । आन्दोलनरत दलहरू कुनै पनि हालतमा चुक्ने सम्भावना देखिँदैन । त्यसकारण ठूला दलहरूले निर्वाचनमा जानका लागि उनीहरूसँग सहमति गरेर अघि बढ्नुपर्छ । अन्यथा निर्वाचन वातावरणमा जे पनि हुन सक्ने सम्भावना देखिन्छ । यसका लागि ठूला भनिएका दलहरूबीच आपसी मेलमिलाप हुनुपर्छ । सहकार्य, सहमति र सकारात्मक कोणबाट अगाडि बढ्नुपर्छ ।
यहाँ ठूला शक्तिलाई टाउकोमा राखेर अन्य दललाई कुल्चिन खोजेको होइन । ठूला दल मात्रै सर्वेसर्वा होइनन् । साना दलको भूमिका र महत्त्व पनि उत्तिकै छ । ठूला भनिएका ३/४ दल मात्रै मिल्दैमा संविधान बन्ने पनि होइन, ठूला दलले मात्रै गरेको निर्णय सर्वमान्य हुने पनि होइन । साना दललाई जसरी पनि पेलेरै जाने भन्ने मानसिकता उनीहरूले कदापी लिनुहुँदैन । अहिलेको आवश्यकता भनेको संविधानसभाको निर्वाचन मात्रै होइन, संविधान दिन सक्नेखालको निर्वाचन हुनुपर्छ । पहिलो संविधानसभा चार वर्षसम्म नानाथरी बाधा अवरोध झेलेर अवशान भयो । अबको संविधानसभाले पनि संविधान दिने कुनै ग्यारेन्टी छैन । यति र उतिपटक भन्दै संविधानसभाको निर्वाचनमा भाग लिन पर्‍यो भने योभन्दा बेवकुफ अरू हुनै सक्दैन ।
पहिलोपटकको निर्वाचनमा सबै दल मिलेर निर्वाचनमा जाँदा त यस्तो अवस्था आयो भने ४२ दललाई पाखा लगाएर निर्वाचनमा जाँदा कस्तो नतिजा आउला ? त्यसकारण सहमतिबाट अघि बढ्नुपर्छ । साना दलको सिट सुरक्षितका लागि नै ‘थ्रेसहोल्ड’ प्रस्तावलाई डस्टविनमा फालिएको छ तर पनि साना दल असन्तुष्टीको पोको बोकेर बेतुकको आन्दोलनमा लाग्ने हो भने उनीहरूको राजनीतिक यात्रामा ठेस लाग्ने सम्भावना पनि देखिन्छ । तसर्थ, निर्वाचनको विरोध गरी अरूको पुच्छर समाटेर उफ्रिनुपूर्व एकपटक ठन्डा दिमागले सोच्ने कि ?
[email protected]

प्रतिक्रिया