ब्राजिल र इटाली सेमिफाइनलमा

Confdsn-cup-footballरियो द जेनेरियो, ७ असार । लगातार दोस्रो जित हात पार्दै साविक विजेता ब्राजिलसँगै इटाली अन्तर–महादेशीय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । समूह बीअन्तर्गत आºनो दोस्रो खेलमा बुधबार राति घरेलु टोली ब्राजिलले मेक्सिकोलाई २–० ले हरायो भने जापानविरुद्ध इटाली ४–३ ले विजयी भयो । समूहको अन्तिम खेलमा हुने ब्राजिल र इटालीबीचको भिडन्तले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
ब्राजिलको जितमा पुन: एकपटक छाएर नेयमारले पछिल्लो समय समग्रमा खेलकुदमै आफूले ल्याएको तरंगलाई थप उचाइ दिए । जापानविरुद्ध भएको पहिलो खेलमा एक गोल गरेका नेयमारले यसपटक पनि ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । नवाँै मिनेटमै यी २० वर्षीय स्ट्राइकरले गोल गरेपछि उत्तर अमेरिकी टोली दबाबमा रहेको थियो । डि–बक्सभित्र प्राप्त क्रसमा नेयमारले वन टचमै सुन्दर गोल गरे ।
दोस्रो हाफको इन्जुरी समयमा जोले गोल गर्दै लगातार तेस्रोपटक विजेता बन्ने प्रयासमा रहेको ब्राजिलको त्यो यात्रा अगाडि बढाए  । यसअघि पहिलो खेलमा पनि उनले गोल गरेका थिए । लगातार दोस्रो पराजयसँगै मेक्सिको समूह चरणबाटै बाहिरिएको छ । सन् २०१३ मा मेक्सिकोको यो दोस्रो हार हो ।
इटालीको रोमाञ्चक जित
जारी कन्फेडेरेसन कपमा सवैभन्दा रोमाञ्चक खेल बुधबार भयो । २–० ले पछि परेर पनि इटाली विजयी भएपछि एसियाली च्याम्पियन जापानको संघर्ष समूह चरणभन्दा अगाडि नरहने निश्चित हुन पुग्यो । कैसुके होण्डा र सिन्जी कागावाको गोलमा जापान ३३ आँै मिनेटसम्म अगाडि थियो । तर, डानिएल डि रोस्सीले हेडमार्फत ४१आँै मिनेटमा गोल गरी इटालीलाई मध्यान्तरअघि २–१ को स्थितिमा ल्याइपुर्‍याए । दोस्रो हाफ निकै उथलपुथलपूर्ण रह्यो र जितको बलियो हकदार देखिए पनि जापानले हार मात्र व्यहोरेन अन्तिम चारको यात्रामा समेत असफल भयो  । एत्सुतो उचिडाले आत्मघाती गोल गरेपछि ५०आँै मिनेटमा इटाली बराबरीमा आइपुगेको थियो । त्यसको दुई मिनेट पनि बित्न नपाउँदै इटालीले  गोल गर्दै खेलमा अप्रत्यासित अग्रता लियो । ५२आँै मिनेटमा प्राप्त पेनाल्टीमा इटालीका स्टार स्ट्राइकर मारियो बालोटेली सफल भए । ६९औँ मिनेटमा सिन्जी ओकाजाकीले गोल गरेपछि जापान खेलमा ३–३ को स्थितिमा पुगेको थियो । ८६औँ मिनेटमा सेबास्टियन जिओभिन्कोले निर्णायक गोल गरेपछि इटाली कठिन परिस्थितिलाई पार गर्दै ब्राजिलसँग खेल्नुअघि नै सेमिफाइनल प्रवेश गरेको हो । र, हारसँगै जापान समूह चरणबाटै बाहिरियो ।
पहिलो खेलमा जापानले ब्राजिलसँग हार व्यहोरेको थियो । खेलमा निकै राम्रो सुरुवात गरेको जापानले २१आँै मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । इटालीका गोलकिपर बुफोनले पेनाल्टी क्षेत्रमा ओकाजाकीलाई लडाएपछि जापानले अग्रता लिने मौका पाएको थियो । जापान कुनै समय ३–० मा रहने स्थितिमा पनि थियो तर होण्डाले फ्रिकिकमार्फत गरेको प्रहार इटालीका भेट्रान गोलकिपर बुफोनले सानदार बचाएका थिए । जितपछि इटालीका प्रशिक्षक सिजर प्राण्डेलीले जापानविरुद्धको खेलमा इटाली जितको हकदार नभएको स्विकारे । यस प्रतियोगितामा इटाली पहिलोपटक सेमिफाइनल प्रवेश गरेको हो । अब इटाली र मेक्सिकोबीच हुने खेल औपचारिक मात्र हुनेछ ।

प्रतिक्रिया