कविले कविता बुझेको दिन कवितै मर्छ

Upendra-Subbaउपेन्द्र सुब्बा साहित्यिक आन्दोलन ‘सिर्जनशील अराजकता’का तीन अभियन्तामध्ये एक हुन् । सिर्जना गरेर ‘देखाउन’भन्दा ‘लुकाउन’मा बढी मज्जा लिने कवि उपेन्द्र प्रचारलाई प्राथमिकता दिँदैनन् । नश्लीय चेतना (पछिल्लो समय पहिचानको मुद्दा)लाई आफ्नो सिर्जनाको विषयवस्तु बनाएका उनी राम्रा गीतकार तथा कथाकार पनि हुन् । ‘डाँडामाथिको घाम जून र गड्तिरका राँकेभुतहरू’, २०५८ अनि ‘होङ्ग्रायो भोग र पाङ्ग्रा’, २०६० दुई कविता कृति प्रकाशन गरिसकेका कवि सुब्बासँगको अन्तरंग कुराकानी :
तपाइंको साहित्यिक सक्रियता कम भएको हो या मैदानमा देखिन अनिच्छुक ?
के भन्ने ? इच्छुक–अनिच्छुक हुनुको कुरै होइन । सामान्यत: एउटा मान्छे सबैले देखोस्, सुनोस्, चिनोस् नै भन्छ । सामूहिक फोटो खिच्दै भनुँ न कोही मान्छे हात उठाउँछ, कोही तन्केर टाउको निकाल्छ त कोही जबर्जस्ती हाँसिरहेको हुन्छ । यी सबको चाहना के होला भने चिनिउँ भन्ने नै त होला । त्यस्तै मेरो स्टाइल मात्र फरक होला । म पनि सामान्य मान्छे न हँ ।
प्रकाशनका दृष्टिले अति कम मात्र देखापर्नुहुन्छ, किन ?
कम लेख्छु र होला । केही वर्ष यस्तो प्रश्नमा अल्झिएँ, कविता किन लेख्नु ? केका लागि लेख्नु ? लेखेर के हुन्छ ? आदि–आदि । १० वर्षसम्म केही लेखिनँ । अनि, लाग्यो यी प्रश्न वाइयात हुन् ।
त्यसो भए कविता–यात्रा कहाँ पुर्‍याउनुभयो ?
त्यस्तो निजी जिन्सी मसँग केही छैन कवितामार्फत पुग्नु–पुर्‍याउनु ।
अहिलेसम्मको यात्रामा कवितालाई कसरी बुझ्नुभयो ?
बुझ्ने चेष्टा नै गरिनँ । तपार्इं पनि कवि हुनुहुन्छ, मेरो सुझाव– त्यस्तो दुष्प्रयास नगर्नुहोला । कवितले कविता बुझेको दिन कवितै मर्छ ।
अब नयाँ कृति के दिँदै हुनुहुन्छ पाठकलाई ?
फिनिक्स बुक्सबाट कविता संग्रह निस्किँदै छ ।
कवि बन्न आवश्यक योग्यता के रहेछ त ?
एउटा मान्छे हुनु जरुरी छ र कविता लेख्ने आँट चाहियो, बस ।
कविहरू त आख्यानतिर लाग्न थाले, के भन्नुहुन्छ ?
राम्रै हो । हरेक सम्भावना खोज्नुपर्छ । क्षमता राख्नेले लेखुन् । कविहरूले लेखेको आख्यानमा दम पनि हुन्छ ।
सिर्जनशील अराजकताका अभियन्तामध्ये राजन मुकारुङ पनि आख्यानकार बनिसके । हाङ्युग अज्ञात र उपेन्द्र सुब्बा मात्र कवितामा अल्झिएका छन् भनिन्छ । आख्यान या निबन्धलगायत अरू विधाले तानेन कि कसो ?
राजनजीको चार कविता कृति प्रकाशनपछि आख्यान आयो । तर, राजनजी सुरुआतमै आख्यानमा हुनुहुन्थ्यो । उहाँ ‘सैनिक आवाज’को प्रधानसम्पादक हुँदा देखेको मैले हरेकजसो अंक आधाभन्दा धेर आफैँ लेख्नुहुन्थ्यो । हाङ्युगजी पनि दख्खल राख्नुहुन्छ । तर, ममा भने त्यो क्वालिटी छैन ।
तपाईंका पनि केही कथा प्रकाशनमा आएकै थिए । चलचित्र लेखनमा पनि लागेको सुन्नमा आयो । त्यतातिर नफापेर हो कि ?
ट्रायलजस्तो गरी दुई/चार कथा लेखेँ । पाठकले खासै रुचाएनन् । जबरजस्त कोच्याउन मन लागेन । तीनवटा फिल्म लेखेँ, दुई/चारवटा लेख्नु छ । तब सोच्नुपर्छ होला ।

प्रकाशनगृहहरू बढ्दो क्रममा रहे पनि कविताको किताब छाप्न खासै रुचि जगाएको देखिन्न । तपाईंलाई कस्तो लाग्छ ?
मलाई पनि त्यस्तै लागिरहेको छ । मैले मेरो कविता माघमै बुझाएको फिनिक्सलाई, अहिलेसम्म निकालेको छैन ।
कवि बनेर जीवन गुजारा गर्न गाह्रोसाह्रो के अनुभव गर्नुभएको छ ?
म कवि नहुँदा पनि जीवन गुजारा सजिलो थिएन । अहिले कवि हुँदा पनि खासै अप्ठेरो छैन ।
कविले जीवन गुजाराको सन्दर्भमा आँधीबेहरी बेहोरेकै हुन्छ भन्छन्, साँच्चै हो त ?
जीवन गुजाराकै लागि त्यत्रो संघर्ष गर्ने मान्छे कवि नहुुनुपर्ने हो । किन लेख्नु कविता ? किन बन्नु कवि ? गुजाराको चिन्ता गर्नेले त सरकारी नोकरी पो गर्ने त । नभए एनजीओ/आइएनजीओ खोल्ने, नत्र विदेश जाने पो त † कविको जीवनमा दु:ख भन्ने दुख्ने चिज नै हुनुहुन्न ।
कविता र जीवन उस्तै या फरक के लाग्छ तपाईंलाई ?
जीवनलाई कसरी बुझ्ने कोसिस गर्नु भा’छ भन्ने कुराले फरक पार्छ । मेरो निजी कुराचाहिँ जीवन महत्त्वको छ । कविता त मेरा लागि जीवनलाई आवाज दिने, अर्थ दिने सानो प्रयास मात्र हो ।
परिवार र कवितामा कुनचाहिँ पहिलो रोजाइमा पर्छ ?
स्पष्ट छ परिवार । मेरी सानी छोरीको एक हाँसोमा यो लोकको सारा शास्त्र परास्त हुन्छ ।
कवि बनेर के पाएँ, के गुमाएँ भन्ने लाग्छ ?
म मात्रले होइन कसैले केही गुमाउनु पर्दैन । सप्पै–सप्पै पाउनु मात्र छ । जसले गुमायो त्यो कवि भएन ।
पढनैपर्ने केही कविलाई सम्झनोस् न ?
पढ्नैपर्ने भन्ने नै हुँदैन । उपलब्ध सबैलाई पढ्नु । राम्रो लागे दोहोर्‍याएर पढ्नु । नराम्रो फाल्दिनु ।
सिर्जनशील अराजकताचाहिँ कहाँ पुग्यो ? उद्देश्य पूरा भो’ या के छ अवस्था ?
हामीले भनेजस्तै/सोचेजस्तै नेपाली साहित्य बन्ने क्रममा छ । तर, हामीले उठाएको मुद्दा हामीले चाहेको परिवर्तन साहित्यिक मात्र पनि होइन, यो राजनीतिक मुद्दा पनि हो । अहिले यो मुद्दा नेपाली राजनीतिको केन्द्रमा छ ।
खस नेपालीमा कवि बन्नुभयो, लिम्बू नेपालीमा चाहिँ नबन्ने ?
मेरो कुरा लिम्बूलाई भन्दा अन्यलाई सुनाउनु जरुरी थियो, खस नेपालीमा लेखेँ । लिम्बूमा पनि लेख्ने इच्छा छ ।
(पत्रकार सचित राईले ‘नमन’ साहित्यिक पत्रिकाका लागि लिएको कवि
उपेन्द्र सुब्बासँगको र्वार्ता ‘कलम’लाई पनि उपयुक्त ठानेर प्रकाशन रिएको छ ।)

प्रतिक्रिया