एसएलसीका उत्कृष्टलाई कलेजको प्रलोभन

slcकाठमाडौं, ७ असार । एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई राजधानीका  कलेजहरूले आफूकहाँ पढ्नका लागि विभिन्न  प्रलोभन देखाइरहेका छन् ।
सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई कलेजहरूले स्कलरसिप, किताब, ड्रेस, यातायात र  छात्रावास दिनेसम्मका प्रलोभन दिइरहेका छन् । अहिले उनीहरूलाई दैनिक प्रलोभन देखाएर कलेजहरूले फोन गरिरहन्छन् । कतिपय कलेजले घरमै पुगेर आफूकहाँ पढ्न आग्रह गरिरहेका छन् । उनीहरूलाई आफ्नो कलेजमा तान्नका लागि कलेजहरूबीच प्रतिस्पर्धा नै हुन थालेको छ । सर्वोत्कृष्ट विद्यार्थी आफूकहाँ पढे कलेजको मानप्रतिष्ठा बढ्ने सोचले सम्बन्धित सञ्चालकहरू यसतर्फ लागिपरेका हुन् ।
२०६९ सालका एलएलसीमा सर्वाधिक अंक ल्याउने असीम घिमिरे कलेजहरूले विभिन्न प्रलोभन दिएर बोलाइरहेको बताउँछन् । ‘अहिले मलाई कसैले फ्रिमा पढाइदिन्छु त कसैले पढाइको सम्पूर्ण खर्च बेहोर्छु भनेर बोलाइरहेका छन्,’ उनले भने, ‘दैनिक १५ भन्दा बढी कलेजहरूले पढ्नका लागि फोन गर्ने गर्छन् तर म कहीँ गएको छैन ।’
झापाको  अनारमनिस्थित लिटिल फ्लावर्स इंग्लिस स्कुलबाट  ९३.८७ प्रतिशत अंक ल्याएका असीम कलेजहरूको प्रलोभनमा नभई आफूलाई उपयुक्त लागेको कलेजमा पढ्ने बताउँछन् । उनी भन्छन्, ‘म कुनै कलेजको प्रलोभनमा पर्दिनँ । आफूलाई जुन कलेज उपयुक्त लाग्छ, त्यहीँ पढ्छु ।’
झापा घर भएका उनी होस्टेलसहितको राम्रो कलेजको खोजीमा छन् । सुरुमा सेन्ट जेभियर कलेज पढ्ने योजना बनाएका उनी होस्टेल नभएका कारण अयन्त्र पढ्ने भएका छन् ।  अहिलेसम्म उनी क्यारेबियन, लिभरपुल र गोल्डेनगेट कलेज पुगिसकेका छन् । ‘तीन कलेज घुमिसकेको छु । अरू कलेज पनि जान्छु । हेरौँ, कुन राम्रो लाग्छ । त्यसमै पढ्छु,’ उनी भन्छन् ।
सबै कलेज उस्तै भएकाले अहिले उनी कलेजको पढाइबारे बुझिरहेका छन् ।
यस्तै, छात्रातर्फ सर्वोत्कृष्ट अंक ल्याउने सरु श्रेष्ठलाई पनि कलेजहरूले  प्रलोभन दिएर पढ्न बोलाइरहेका छन् । उनले भक्तपुरको ग्ल्याडस्टोन एकेडेमीबाट ९३.५ प्रतिशत अंक ल्याएकी हुन् । उनलाई पनि फ्रीमा पढाउनेदेखि एमबिबिएससम्मको तयारी कक्षासम्मको खर्च बेहोर्ने कलेजहरूले प्रलोभन देखाइरहेका छन् ।
दिनदिनै ‘हाम्रोमा पढ्न आऊ’ भनेर विभिन्न कलेजले अनेक प्रलोभन दिने गरेको सरु बताउँछिन् । ‘स्कलरसिपदेखि लिएर   किताब, यातायात, ड्रेस आदि ‘फ्री’मा दिन्छौँ । हाम्रो कलेजमा पढ्न आऊ भनेका छन्,’ उनी भन्छिन्, ‘म डाक्टर विषय पढ्ने भएकाले एमबिबिएसका कुरा पनि गर्छन् । तर, म कतै गएकी छैन । प्रलोभन दिने कलेजमा जाने पनि छैन ।’
उनलाई केही कलेज घरमै गएर ‘हाम्रोमा पढ’ भनिरहेका छन् । एसएलसी नतिजा निस्केसँगै  दिनमा १० पटकसम्म फोन आउने सरुलाई आजकल भने त्यस्ता फोन कम आउने गरेका छन् ।
सिसिआरसी, डिएभी र एसओएस कलेजका बारेमा बुझिसकेकी सरुले अहिलेसम्म कुन कलेज पढ्ने भन्ने निश्चित गरेकी छैनन् । सबै कलेजको पढाइ उस्तै रहेको र आफूलाई राम्रो लागेका कलेजहरू अन्यले नराम्रो भनिदिएपछि उनलाई कलेज छान्न गार्‍हो परेको छ । ‘जुनै कलेजबारे बुझ्दा पनि उस्तै लाग्छ,’ उनी भन्छिन्, ‘एउटा बुझेर आयो, अरूले राम्रो छैन भन्छन्् । त्यसैले दोधारमा छु तर अब छिटै कलेज छान्छु ।’
यस्तै, अर्का उत्कृष्ट अंक ल्याउने प्रसन्न नेपाललाई पनि कलेजहरूले प्रलोभन देखाएर बोलाइरहेका छन् । ललितपुरस्थित लिटिल एन्जल्स स्कुलबाट   ९३.६२ प्रतिशत अंक ल्याउने नेपाललाई यसरी कलेजहरूले लोभ देखाइरहेका हुन् ।  स्कलरसिप र नि:शुल्क अध्ययनजस्ता प्रलोभन देखाएको प्रसन्नले बताए । अध्ययनका लागि  राजधानीका १० कलेज घुमिसकेका प्रसन्नले अहिलेसम्म कुनै पनि कलेज निश्चित गरेका छैनन् । कलेजको पढाइबारे बुझ्ने क्रममा उनलाई सबैले आफ्नो कलेजमा पढ भनेर भन्ने गरेका छन् ।
‘सबै कलेज राम्रा छन् । कुनमा पढ्ने कुनमा दोधारमा छु,’ उनी भन्छन्, ‘आफूले राम्रो भएको कलेज अरूले नराम्रो छ भन्छन् । कसको कुरा सुनेर राम्रो छ भनेर पत्याउने ।’ उनी आफ्ना बुबासँग कलेजको पढाइ भौतिक पूर्वाधार हेर्न सबै कलेज जाने बताउँछन् ।  प्रसन्नले लिभरपुल, गोल्डेनगेट र लिटिल एजल्सको फारम लिए पनि अहिलेसम्म बुझाएका छैनन् । ‘अब आज–भोलिमै कुन कलेज पढ्ने भनेर निर्णय लिन्छु,’ उनले भने ।

प्रतिक्रिया