तीन पत्रकार पुरस्कृत हुने

काठमाडौं, ८ असार । गणेश—उज्जन (भुवन) स्मृति पत्रकारिता पुरस्कार–२०६९ बाट तीन पत्रकार सम्मानित हुने भएका छन् । गणेशकुमार उज्जन स्मृति प्रतिष्ठानले न्युज २४ टेलिभिजनका प्रेम बानियाँ, राजधानी दैनिकका डिल्ली आचार्य र इमेज टेलिभिजनका प्रेक्षा ओझालाई मानवअधिकारको पक्षमा कलम चलाएबापत पुरस्कार दिने निर्णय गरेको हो ।

पुरस्कारको राशि जनही १० हजार रुपियाँ र ताम्रपत्र रहेको छ । उज्जनकुमार श्रेष्ठको १६औँ स्मृति दिवसको अवसर पारेर १० असारमा काठमाडौंमा विशेष समारोहबीच तीनैजना सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानका संयोजक जगतदास श्रेष्ठका अनुसार कार्यक्रममा सावित्री श्रेष्ठद्वारा लिखित पीडाका ५००० दिन पुस्तक पनि लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।
माओवादीले ओखलढुंगा जिल्ला पोकली गाविस–२ का उज्जन र उनका दाजु गणेशको हत्या गरेपछि उनीहरूको स्मृतिमा प्रतिष्ठान खोलिएको थियो । हत्यामा संलग्न पूर्वसभासद् बालकृष्ण ढुंगेललाई सर्वस्वसहित आजीवन कारावासको सजाय तोकिए पनि उनी हालसम्म पक्राउ परेका छैनन् ।

प्रतिक्रिया