खैनी

Madhav-Dhungelsखानु नै छ भने मन्त्रीहरूले खैनी खाए हुन्थ्यो ।
खैनीले स्वास्थ्यलाई हानि गर्छ भन्छन्, त्यो कुरा हुन पनि सक्छ । तर, हानि गर्ने कुरा अरू पनि छन् । काठमाडौंको प्रदूषणमा रोगी हुने र छिट्टै मर्ने कारण बिसौँ हुन सक्छन्, त्यसमध्ये खैनी एउटा भयो भने त्यो कुन ठूलो कुरा भयो ? गाडीको हर्न, टायरको खरानी, रियल जुस, मुटु र मृगौलाका नजिकै बस्ने चुम्बकीय शक्तियुक्त मोबाइल, आँखा र दिमाग दुवै बिगार्ने टेलिभिजनहरू । राजधानीको हावा, जारको पानी, होटेलका खाना । कहिल्यै नओइलाउने स्याउ, विषादी छिटेका तरकारी र मिसावटयुक्त खाद्यान्न । तेलहरू, मसला र किसिम– किसिमका शृंगार प्रशाधनका सामग्रीहरू छन् । बेरोजगारी, तनाव र अभाव छन् । तैपनि मान्छे अझै भन्दै छन्— खैनीले स्वास्थ्य बिगार्छ ।
खैनी खाएपछि खाएको खायै पच पार्न सकिँदैन । यसलाई थुक्नुपर्छ । थुक्दा अरूले देख्छन्, के खाएको भन्ने थाहा पाउँछन् । खाने बेलामा पनि यो देखाएरै खाइन्छ र सन्तोषको कुरा त के भने यो खाएपछि मुखमा एकखालको गन्ध आउँछ र जसले पनि भन्न सक्छ, उसले खैनी खाएको छ । इच्छा छैन, उससँग टाढा बस्न सकिन्छ । मुखबाट आउने गन्धबाट जोगिन सकिन्छ । हैन, मित्रता चाहिएको हो भने नजिक बस्नमा कुनै आपत्ति छैन । म खैनी खाने मान्छेसँग बसेको छु भनेर जानीजानी बस्नुमा कुनै धोका छैन, छलकपट र बेइमानी हुँदैन ।
खैनी दान पवित्र दान हो । यसमा कुनै खुसामद हुँदैन । तपाईं गाडीमा हुनुहुन्छ र गोजीमा खैनी सकिएको छ । किन्ने सम्भावना हुँदैन तथापि त्यसैका लागि गाडी रोक भन्नु आवश्यक छैन । कसैले मोलिराखेको देख्नुहुनेछ, मलाई पनि है भन्नुस्, बिनाहिचकिचाहट तपाईंलाई प्राप्त हुन्छ । यसबापत तपाईंले गुन तिर्नु पर्दैन र गुन तिर्नकै लागि कलम घुमाउनु पर्दैन । खैनी समानताको अम्मली हो । यसले जात भन्दैन, धर्म भन्दैन । कालो गोरो, होचो अग्लो, नेप्टे चुच्चे कोही भन्दैन । लुकाएर एक्लै खाऊँ कोही भन्दैन । कसैसँग हुन्छ, आवश्यकताअनुसार लेऊ र आफ्नो काममा लाग ।
अम्मलीहरूलाई खैनी नभई हुँदैन तर त्यति महँगो र महत्त्वपूर्ण भएर पनि यो बाँड्नमा कसैले लोभ गर्दैन । बाँड्नेले पनि मानिस मरुन् भनेर बाँडेको हुँदैन । परीक्षणका लागि औषधि बाँडेर कुनै ठालु पल्टिएजस्तो घमन्ड देखाउनका लागि खैनी बाँडिँदैन । आफूले जे खाइन्छ त्यही दिइन्छ अरूलाई पनि । त्यसबापत उसले केही खोज्दैन, खोजेको हुँदैन ।
गाउँमा खैनी खाने मानिस सहर पसेपछि गुट्खा खान थालेको देखेको छु । अलि कमाएकाहरू चुरोट खान्छन् र धरै कमाएकाले रक्सी खाएको देखेको छु । खैनी खानेमा घमन्ड हुँदैन तर गुट्खा खानेहरूले कुटुककुटुक टोकेर वा चपाइराखेर अरूको ध्यान तान्ने प्रयास गर्छन् र उनीहरूलाई के प्रशन्नता हुन्छ भने खैनी खाने मान्छेको जस्तो उसको मुख गनाउँदैन बरु कसैकसैलाई त बास्ना आउँछ । पान खानुको उच्चताको क्षतिपूर्ति उसले गुट्खा खाएर गरेको हुन्छ । चुरोट खानुमा त रबाफ छँदै छ । उसले खैनी खानेलाई गन्दैन । खैनीभन्दा त बरु चुरोटै खानु नि भनेर उसले आफ्नो उच्चवर्गीय घमन्ड देखाइहाल्छ । खैनी खानेमा पसिनाको गन्ध हुन्छ, गुट्खा खानेहरू जसोतसो बाँचेका हुन्छन्, चुरोट खानेमा म पनि कम छैन भन्ने घमन्ड हुन्छ । रक्सी खानेहरूले त अरूलाई मान्छे नै गन्दैनन् । उनीहरू मात्छन् र साथीहरूसँग मिल्नै सक्दैनन् । उनीहरूमा शक्तिको मात हुन्छ र धेरै भएपछि ती पशु बन्छन् । विवेक गुमाउँछन् र आफू बाँचेको धर्ती भुल्छन् । उनीहरूले पत्नीलाई पवित्र देख्दैनन् र नैतिकतालाई गिल्ला गर्छन् । त्यसैले मलाई नेताले रक्सी खाएको राम्रो लाग्दैन ।
रक्सी खाएर मात्तिएपछि ठूला मानिसले पनि गल्ती गरे भन्ने सुनेको छु । गर्नु हुने–नहुने सहीछाप गरे भन्ने सुनेको छु । गरिखाने मान्छेको पिरमर्कालाई बिर्सेर आफ्नो व्यक्तिगत फाइदाका लागि मूर्ख बने भनेको सुनेको छु । हानिकारक कामहरू गरे भन्ने सुनेको छु । राम्रा काम गर्न सकेनन् भन्ने सुनेको छु । केही ठूला मानिसले त मातेर बेइजतै गरे भन्ने पनि सुनेको छु । तर, खैनी खाएर अपराध गरेको मैले सुनेको छैन ।
एउटा ठूलो मान्छे निर्माण हुनलाई धेरै साना मानिसको पसिना बग्नु पर्दो रहेछ । धेरै साना मानिसले बलिदान दिनु पर्दो रहेछ । धेरै साना मानिसले खाई–नखाई गरेर, अनेक यातना सहेपछि, अभाव र अप्ठ्यारा पचाएपछि बल्ल कोही ठूलो बन्न सक्दो रहेछ । ठूलो मान्छे भनेको कोइला नभएर हीरा हुँदो रहेछ । ऊ केन्द्र हुँदो रहेछ सबै शक्तिको । ऊ राम्रो बन्दा धेरैलाई हित हुँदो रहेछ । ऊ मातेर हिँड्यो भने त्यसको सजाय हजारौँ, लाखौँले पाउँदा रहेछन् । युगले, मानव सम्यताले त्यसको सजाय पाउँदो रहेछ ।
मलाई मेरा नेता, मन्त्री रक्सीमा नसाटिए हुन्थ्यो जस्तो लाग्छ । ठूला हाकिमहरू, वरिष्ठ कर्मचारीहरू, न्यायाधीशहरू, पुलिसका–सेनाका कमान्डरहरू रक्सीमा नबिके हुन्थ्यो जस्तो लाग्छ । मानवअधिकारवादीहरू, पत्रकारहरू, वकिल र सचिवहरू मातेर नहिँडे हुन्थ्यो जस्तो लाग्छ । मातेर उनीहरूले घरमा पत्नीलाई नपिटे हुन्थ्यो जस्तो लाग्छ, आमालाई गाली नगरे हुन्थ्यो, आफ्ना सन्ततिसँग फोहोर कुरा नबोले हुन्थ्यो भन्ने लाग्छ । साना बालक बाबुआमाको नक्कल गर्छन् । उनीहरूकै सिको गर्न खोज्छन् । आफ्ना सन्तानलाई मात्ने संस्कार नसिकाए हुन्थ्यो जस्तो लाग्छ ।

(भर्खरै प्रकाशित ढुंगेलको निबन्ध संग्रह ‘ताना’बाट)

प्रतिक्रिया