म सन्दिग्ध कालको जरासन्ध

Hari-bhakta-katuwalaकवि हरिभक्त कटुवाल आधुनिक नेपाली कविताका निकै प्रखर सर्जक मानिन्छन् । आधुनिक कविता र गीतको क्षेत्रमा उनको विशिष्ट पहिचान छ । उनका कवितामा समसामयिक चेतना र समयबोध पाइन्छ । उनी आफ्नो समयका अत्यधिक प्रशंसित कविमध्ये पर्छन् । विसं १९९० असार १८ गते भारत, असम राज्यको डिब्रुगढमा जन्मेका कवि हरिभक्तको २०३७ मा डिब्रुगढ मेडिकल कलेजमा मृत्यु भएको थियो । यी कविका सम्झनामा केही कविता प्रस्तुत छन्–


चैतको एउटा हुरी मात्र
बस् त्यति,
बिजुलीको
एउटा चम्काइ मात्र
त्यति ।

बाडुली
मेरो अँगालोभरि बाँधिएर–
जुन रात तिमीले समर्पण गर्‍यौ आफैंँलाई
त्यही रातको स्मृति मेरो पेवा जीवनभरिलाई,
मलाई बिर्सन तिमी कत्ति किन नगर
मध्यरातमा अझै बाडुली लाग्छ
सायद तिमीले सम्झेरै होला †

नैतिकता
कति भन्छु म मेरै आँखाले मात्र संसार नहेरुँ
नछेकुँ कसैको बाटोसामु तेर्सिएर
तर अनायास तेर्सिन पुग्छु कतिको बीचबाटामा
जब देख्छु मन्दिरमा चढ्ने फूल झर्न खोज्छ रछ्यानमा ।

सस्तो माया
सस्तो माया पाई पलाप्पिएकी युवती
उर्वशी, मेनका र रम्भा हुँदा–हुँदै
कुन्ती बन्न कति बेर लाउँदिन †

रक्सीमाथि दुई टुक्रा
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम ।

म आफ्नै बाटो हिँडिरहेको हुन्छु
तर खुट्टा अन्तै कतै गइदिएको हुन्छ
म तिमीलाई नै सम्झिरहेको हुन्छु
तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ
विश्वास गर † म कायल छु
तिम्रो मुस्कान जस्तै यो रक्सीसित
कहिले मैले उसलाई खाइरहेको हुन्छु
कहिले उसले मलाई खाइरहेको हुन्छ ।

यस्तै हुन्छ
यस्तै हुन्छ मातेको बेला–
आफ्नो भार हलुंगो पार्न
अरू कतिमा भार बनेर पोखिन्छु
भित्र कतै लुकिरहेका
आफ्नै आस्था–अनास्थासँग ठोकिन्छु
र बिहान आफैँसँग झोकिन्छु
यसरी नै सँधै अरूको नाप–तौल लिँदा–लिँदै
कहिले त आफैँ अरूको तराजुमा जोखिन्छु ।

केही छैन
दुई ओठको हाँसोलाई मैले मेरो भनेँ
त्यसमा पनि त तिमी सुस्केरा बनेर बसिदियौ †
दुई आँखाको सपनालाई मैले आफ्नो सम्झेँ
त्यसमा पनि तिमी आँसु बनेर झल्किदियौ † †

मुक्त
मुक्त त ढुंगा हुन्छ
न उसको दुख्ने मुटु हुन्छ
न देख्ने आँखा हुन्छ
कसैले पर्खाल लगाए पर्खाल बन्छ
सडक बनाए सडक बन्छ
सायद त्यसैले त्यसको पूजा हुन्छ
ऊ ईश्वर बन्छ ।

रहर
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरूजस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पानाहरूमा
मैले त बाँच्नु पर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरू केही भएर
त्यसैले बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको

फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ

इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरा पाखुरालाई
योजनाले होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नुछ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।

(कटुवालको कवितासंग्रह ‘यो जिन्दगी खै के जिन्दगी’बाट साभार)
कुनै परिभाषा, मान्यता अथवा वादलाई अघि राखेर मैले कविता कहिल्यै लेखिनँ । जिन्दगी जिउने क्रममा आइपरेका मधुर क्षणहरूलाई समात्ने प्रयास मात्र गरेको छु, जो कतै बारुद गनाएका छन् त कतै फूल मगमगाएका छन् । मलाई मधुर लागेका यी क्षणहरूले कसैलाई विरक्त पनि पार्लान्, म विवश छु । के गरूँ ?
कतै कसैले मलाई निराश पनि भेट्लान्–त्यो पनि मैले भोगेको वास्तविकता नै हो । म पुरानो परिपाटिबाट सम्पूर्ण मुक्त छैन र आउँदो पिँढीमाथि पनि दह्रो आस्था राख्छु । त्यसैले मलाई लाग्छ, म यो सन्दिग्ध कालको जरासन्ध हुँ ।
…भोलि म नरहुँला र जो रहनेछन् उनीहरूकै हातमा यो जिन्दगी…समर्पित छ ।

 

प्रतिक्रिया