बाटो बिराएर बाटो भेट्टाएका क्याप्टेनसा’ब

DSC03924हातमा राइफल थिए । अनि, राइफलका पार्टपार्ट जान्न हरेक हतियारको जानकारीसहितको किताब । सन् १९६३ मा अंग्रेजी भाषाको किताब घोकिरहेका हुन्थे क्याप्टेन आङदेन्डी सेर्पा ।  मलैया (हालको मलेसिया) मा कडा ट्ेरनिङमा थिए उनी । ब्रिटिस आर्मीमा फिट भएर तालिमको लागि खटिएका । चार कक्षा पढेर लामाशिक्षातिर लागेका उनी पछि लहलहैमा ब्रिटिस लाहुरे हुने मोहमा परेका थिए । ‘लाहुर गएपछि राम्रो कमाइ गरिन्छ’ भन्ने मात्रै थाहा पाएका उनको दिमागमा लडाइँको मैदानमा मान्छेलाई सुट गर्दै ज्यानको बाजी लगाउनुपर्छ भन्ने कसैले घुसाएको थिएन । न त १६ वर्षे किशोर डेन्डीले आत्मज्ञान पाएका थिए ।
‘हातमा राइफल लिएर गोलीगट्ठा बोक्न सिक्दै गर्दा आत्मग्लानिले गल्थेँ । लाग्थ्यो, असफल भएर फर्किन पाउँm । बुद्धमार्गमा लागेर लामा हुने बाटो समाएको म हिंसाको चरम दलदलमा फस्न लागेँ । स्वर्गबाट नरकमा आफँैले आफँैलाई हुत्याएँ ।’ वीर गोर्खाको कडा अभ्यास गरिरहँदा यस्तो सोचिरहन्थे उनी । लडाइँको मैदानमा आफूलाई फिट गराउने तयारीका स्मृतिमा फर्कंदै थपे, ‘मलाई हाकिमले अयोग्य घोषित गरिदेओस् अनि आफ्नै मुलुक फर्काइदेओस् भन्ने सोचिरहन्थेँ । सकेसम्म कमजोर परफरमेन्स देखाउन लालायित हुन्थेँ ।’
उनी आफूलाई बाटो बिराएर थकित भएको बटुवासँग तुलना गरिरहन्थे । न त अंग्रेजी जानेका थिए, न काम गर्ने जाँगर नै । आमाबालाई छक्याएर जन्मथलो सोलुखुम्बु छोडेर भागेको दिन स्मरण गर्दै भक्कानिन्थे त्यतिबेला । साथीभाइले उक्साए– ल पैसा कमाउन लाहुर जाउँm । डेन्डी पनि पनि लाहुरे हुने सोखले भरिए । अझ भनौँ, किशोर मस्तिष्कलाई सानले लाहुरे बन्ने आवेगले तान्यो । भन्छन्, ‘१६ वर्षको पट्ठो न थिएँ, परिपक्व निर्णयभन्दा लहडमा होमिएँ म ।’
त्यतिबेला गाउँगाउँमा गल्लावाला जान्थे । ब्रिटिस लाहुरे हुन फिजिकल्ली फिटनेस छ/छैन हेर्थे । अनि गाउँका युवा छानेर धरान लैजान्थे । धरानमा भर्ती केन्द्र थियो । डेन्डी पनि गल्लावालाहरूको आँखामा योग्य ठहरिए अनि धरान पुगे । ‘एउटा समूह नै थियो हामी गाउँका युवाको । म लामा पढ्न लागेको थिएँ, परिवारलाई सोधे स्वीकृति पाउन असम्भव थियो । त्यसैले ढाँटेँ । अलिअलि धान, नेपाली कागज बेचेर खर्च जुटाएँ । त्यसपछि गाउँका साथीसँग मिलेर धरान गएँ । धरानमा भएको सेलेक्सनमा गाउँका सबै साथी आउट भए । म मात्रै भर्तीका लागि योग्य ठहरिएँ ।’ ब्रिटिस गोर्खामा छानिएको दिन सम्झँदै भने, ‘एक्लै छानिनुपर्दा जितेर पनि हारेको महसुस भएको थियो मलाई । भर्ती हुन मन लागेको थिएन । तर, साथीहरूले जाऊ भनेर सम्झाए । त्यसपछि मलाई पनि अवसर छोड्नु हुुँदैनझैँ लाग्यो ।’
लाहुरे भएर छानिएपछि घर नफर्किई सिधै मलेसिया पुगे डेन्डी । मलेसियामा छ महिना तालिम हुन्थ्यो । फरक काम सोचेर लाहुरे हुने सपना पालेको अनुभूति हुँदै थियो । जब मलैयाको तालिम सुरु भयो, त्यसपछि बाटो बिराएको बोध गर्न थाले उनले । गल्ती गरेको अनुभूति हुन थाल्यो । काम गर्ने रुचि नै थिएन ।
नेपाल फर्किएपछि मान्छे मारेर आएको भनेर राइफल र गन बोकेको अनुहार शान्तिको बाटो देखाउने गुरुलाई कसरी देखाउनु भन्ने पीडाले पोल्थ्यो उनलाई । एकातिर भित्रैदेखि बाटो बिराएको अनुभूति, अर्कोतिर कडा तालिम । रिटायर्ड लाइफमा ती विस्मृत अनुभूतिलाई पुनर्ताजगी गर्दा पनि असहज महसुस गर्छन् डेन्डी । भन्छन्, ‘जीवनकै सबैभन्दा कठिन मोड थिए ती मेरा लागि । मानसिक दोधारको स्थितिमा रहेको मान्छेले पूर्ण रूपमा आफूलाई काममा लगाउन सक्दैन । मेरो पनि स्थिति त्यस्तै थियो ।’ दोधारे मानसिकताका बीचमा तालिम सफलतापूर्वक पूरा गरे । पल्टनको नियम पालना गरेर आफूलाई इमानदार गोर्खा पनि बनाइरहे । अनि बने, ‘१/१० गोर्खा’ ।
तालिममा दुस्मनलाई कसरी पराजित गर्नेे, लडाइँ कसरी जित्ने, दुस्मनको तातो गोलीको सिकार हुनबाट बच्नेलगायत कुराहरू सिकाइन्थे । डेन्डी भने गुरुले ‘शान्ति र अहिंसाको बाटोमा कसरी अघि बढ्न सकिन्छ, बुद्ध भगवान्ले देखाएका अहिंसाका सिद्धान्त केके हुन् ?’ भनेर सिकाउँदै किताबका लामा अक्षर घोकिरहेको स्मृतिमा हराइरहेका हुन्थे । मन अहिंसाको गोरेटोमा हिँडिरहेको हुन्थ्यो, शरीरलाई भने गोली र बारुदको ज्ञानबारे अभ्यस्त गराइरहेको । ओहो π कस्तो मनोदसामा गुज्रिएको थियो त्यो समय ।
०००

पल्टन गएको तीन वर्षपछि पहिलोपल्ट छुट्टीमा गाउँ फर्किएका थिए उनी । साथीहरूले लाहुरे आयो भनेर सम्मान दिन थाले । तर, उनी भने लाहुरे शब्द सुन्दैमा पीडाको भुमरीमा जकडिएको महसुस गर्थे । ‘प्लिज मलाई लाहुरे नभन्, साथीहरूसँग अनुरोध गर्थें ।’ उनका बुबा लामा थिए, छोराचाहिँे लड्ने/भिड्ने पेसामा लागेर वीर गोर्खा बन्ने पथमा । परिवारले आम्दानीे देखेर छोराले रोजेको हिंसाको बाटो स्वीकार गरे । तर, उनलाई गुरुको अघि कसरी पर्ने भन्ने चिन्ताले खियाइरह्यो । ‘म बाटो बिराएर सिपाही बनेको शिष्य न थिएँ । पहिलोपटक सोलु (घर) आउँदा मैले गुरुसँग साक्षत्कार हुने आँट गर्न सकिनँ । त्यसै फर्किएँ, भारी मन लिएर ।’
०००

तालिमपछि नोकरी मलेसियामा नै खटाइएको थियो । जतिबेला इन्डोनेसिया र मलेसियाको युद्ध चर्किएको थियो । युद्धको मोर्चामा लड्ने बेला उनलाई राइफल बोकेर गोली बर्साउन वा बम पड्काउन रहर लागेन । यद्यपि, ड्युटी त्यही थियो । युद्धकै मैदानमा पनि डेन्डीले अहिंसाको बाटो रोज्ने उपाय खोजे । अन्तत: उनको उपाय कामयाब बन्यो, ‘म युद्धका मैदानमा लड्ने सिपाही भए पनि सेवाको काम गर्न सक्छु । त्यसैले मैले फस्र्ट एड प्राथमिक उपचारको तालिम लिएँ । युद्धको मैदानमा गोलीका गट्ठा बोकेर हाजिर हुनुको सट्टा झोलामा औषधिका चक्की बोकेर म मैदानमा उत्रिएको थिएँ, त्यतिबेला ।’ अहिंसा रोज्ने मनलाई शान्त बनाएको अवस्था सुनाउँदै थपे, ‘घाइते साथीहरूलाई युद्धमैदानमै सेवा गरेँ । उनीहरूको उपचारलाई ड्युटी बनाएँ । जीवन र मृत्युको दोसाँधमा रहेका साथीभाइको प्राथमिक उपचार गरिरहँदा लाग्थ्यो– म बाटो बिराएको याचना यही भयानक दृश्य हेरेर गर्न सकुँ भगवान् †’
युद्धमैदानमै सेवा रोजेर प्रायश्चित गरिरहेकाले होला, दोस्रोपटक बिदामा नेपाल आउँदा गुरुसँग भेट गर्ने हिम्मत राखे डेन्डीले । त्यतिबेला पल्टन गएको ६ वर्ष बितिसकेको थियो । स्मृति अझै ताजै छन् उनीसँग, ‘नेपाल आएपछि गुरुलाई भेट्ने साहस गरे । भेटेर आफ्नो गल्तीको याचना गरे । मेरो गुरु कति सहज हुनुहुन्छ, उहाँले मेरो गल्तीलाई माफी दिएर भन्नुभयो– तिमी जहाँ गए पनि भगवान्ले देखाएको सच्चा बाटो कहिल्यै नभुल्नू । प्रायश्चित पनि गर्‍यौँ, यही तिम्रो महानता हो । गुरुका वचन मेरा लागि अमृत सरह भए । आखिर गुरु भनेको महान् व्यक्ति नै त हो  ।’
‘भाग्यमा लेखेको सबैले गर्नै पर्छ ।’ सायद भाग्यले डेन्डीलाई पनि लाहुरे जीवन लेखिदिएको थियो, जो अनिच्छाका बावजुद भोगे उनले । लामा बन्नुपर्ने उनी बाटो बिराएर लडाइँको मैदानमा जीवन खोजिरहेका हुन्थे । उनले पल्टनमा भर्ती भएको दश वर्षसम्म प्रोमोसन पाएनन् । भन्छन्, ‘सायद, बाटो बिराएको सजाय पाइरहेको थिएँ होला त्यतिबेला ।’ आफूभन्दा पछि भर्ती भएकाहरूको बढुवा देख्दा भाग काटिएजस्तो महसुस गर्थेे । दश वर्षसम्म सिपाही मात्रै रहनुपर्दा कति आत्मग्लानिबोध भएको थियो, आज महसुस गर्दा पनि छाती चिरिएर आउँछ डेन्डीको ।
‘इमानदार भएर काम गरेपछि ढिलोचाँडो मूल्यांकन भने हुने रहेछ ।’ अन्तत: डेन्डीको पनि इमानदारिताको मूल्यांकन भयो । ‘भर्ती भएको दश वर्ष हुँदा म हाकिमहरूको बारम्यान भएर काम गर्थें । त्यतिबेला एउटा गोरा हाकिमले मेरो क्षमता बुझे । बढुवाको तालिममा पठाइदिए । अन्तत: ११ औँ वर्षमा सिपाहीभन्दा एक तह बढुवा भयो मेरो । त्यसपछि विस्तारै कम्युनिकेसनतिर काम गर्न थालेँ । मनमा भएको ग्लानिबोध पनि मिचिँदै गएको थियो । बढेको कार्यभार सहजसँग पूरा गर्दै गएँ । परफरमेन्स राम्रो हुँदै गएपछि बढुवा पनि हुँदै गयो । पहिलोपटक बढुवा भएको आठ वर्षभित्र म क्याप्टेन गोर्खा हुन पुगेँ ।’ अहिले विगत विश्लेषण गर्दा डेन्डी अनिच्छाको बीचमा पनि आफूले देखाएको लगनशीलता गर्व गर्न लायक पाउँछन् ।
०००

२४ वर्षयता रिटायर्ड ब्रिटिस गोर्खाको जीवन बिताइरहेछन् डेन्डी । जीवनका ऊर्जावाल समयमा आफूले बिताएको दोधारे मानसिकताको अवस्था सम्झिँदा आज पनि कहिलेकाँही उदास हुन पुग्छन् । यद्यपि, पल्टनमा रहँदा पनि अहिंसा र शान्तिको मार्ग कहिल्यै छोडेनन् उनले । नेपाल फर्किएपछि जीवनको सुरुआती कालकै शान्तिपथमै हिँडिरहेका छन् उनी । सेर्पा सेवा केन्द्रको महासचिव भएर पाँच वर्ष काम गरे । एक वर्षयता केन्द्रको अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । बौद्ध धर्मावलम्बीको काठमाडौंस्थित प्रसिद्ध केन्द्र बौद्धको व्यवस्थापकीय पक्ष पनि सम्हालिरहेका छन् ।

प्रतिक्रिया